चिडियाको सकस – के चिकित्सक जिम्मेवार हुन् ? डा.शम्भु खनाल

चिडियाको सकसको अन्त्य आज सबै सकसको अन्त्य भयो ।  सबै पीडाको अन्त्य भयो ।  आफ्नै मनलेसम्म धोका दिएको संसारमा सबै दु:ख र पीडाको इति श्री भयो । चिडियाको अमर तर अकथित आत्मा चिडियाजस्तै उडेर शायद स्थानान्तरण गरेको हुनुपर्छ । चिडियाको पार्थिव शरिरबाट दिक्क भएर ।

उर्जाबिहिन मन र तङ्गिन नखोजेको शरीरको अवस्थामा आत्मा एक्लो परेछ शायद । त्यसैले प्राणवायु खिचेर तानेर आफैसँग लग्यो र छुट्कारा पायो १२७औँ दिनमा । निकै सकसका साथ छुट्कारा पायो तेस्रो पटकको अप्रेसन पश्चात । चिडियाको हारेको मन र कुपोषित शरीरले चिकित्सा शास्त्रका सबै प्रयासहरु बिफल हुन पुगे ।

ओझेलको पात्र चिडियाको एउटा सकसको कथा कसैलाई थाहा नहुने गरी अन्त्य भयो । यस्ता त समाजमा हजारौ पात्र होलान् । सम्झना छ अझै मलाई । चारमहिना अगाडि इमर्जेन्सी राउन्डमा ” एउटा बेड छ ।  कसलाई भर्ना गर्ने होला ।” भनेर भन्दै थिएँ ।  त्यो सुनेर सिस्टरले सपाट उत्तर दिनुभएको थियो  “ चिडियालाई लिएर जानुस् ।  “इमर्जेन्सीमा आफ्नै होस् गुम्सेजस्तो भिड हुन्छ ।

एउटा कुनाको बेडमा टुसुक्क  बेडमा बसेकी एउटी अन्दाजी ३० बर्षकी  महिला ।  पूरानो मैलो पहिरन, जिर्ण  शरीर,मलिन चेहरा,गलेको स्वर ,थकित मन मात्रै चिडियाका बर्णन गर्न सकिने बिशेष शब्द होलान् ।  फुक्लेको अनुहारमा कान्ति पूरै उडेको र आशाको त्यान्द्रो मुस्किलले भेटिने त्यो चेहरामा समाजको एउटा पुरै कथा दबिएको  महसुस हुन्थ्यो ।

साथमा हेरचाह गर्ने चिडियाको श्रीमान भने मायालु देखिन्थे ।  त्यतिखेर पनि आँखा टल्ल थियो उनको र आज पनि उस्तै । पाँचौ दिनमा बल्ल भाग्यले मिचिएको पालो आएको थियो चिडियाको । उनको भन्दिने मान्छे कोही थिएन नि त !

नफुटेको निरिह स्वर सुनिन पाँच दिन लागेछ । न त उनी बोल्न सकिन् । न त उनका श्रीमान नै । कोट लगाएका भए कसैको दृष्‍टिमा पर्थे  कि ! उनलाई त त्यही एमर्जेन्सी नै भर्ना गर्ने ठाउँ लागेको रहेछ । ठुलो अस्पतालको भिड मानेका रहेछन् । एउटै बेडमा दुई तीनजना। तर यो एउटै बेडमा दुई तीनजना हुँदा पनि उपचारको लागि बस्नेले गुणस्तरको अपेक्षा गरेर उपचारमा लापरबाही भन्न चाहिँ सुहाउने कुरा होइन ।

सबैलाई गुणस्तर उपचार गर्न त सम्पुर्ण स्वास्थ्य प्रणालीमा परिवर्तन हुनुपर्छ । जनशक्तिको अभाव छ । भएको जनशक्ति पनि कामको चापले खुसी छैनन् । न प्रोत्साहन छ न आराम छ । ती कर्मठ स्वास्थ्यकर्मी माथि कुलतन्त्रले गर्दा जाइलाग्यो प्रवृत्ति बढ्दैछ । जहाँपनि आवेशमा पिटेको छ ।

सबैलाई अर्ध ज्ञानले मूर्ख बनाइसकेको छ । अब के जनताले स्वास्थ्यकर्मीको मनबाट उपचारको अपेक्षा गर्न सुहाउँछ त ? उपचारमा कमीकमजोरी लाग्छ भने त्यसको जरो सम्म पुग्नुपर्दैन ? कुन अभावमा त्यो स्वास्थ्य सेवा प्रदान भइरहेको छ भनेर अध्ययन गर्न त कल्पनाको कुरा हो । केवल आक्रमण नै समाधान हो !!!   सामाजिक सकस बोकेको सिंगो कथा लुकेको चिडियाजस्तैको लागि सबैले काम गर्नुपर्ने हैन र ।

म त केवल बिरामी चेकजाँच मात्रै गर्न सक्थेँ । बाँकी बेड संख्या आदिको आयतन बिकास गर्नलाई मेरो हस्ताक्षर निरिह थियो । आज पनि असमर्थ छ । पावर भएका हस्ताक्षर कुट्टमित र राजनीतिमै सकृय छन् शायद । झिनामसिना मानिने कुमान्छेका व्यथा कसले चासो दिने र !  उपचार त उनको चलेकै थियो ।

