भूकम्प प्रभावित क्षेत्र गयो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली

स्वास्थ्यसमाचार/कर्णालीका विभिन्न जिल्लामा गएराति गएको भूकम्पमा परी घाइतेहरूको उद्धार तथा स्वास्थ्य उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।

जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा ६/४ रेक्टर स्केलको भूकम्प गएको थियो।भूकम्पमा परी जाजरकोट र पश्चिम रूकुमका विभिन्न स्थानका १३२ जनाको मृत्यु भइसकेको छ।

भूकम्पमा परी ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उनीहरूको उद्धार तथा स्वास्थ्य उपचारको लागि चिकित्सकहरूको टोली भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गरेको हो।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले मानवीय क्षति न्यूनीकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको जानकारी दिए।

भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनुपर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डाथापाले जानकारी दिए।

अस्पतालका एमडीजीपी डा। सुनिल सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो। भूकम्पमा परी १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित शिर्षक :