लुम्बिनीमा वर्षा सुरु भएदेखि हालसम्म सर्पको टोकाइबाट १८को मृत्यु

स्वास्थ्य समाचार /लुम्बिनी प्रदेशमा वर्षा सुरु भएदेखि हालसम्म सर्पको टोकाइबाट १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १२ जना महिला र ६ जना पुरुष छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एसएसपी कृष्णबहादुर पल्लीमगरका अनुसार सर्पको टोकाइबाट दाङमा ७ जना, कपिलवस्तुमा ६ जना, प्युठानमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी बाँके, बर्दिया र नवलपरासीमा एक एक जनाको मृत्यु भएको छ । यी मृत्युका विवरण त उपचारका लागि अस्पतालमा पुगेका बेला प्रहरीले संकलन गरेका घटना हुन् ।

गाउँ घरमै, अस्पताल लैजादैं गरेका बेलामा बाटैमा मृत्यु भएका कतिपय घटनाहरु त रेकर्ड नै न आएको पनि हुन सक्ने आँकलन अधिकारीहरुको छ । लुम्बिनी प्रदेशका जिल्लाहरुमा विशेषगरी करेत, गोमन र रसेल्स भाइपर सर्पको टोकाइबाट धेरै मानिसहरुको ज्यान जाने गरेको छ ।

गोमन सर्पले बिहान उज्यालो हुने बेला, दिउँसोको मध्य घाममा र साँझ घाम अस्ताउने बेलामा बढी टोक्ने गर्छ भने करेत सर्पले राती सुतेका बेला विस्तारैमै गएर टोक्ने गरेको बिरामी र बिरामीका आफन्तहरुले बताएका छन् ।

त्यसैगरी, रसेल्स भाइपर सर्पले खेतवारीमा काम गर्ने, घाँस दाउरा गर्ने क्रममा टोक्ने गरेको भेरी अस्पतालका सर्पदंश विशेषज्ञ डा कृष्ण आचार्यले बताए । सर्पदंशबाट बच्न खाली खुट्टा नहिड्न, रातीमा हिड्डुल गर्दा जुत्ता लगाएर टर्च बालेर हिड्न, सर्प घरभित्र छिर्न सक्ने प्वाँलहरु टाल्न, घर आगनमा दाउँरा, इट्टा, ढुंगा नथुपार्न र घर आँगन क्षेत्रमा घाँसपात झाडी नियमित रुपमा सफाई गर्न र राती सुत्दा झुल लगाएर खाटमा सुत्न विज्ञहरुले सुझाव दिदैं आएका छन् ।

अधिकांश घटनाहरुमा गोमन सर्पले टोकेको एक घन्टाभित्रै, करेत र रसेल्स भाइपरले टोकेको २ ३ घन्टादेखि १० १२ मा लक्षण देखिन्छन् । जनचेतना मात्र फैलाउन सक्ने हो भने केही हदसम्म सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या कम गर्न सकिने कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रका प्रबन्धक नवीन भण्डारीले बताए ।

सम्बन्धित शिर्षक :