स्वास्थ्यसमाचार/ दोधारा चाँदनी नगरपालिकास्थित नगर अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको इमरजेन्सी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। सुदूरपश्चिम प्रदेशको सीमावर्ती क्षेत्रको यस अस्पतालमा भएको यो उपलब्धिले सीमित स्रोत-साधनमा पनि गुणस्तरीय सेवा सम्भव हुने प्रमाणित गरेको छ।
वडा नं. ७ की २० वर्षीया महिला बिरामी २०७८ जेष्ठ ५ गते पेटको तल्लो भागमा असह्य पीडा, वाकवाकी, ज्वरो र खाने इच्छा नलाग्ने लक्षण लिएर आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। प्रारम्भिक उपचार पछि अवस्था गम्भीर बन्दै गएपछि अस्पतालका मेडिकल अधिकृत डा. रोहित भट्ट र वरिष्ठ विशेषज्ञ डा. हरिओम केशरी को समन्वयमा अपरेसनको निर्णय गरिएको थियो।
एपेन्डिसाइटिस फुट्ने जोखिम, तर अपरेशनप्रति सुरुवाती आशंका
रगत परीक्षण, भिडियो एक्स-रे र शारीरिक परीक्षणबाट एल्वाराडो स्कोर ८ देखिएको थियो, जुन एक्युट एपेन्डिसाइटिस पुष्टि गर्ने सूचक हो। स्थिति भयावह हुन सक्ने देखिएपछि डाक्टर टोलीले अपरेसन नगरे अवस्था झन् जटिल हुने — जस्तै पेटभित्र इन्फेक्सन फैलिने, सेप्सिस, वा फिस्टुला जस्ता समस्याको जोखिम परिवारलाई स्पष्ट रूपमा जानकारी गरायो।
सुरुमा परिवारले शल्यक्रिया गर्ने निर्णयमा हिचकिचाए पनि, आर्थिक अवस्था कमजोर रहेको र अन्यत्र जान नसक्ने अवस्थालाई मध्यनजर गर्दै अन्ततः वडा अध्यक्ष ज्ञानेन्द्र बहेकको रोहबरमा इन्फर्म कन्सेन्ट लिइयो।
मध्यरातको सफल अपरेसन, आठ दिनमै डिस्चार्ज
डा. हरिओम केशरीको नेतृत्वमा डा. आदित्य बर्मा (सहायक), एनेस्थेसिया सहायक शंकर कुवँर, नर्स लक्ष्मी भट्ट र स्वस्तिका सुनार सहितको टोलीले मध्यरातमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न गर्यो। बिरामीलाई आठ दिनपछि टाका खोली डिस्चार्ज गरिएको छ र पछिल्ला फलोअपमा कुनै पनि जटिलता देखिएको छैन।
विश्व कीर्तिमान बनाउने डाक्टरको नेतृत्वमा नयाँ विश्वास
१५ वर्षदेखि सुदूरपश्चिमका दुर्गम जिल्लाहरूमा सेवा दिँदै आएका डा. हरिओम केशरी (MDGP, MPH) ले यसअघि पनि अछाम जिल्ला अस्पताल मङ्गलसेनमा पहिलो सिजेरियन सेक्सन गर्दै सेवा स्थापनामा नेतृत्व दिएका थिए। हालै उनले ४३ सेकेन्डमै सिजेरियन सेक्सनमार्फत शिशु जन्म गराएर INTERNATIONAL BOOK OF RECORDS & ELITE WORLD RECORD नाम लेखाएका छन्।
उनको आगमनपछि दोधारा चाँदनी अस्पतालमा नियमित प्रस्तुति सेवा, सुरक्षित गर्भपतन, भिडियो एक्सरे, परिवार नियोजन अपरेसन तथा एमर्जेन्सी केसहरूमा एनेस्थेसिया सहयोग उपलब्ध हुन थालेको छ। भारततर्फ उपचार गर्न जाने विरामीहरूमा स्थानीय अस्पतालप्रति आकर्षण बढ्दो छ।
अस्पतालको भावी योजना: थप सर्जरी सेवा विस्तार
नियमित मेडिकल, सर्जिकल उपचारसँगै अब अस्पतालले हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, भ्यासेक्टोमी लगायतका शल्यक्रियाहरू पनि थप्दै लैजाने योजना बनाएको छ। अस्पताल प्रमुख डा. जीवन किरण स्नेहीका अनुसार, “विश्वस्तरको सेवा दिने लक्ष्यसहित उपकरण व्यवस्थापनमा जोड दिइएको छ।”
प्रतिकया दिनुहोस्