रुपन्देहीमा ३लाख १४ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

स्वास्थ्यसमाचार/ जन्मेको ९ महिनादेखि १५ वर्ष उमेर पूरा गरेका रुपन्देहीका ३ लाखभन्दा धेरै बालबालिकालाई यही फागुन १३ देखि २४ गतेसम्म दादुरा–रुबेला खोप लगाइने भएको छ ।

यसका लागि रुपन्देहीमा १ हजार १ सय खोप केन्द्र निर्धारण गरिएको छ ।२ हजार २ सय जना स्वास्थ्यकर्मीमार्फत जिल्लामा रहेका उक्त उमेर समूहका ३ लाख १४ हजार ७ सय ३८ जनालाई दादुरा रुबेलाको खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
दादुरा–रुबेला खोप अभियान २०८०/०८१ सम्बन्धी उक्त कार्यालयले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै रुपन्देहीमा २ चरणमा खोप लगाइने जनाएको छ ।

कार्यालयका अनुसार, १६ वटा पालिका रहेको रुपन्देहीमा प्रथम चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सियारी र शुद्धोधन गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ ।

दोस्रो चरण फागुन २० देखि २४ गतेसम्म सैनामैना नगरपालिका, गैडहवा, कन्चन, सम्मरीमाइ, मर्चवारी, कोटहीमाइ र मायादेवी गाउँपालिकामा लगाइने छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले खोप लगाउनदेखि कुनै पनि बालबालिका नछुटाउनका लागि सरकारले देशव्यापी रुपमा खोप अभियान संचालन गरेको बताए । ‘यो खोप अभियानमा जन्मेको १५ महिना पूरा गरी नियमित दुई चरणको यो खोप लगाइसकेका बालबालिकालाई पनि छुटाउने छैन,’ ढकालले भने, ‘सँगसँगै अन्य नियमित खोप लगाउनदेखि पनि छुटेका छन÷छैनन् ? भन्ने बारेमा सोधखोज गरिने छ ।’

उनका अनुसार, न्युनतम २ सय ५० जनासम्म बालबालिका आध्ययनरत संस्थागत तथा सामुदायिक विद्यालयलाई खोपकेन्द्र बनाइएको छ । विद्यालयबाट वञ्चित रहेका तथा हुन सक्ने संभावना रहेका मजदुरको बस्ती र विद्यालयदेखि टाढाका बस्तीका बालबालिकालाई पनि खोप नछुटाउने गरी व्यवस्था मिलाइएको छ ।

सन् २०२३ मा दादुरा रुबेलाको संक्रमणलाई निर्मूल पार्ने प्रतिबद्धता गरिए पनि कोभिड महामारीका कारण धेरै बालबालिका यो खोपबाट छुटेकाले पूरा हुन सकेन । सरकारले सन् २०२६ सम्ममा दादुरा–रुबेला नेपालमा निवारण गर्ने लक्ष्य राखेको छ ।

‘दादुरा रुबेलाबाट संक्रमित एकजना बालकले १८ जनासम्मलाई सार्न सक्छन्,’ स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले भने, ‘यसरी संक्रमण बढेमा महामारीको रुप लिन सक्ने भएकाले कोही पनि यो खोपबाट बञ्चित हुनु हुँदैन ।’

दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरू मा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ ।

रुबेला रोगको असरहरू दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्ग हरू देखा पर्न सक्दछ त्यसकारण यो खोप लगाउन नछुटाऔ उनले भने।

सम्बन्धित शिर्षक :