स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले यस वर्षको पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रमका लागि प्रवेश परीक्षा नगरीकन एसईईमा प्राप्त जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने भएको छ। यससँगै प्रवेश परीक्षाका लागि काठमाडौं आउनुपर्ने झन्झट हटेको छ।
परिषद्का सूचना अधिकारी एकराज अधिकारीले अनलाइनमार्फत फाराम भर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै, विद्यार्थीले आवश्यक कागजातहरू अपलोड गरी निर्धारित समयभित्र आवेदन दिन सक्ने बताए। अनलाइन फाराम साउन ६ देखि २६ गते राति ११:५९ बजेसम्म भर्न सकिनेछ।
प्रवेशका मुख्य मापदण्डहरू:
-
एसईई वा एसएलसीमा न्यूनतम २.० जीपीए आवश्यक।
-
अनलाइन फाराम भर्दा ग्रेडसिट, नागरिकता वा जन्मदर्ता, पासपोर्ट साइज फोटो, र आवश्यक कागजातहरू अपलोड गर्नुपर्ने।
-
आवेदन शुल्क रु. १००० कनेक्ट आईपीएस वा खल्तीमार्फत तिर्नुपर्नेछ।
छात्रवृत्तिमा पनि परीक्षा छैन:
यसपालिदेखि छात्रवृत्तिका लागि पनि परीक्षा नहुने र जीपीएकै आधारमा छनोट गरिने भएको छ। छात्रवृत्ति सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र दिइनेछ। विभिन्न वर्ग र समुदायका लागि आरक्षणसहित छुट्टै कोटा निर्धारण गरिएको छ।
भर्ना प्रक्रिया:
छात्रवृत्तिका लागि विद्यार्थीले CTEVT को वेबसाइट (www.ctevt.org.np वा www.ctevtexam.org.np) मा गई आवश्यक विवरणसहित अनलाइन फाराम भर्नुपर्नेछ। शुल्क तिरेर आवेदन पेस गरेपछि स्वीकृत कार्ड प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ।
कोटा विवरण:
हाल देशभर ६२ कलेजमा पीसीएल नर्सिङ अध्ययन सञ्चालनमा छ। यसपालि २ हजार ४८० जना विद्यार्थी भर्ना हुनेछन्, जसमध्ये १८६ जनाले छात्रवृत्तिबाट अध्ययन गर्नेछन्। छात्रवृत्तिमा कोसी ३३, मधेस ५४, बागमती ६३, गण्डकी १२, लुम्बिनी १५, कर्णाली ३ र सुदूरपश्चिम ६ जना समावेश हुनेछन्।
छात्रवृत्तिको ५० प्रतिशत कोटा लक्षित वर्ग र ५० प्रतिशत साधारण समूहका लागि छुट्याइएको छ। लक्षित वर्गमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू, अपांगता भएका र द्वन्द्वपीडितहरू समावेश छन्।
पढाइपछि अवसर:
पीसीएल नर्सिङ उत्तीर्ण गरेपछि विद्यार्थीहरू अस्पताल, नर्सिङ होम, विद्यालय नर्स, सामुदायिक कार्यक्रम र विभिन्न स्वास्थ्य संस्थाहरूमा काम गर्न योग्य हुनेछन्। साथै, विदेशमा पनि नेपाली नर्सहरूको माग बढ्दो छ। इच्छुकले स्नातक तहसम्म अध्ययन गर्न सक्ने व्यवस्था पनि छ।
प्रतिकया दिनुहोस्