थाइल्यान्डवाट आएर बुद्धभुमीमा ३२ जनाको नि:शुल्क शल्यक्रिया

स्वास्थ्यसमाचार/बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका ३२ जना आर्थिक विपन्न बिरामीको नि:शुल्क घुँडाको शल्यक्रिया तथा प्रत्यारोपण गरिएको छ ।

थाइल्यान्डको सिरी राज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको नेतृत्वमा तीन दिनअघि भैरहवा आएको चिकित्सक टोलीले  बिरामीका शल्यक्रिया तथा घुँडा प्रत्यारोपण गरेको हो । शल्यक्रिया तथा उपचारमा सिद्धार्थनगर सिटी अस्पतालका चिकित्सक पनि थाइल्यान्डको टोलीसँग संलग्न थिए ।

सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार शल्यक्रिया गरिएका बिरामी लुम्बिनी, भैरहवा, कपिलवस्तु, पाल्पा र काठमाडौंका रहेको बताए । ‘बुद्ध जन्मेपछि सात पाइला हिँडेको भनिने पवित्र लुम्बिनी क्षेत्रका बासिन्दा खुट्टाको समस्याले हिँड्डुल गर्न नसक्ने अवस्थामा हुनुहुँदैन भन्ने मान्यताले यो उपचार शिविर आयोजना गरिएको हो.’ पौडेलले भने, ‘शल्यक्रिया गरिने बिरामीको पहिचानका लागि गत जुलाईमा लुम्बिनीको थाइ पिस हार्मोनियम सेन्टरमा स्वास्थ्य शिविर आयोजना गरी ८ सय बिरामीको स्वास्थ्य जाँच गरी छनौट गरिएको थियो ।’

पौडेलका अनुसार, शल्यक्रियाका लागि १२ जना चिकित्सक, १३ जना नर्स तथा मेडिकल टिम र १५ जना थप सहयोगी गरेर ४५ जनाको टिम आएको थियो । उपचारका लागि एक ट्रकभन्दा धेरै विभिन्न सामान तथा उपकरण ल्याएको थियो । शल्यक्रियाका लागि आवश्यक विभिन्न उपकरण र भौतिक पूर्वाधार मापदण्ड रहेको अस्पताल खोजी गर्नेक्रममा सिद्धार्थनगर सिटी अस्पताल रोजाइमा परेको हो ।

घुँडाको समस्याले विगत दश वर्षदेखि हिँड्डुल गर्न नसकेका रुपन्देहीको गैंडहवा–५ का ७० वर्षीय प्रशन्न यादव उक्त शिविरमा घुँडाको शल्यक्रिया गरेपछि धेरै खुशी छन् । ‘आर्थिक अभावले उपचार गराउन सकेको थिइनँ,’ यादवले भने, ‘अहिले कत्ति पनि पैसा खर्च नगरिकन शल्यक्रिया भयो ।’

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धजन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिलखालको रोगहरुको निशुल्क उपचार सेवा स्थानीयहरुले पाएको बताए । उनले लुम्बिनी र बुद्धसँग जोडेर विहारहरुले यस्ता कार्यक्रमहरु बढाउनुपर्ने बताए ।

घुँडा प्रत्यारोपणका लागि बरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जना, १४ जना थोरापी र नर्स र अन्य सहयोगी टिम सहित ४५ जनाको टिम थाइल्याण्डबाट आएको थियो । उपचारका लागि एक ट्रकभन्दा धेरै विभिन्न सामान तथा उपकरण ल्याएको थियो ।

सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष डा सुवोधकुमार पाण्डेयले नेपालमा प्रविधिका कारणले निकै महंगो र खर्चिलो घुँडाको उपचार थाइल्याण्डको सिरीराज हस्पिटलसँगको सहकार्यमा आफुहरुको अस्पतालमा गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा घुँडाको शल्यक्रिया गरिएका बिरामीहरु हिँडेका थिए ।

कार्यक्रममा थाइल्याण्ड राजदुतावासका प्रतिनिधि, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, राजकीय थाई विहार लुम्बिनीका सुफोत भन्ते, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य लगायतको उपस्थिती रहेको थियो । मानवताका लागि प्रेम भन्ने नाराका साथ स्थापित थाइल्याण्डको सिरीराज हस्पिटल १३५ बर्ष पूरानो हो ।

सम्बन्धित शिर्षक :