रोग न हो । कुनैले कलेजो समात्छ ।  कुनैले मस्तिस्क त कुनैले किड्नी आदि ।  चिडियाको  भने किड्नी  समातेछ ।  प्रोटिन नअडिने रोग लागेछ ।  पिसाबमा प्रोटिन  चुहिने रोग ।  औषधी उपचार नगरेको पनि हैन ।  औषधी खाँदा पनि बिसेक नभएकोले मन थाकेछ शायद ।  डाक्टरलाई त पिसाबमा बगेको प्रोटिन जोखेर कम भएपछि ठीक हुँदै गरेको भन्ने लागेको हो ।

चिडियाले त्यो के बुझ्नु र। उनले त फुक्लेको शरीर र फुक्लेको मुख मात्रै बुझ्ने त हो ।  त्यसैले होला आफ्नो सुधार नहुने र खर्चिलो उपचार देखेर इहलीला समाप्त गर्ने प्रयास गरेकी ।  एसिडलाई पिउने आँट गरेर आफूलाई समाप्त गर्ने बिफल प्रयास गर्न पुगिन् । आर्थिक विपन्नताले निम्त्याएको मनको सकस चिडियाको शारिरिक सकसमा उत्रिन पुगेको थियो ।

एसिडको प्रभावले आन्द्राको नली साँघुरो हुन पुगेछ । खाएको नअडिने  र बान्ता हुने भएर आएकी चिडिया सधैं मलिन र निन्याउरो देखिइन् । उपचार त बेसी समाजको अज्ञानता  अशिक्षा र विपन्नताको हुनु जरुरी देखिन्छ ।  जुन अज्ञानताले चिडिया हेडकी पात्र हुन पुगिन् ।

जुन अशिक्षाले आत्मनिर्भर हुन सकिनन् ।  जुन विपन्नताले मन कुँडिन पुग्यो । पूरानो  भइसकेको नयाँ नेपालमा अगाउँदो भविश्यमा चिडियाका जस्ता मलिन अनुहारहरू उज्याला अनुहारले स्थान लियोस् । कामना बाहेक के गर्न सकिएला र ! पहिलो अप्रेसन नै कठिन ।

दोश्रो अप्रेसन उस्तै कठिन हुँदैगयो । थाकेको मनलाई चिकित्सकीय उपचारले उर्जा दिन सकेन। मरेको आशामा बाँच्ने प्रेरणा जगाउन सकिएन । जीर्ण शरीरले लड्न सकेन रोगसँग । उर्जा विहीन मनले शरीर जिर्ण बनाउँदै गयो । बिस्तारै आशा मर्दै गयो । र इहलीला समाप्त भयो ।  यो सबै नमिठो श्रृंखलाका बिउ धेरै पहिले समाजमा रोपिएको हो । अशिक्षा अज्ञानता र विपन्नताको बिउ ।

रोग कुनै अंगको मात्रै लाग्दैन रहेछ । सँगसँगै मनमा पनि लाग्ने रहेछ ।  मनमा उर्जा नभरी औषधीले मात्र काम गर्दैन । रोग परास्त पनि हुँदैन ।  समाजको पीडा र सकसको उपचार देशको उपचार पद्धतिको सहजता र सर्वसुलभ तामा बढी निर्भर गर्छ । साथ साथै उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल र जारमा पनि । चिकित्सकलाई कुनाकाप्चामा धकले मात्रै  स्वास्थ्य गुणस्तर  सुनिश्चित हुँदैन भन्ने चेतना समयमै भए असन्तुष्टिको बिउ भविश्यमा उम्रिएर झाङिने थिएन ।

आफूलाई त सधैं कुनै न कुनै रुपको चिडिया  हेर्ने  नियति नै छ । अहिलेको परिदृश्यमा चिकित्सकहरू माथिको दुर्व्यवहारले गर्दा चिकित्सकहरुलाई आफू जोगिन पर्ने छ । गम्भीर बिरामीको उपचारमा एक कदम पछाडि हट्नुपर्ने अवस्था छ । जब Risk लिएर चिकित्सकले उपचार गर्न छोड्छन्, तब धेरै चिडियाहरूले दुख पाउनेछन् ।

के तपाईंलाई चिडियाको सकसमा पनि चिकित्सककै दोष लाग्छ ?? हाल व्याप्त भौतिक आक्रमणको शृङ्खला रोकिने नाम देखिन्न । धेरै चिकित्सकहरु र स्वास्थ्यकर्मीको मनोबल नै घटेको देखिन्छ । डन प्रवृत्तिको अभिमानले चूर व्यक्तिहरूको समूहले यो चिकित्सा क्षेत्र नै प्रदुषित गरेको छ । जसले गर्दा धेरै चिडियाहरूले अवश्य दु:ख पाउने छन् । चिकित्सकहरु पलायन हुन खोज्नेछन् ।

-डा.शम्भु खनाल, लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा कार्यरत रहेका छन।

सम्बन्धित शिर्षक :