नबलपरासीमा सर्पदंश उपचार केन्द्र, ‘नाम छ, उपचार छैन’

स्वास्थ्यसमाचार/नवलपरासीको सरावल–१ का उत्तम चौधरीलाई गत शनिबार सर्पले टोक्यो । चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल–११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित सर्पदंश उपचार केन्द्रतर्फ लगे । केन्द्र आउन करिब पाँच सय मिटर बाँकी रहँदा फोन सम्पर्कबाट उपचार केन्द्रमा ‘एन्टी स्न्याक भ्यानम’ नभएको जानकारी पाए । उत्तम र उहाँका आफन्त अत्तालिए, त्यत्तिकैमा एम्बुलेन्स चालकले एम्बुलेन्स फर्काएर बुटवलतर्फ कुदाए ।

उहाँ मात्र होइन सुनवल–११ जर्गाहाकै ४१ वर्षीया रेनुका चापागार्इंलाई गत आइतबार सर्पले टोक्यो । चापागाईंका छिमेकीले वडा अध्यक्ष कमल चुवाईलाई तत्काल खबर गरे । चुवाईले आफ्नै वडामा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा फोन गर्नुभयो । तर, केन्द्रबाट प्राप्त जवाफले उहाँलाई निकै निराश बनायो । केन्द्रले सर्पदंशको उपचार गर्न नसकिने बताएपछि चापागाईंलाई तुरुन्दै परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लगेर उपचार गरियो ।

नवलपरासी सर्पदंशको उच्च जोखिम जिल्ला हो । वर्षायामसँगै विषालु सर्पको टोकाइबाट ज्यानै जानसक्ने जोखिम उच्च हुँदा तत्कालै नजिकैको सर्पदंश उपचार केन्द्रमा उपचार गर्न सके जोखिम कम हुन्छ । वडा अध्यक्ष चुवाईले उपचार केन्द्र नियमित सञ्चालन र औषधि व्यस्थापनका लागि पटक–पटक नगरपालिकामा आवाज उठाउँदै आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘स्थानीयस्तरमा सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रलाई आपसी समन्वय गरी तुरुन्त सञ्चालन गर्नुपर्दछ ।’

२०७५ साल फागुन २७ गतेदेखि सञ्चालनमा आएको उपचार केन्द्रले २०७५ सालमा तीनजना, २०७६र०७७ मा २२ जना, ०७७र०७८ मा ७२ जना, ०७८र०७९ मा ५८ जना र २०७९ माघसम्म ५९ जना सर्पदंशका बिरामीलाई उपचार गरेको केन्द्रका डाक्टर हिमशैल खड्काले बताउनुभयो ।

उहाँका अनुसार ‘उपचार केन्द्र सञ्चालन भएपछि गत माघसम्म २१४ जना सर्पदंशका बिरामीलाई उपचार गरिएको छ ।’ भौतिक संरचना, दक्ष जनशक्ति र औषधिको अभावको कारण देखाउँदै हाल उपचार केन्द्र बन्द छ । डाक्टर खड्का भन्नुहुन्छ, ‘उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर छैन । यस्तो अवस्थामा उपचार गर्दा जुनसुकै बेला बिरामीलाई आइसियु र भेन्टिलेटरको आवश्यकता पर्ने हुनसक्छ ।’

गत माघमा केन्द्रमा कार्यरत डाक्टर विनोदकुमार यादव नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा सरुवा हुनुभयो । उहाँ सर्पदंशको उपचार गर्नका लागि तालिम प्राप्त थिए । उहाँ गएसँगै उपचार केन्द्रमा सर्पदंशको उपचार हुन सकेको छैन । न त तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । डाक्टर खड्काका अनुसार अस्पतालमा रहेको एन्टी स्न्याक भ्यानमको गत चैत्र महिनामा डेट सकिएको हो ।

त्यसयता अस्पतालमा कुनै पनि निकायले भ्यानम उपलब्ध गराएको छैन भने तालिम प्राप्त जनशक्तिको व्यवस्थापन पनि भएको छैन । केन्द्र स्थापना गर्नका लागि सुनवल नगरपालिकाको पनि सहयोग रहेकोले औषधि सकिएसँगै डाक्टर खड्काले औषधि मागको पत्र लिएर नगरपालिका गएको बताउनुभयो ।

खड्काले नगरपालिकासँग औषधि माग गरिएको बताए पनि सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले भने सर्पदंशको उपचार निरन्तरताका लागि नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयबाट कुनै पनि समन्वय गर्न नआएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘नगरसँग उपचार केन्द्रका लागि कसैले औषधि माग गरेको छैन । दुईवटा एसी माग गरिएको थियो जुन उपलब्ध गरायौँ ।’ औषधि सकिएकै समयमा औषधि उपलब्ध नगराएको नगरले उपचार केन्द्रमा एसी भने उपलब्ध गराएको छ । नगर प्रमुख अर्यालले सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो ।

केन्द्रको २०७५ फागुन २७ गते तत्कालीन नगर प्रमुख भीमबहादुर थापा ‘भरत’ले उद्घाटन गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकाल अवधिमा केन्द्रका लागि आवश्यक पर्ने औषधि उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘औषधि बहाना मात्रै हो, खास कुरो त अघिल्ला जनप्रतिनिधिहरूले गरेका राम्रा कामहरूलाई बेवास्ता गर्नु हो । जनताले सेवा पाउने विषयमा अनावश्यक राजनीति नगरी सर्पदंश केन्द्र तत्काल सञ्चालन गर्नुपर्छ ।’प्रकाश न्यौपानेले हिमालय टाईम्समा लेख्नु भएको छ।

सम्बन्धित शिर्षक :