स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा मातृ तथा नवजात स्वास्थ्य सेवा प्रवाहका लागि एम.ए. (औषधिबाट सुरक्षित गर्भपतन), ओ.टी.टी.एम. (अपरेशन थिएटर प्रविधि), र एस.बी.ए. (दक्ष प्रसूति सेवा प्रदायक) तालिम प्राप्त २५ प्रतिशतभन्दा बढी जनशक्ति सेवा क्षेत्रमा संलग्न नभएको पाइएको छ।
स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेशले २०८० साल अगावका पाँच वर्षमा प्रदेशभर सञ्चालन गरेका ती तीनवटा तालिममा सहभागी ३४१ जनामध्ये ८७ जना (२५%) ले हाल मातृ स्वास्थ्य सेवा नदिइरहेको तथ्य पत्ता लागेको हो।
स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत शितल भण्डारीले आफुहरुले गरेको अध्यन अनुसार स्वास्थ्यकर्मीहरु तालिम लिए अनुसारको क्षेत्रमा काम गर्न नपाएको, तालिम लिए अनुसार त्यो पालिका वा स्वास्थ्य संस्था सेवा दिने ठाउँ नभएको भएका ठाउंमा पनि करार सेवा स्वास्थ्यकर्मीहरूलाई उक्त क्षेत्रमा पठाउने गरेको ,अध्यन बिदा लिएर गएका त्यो ठाउंमा सेवा गर्न नगएको जस्ता समस्या रहेको बताउनु भयो ।
तालिम लिएकामध्ये धेरै जना करार सेवामा कार्यरत रहेको र सेवाको निश्चितता नहुँदा तालिमपछि वैदेशिक रोजगारी, अन्य पेशामा रूपान्तरण, वा जागिर छुटेर घरमै बस्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
सुरक्षित गर्भपतन सेवा (एम.ए.)मा सेवा नदिने २५%
भण्डारीका अनुसार ७५ जना एम.ए. तालिम लिएकामध्ये ५७ जना मात्र हाल सेवा दिइरहेका छन्। बाँकी १८ जना सेवा नदिइरहेको पाइएको वताउनु भयो ।६ जना जागिरबाट हटाइएका वा वैदेशिक रोजगारीमा गएको र ५ जना निजी संस्थामा रहेर पनि सुचीकृत नभएको कारणले सेवा दिन नसकेको बताउनु भयो ।
उहाले त्यो भन्दा अरु कारणपनि औषधि अभाव, मातृत्व अवकाश, तालिमबारे अद्यावधिक जानकारीको अभाव भएको कारण सेवा संलग्न नभएको पाइएका बताउनु भयो ।
अपरेशन थिएटर तालिम (ओ.टी.टी.एम.) लिएकामध्ये ४०% सेवा बाहिर
९४ जना तालिम लिएकामध्ये ४१ जना मात्रै अपरेशन थिएटरमा खटिएका छन्। ३८ जना सेवा क्षेत्रमै छैनन् १५ जना अन्य विभाग (जस्तै ल्याब, एक्सरे) मा कसैले हालै मात्र तालिम लिएर पनि कार्यस्थलमा ओ.टी. नहुँदा सेवा दिन नपाएको बताउनु भयो ।
एस.बी.ए. (दक्ष प्रसूति सेवा प्रदायक) मा ८३% सेवा दिइरहेका
लुम्बिनी प्रदेशका चार जिल्लामा गरिएको सर्वे अनुसार १७२ जनाले तालिम लिएकामध्ये १५२ जना सम्पर्कमा आएको र तिनीहरूमध्ये ८३ प्रतिशत सेवा दिइरहेका भने १७ प्रतिशत सेवा बाहिर रहेको स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत ईरिना खत्रीले बताउनु भयो ।
उहाले पनि प्रमुख कारणहरू करार सेवा अन्त्य, मातृत्व अवकाश, जन्म सेवा नहुने संस्था लगायत रहेको बताउनु भयो ।खत्रीले तालिम लिएपछि सेवा प्रवाहमा खटिन नपाउनु भनेको “प्रदेशको लगानीको प्रभावकारिता घट्नु“ हो। “तालिम दिने मात्र हैन, जनशक्तिलाई सेवा प्रवाहमा सदुपयोग गर्नेतर्फ प्रदेश र स्थानीय तहले विशेष ध्यान दिनुपर्छ उहाले भन्नु भयो” ।
स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ जनस्वास्थ्य अधिकृत शिब सार्की भन्नुहुन्छ उहाले तालिम लिन आउने र पठाउने स्वास्थ्य संस्थालाई तालिम प्रदान गर्नुअघि कार्यरत संस्थाको सुचीकृत, स्थायी वा न्यूनतम सेवा अवधिको सुनिश्चितता, पुनर्तालिम, अनुगमन, र आवश्यक औषधि तथा उपकरणको व्यवस्था अनिवार्य भएपछि मात्र तालिममा पठाउनु पर्ने र तालिम लिनु पर्ने बताउनु भयो ।
स्वास्थ्य तालिम केन्द्र बुटवलका निमित्त निर्देशक भुवन ले भन्नु भयो“हामीले पाँच वर्षको अध्ययन र सर्वेक्षणबाट तयार पारेको प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारीमा छौं। यसले आगामी स्वास्थ्य नीति र नियमहरू बनाउँदा महत्वपूर्ण भूमिका खेल्नेछ।” त्यस्तै हालसम्म तालिम दिएका स्वास्थ्यकर्मीहरूको कार्यक्षेत्र र सेवा उपलब्धतामा समन्वय नहुँदा केही समस्या देखिएका छन्।
यो समस्या समाधान गर्न अब स्थानीय तह र अस्पतालहरूलाई पूर्व सूचना दिनुपर्ने व्यवस्था रहेको र मन्त्रालयमार्फत सहज हुने बताउनु भयो । कुबरले “यसरी तालिम लिएकालाई तालिम प्राप्त विषय अनुसार अविलम्ब सेवा क्षेत्रमा खटाउने सुनिश्चितता गराउने हाम्रो लक्ष्य हो।
यो प्रक्रिया लागू भएपछि जनशक्ति प्रयोगमा वृद्धि हुनेछ र स्वास्थ्य सेवा गुणस्तरमा सुधार आउने उहाँको भनाई छ ”। फलोअप सर्वेक्षणले लुम्बिनी प्रदेशमा तालिम लिएका करिब २५ प्रतिशत स्वास्थ्यकर्मी सेवा क्षेत्रमा संलग्न नभएको तथ्य रहेको छ ।
प्रतिकया दिनुहोस्