पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा विद्यालय, नर्स’ कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/ पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ‘एक मध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको छ । विद्यालयमा बालबालिकाको नियमित उपस्थिति र स्वास्थ्य परीक्षणका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट करारमा नर्स नियुक्ति गरेको हो । गाउँपालिकाले वडा-४ स्थित भैरव नवदिप माध्यमिक विद्यालयबाट गत भदौ महिनादेखी यो कार्यक्रमको सुरुवात गरेको छ ।

स्टाफ नर्स श्रृष्टि कार्कीलाई नर्स शिक्षकको रुपमा जिम्मेवारी दिइएको विद्यालयले जनाएको छ । विद्यालयमा नर्स शिक्षक राखेपछि नियमित पठन-पाठनमा धेरै सुधार आएको विद्यालयका प्रधानाध्यापक झलकबहादुर रायमाझीले बताउनुभयो । ‘पहिले दिनमा ५/७ जना बिरामी भई राख्थे, अभिभावकलाई बोलाएर घर पठाउनुपथ्यो’, उहाँले भन्नुभयो, ‘तर अहिले विद्यालयमै उपचार हुन्छ, केही समय नर्सको रेखदेखमा उपचारपछि पुनः कक्षाकोठामा फर्किन्छन् । अहिले जटिल समस्या देखिएका २/३ जना घर पठाउने गरेका छौं ।’

यो कार्यक्रमबाट विद्यार्थीहरु ढुक्कले विद्यालय आउने गरेको र विद्यालयमा ड्रप आउटको समस्या हट्दै गएको प्रधानाध्यापक रायमाझीले बताउनुभयो । अहिलेसम्म ५ सय ५० भन्दा विद्यार्थीहरुले उपचार सेवा पाएका छन । दिनहुँ चार/पाँच जना विद्यार्थीहरु केही न केही स्वास्थ्य समस्या लिएर विद्यालय नर्स समक्ष आउने गरेका छन् ।

गर्मीका कारण बेहोस हुने, खेल्दा चोटपटक लाग्ने, महिनावारीको समस्या, टाउको दुख्ने, मौसमी रुघाखोकीको उपचार गर्दै आएको विद्यालयकी नर्स कार्कीले बताउनुभयो । ‘अहिले सामान्य समस्यामा उपचार र स्वास्थ्य सम्बन्धी सबैलाई जान्नुपर्ने सामान्य ज्ञान दिँदै आएकी छु’,उहाँले भन्नुभयो । विद्यालयमा उपचार गर्न आउने सबै विद्यार्थीहरुको रेकड फाईल राख्दै आएको समेत नर्स काकीले जानकारी दिनुभयो ।

विद्यालयमा नर्स राखेपछि आफुहरुलाई निकै सहज भएको कक्षा १० मा अध्ययनरत छात्रा मनिषा खत्रीले बताउनुभयो । ‘विशेष गरी महिनावारी भएको समयमा सहज भएको छ,’ उहाँले भन्नुभयो, ‘म र मेरा साथीले कति पटक त कक्षा नै छाडेर घर जानुपर्दथ्यो तर अहिले भने त्यो समस्या छैन । एकछिन मेडिकल रुममा गएर तातो पानी खाने, तातोपानीले सेक्ने र अत्यावश्यक परे औषधी लिएर आराम गरे निको हुन्छ र फेरी कक्षा कोठामा फर्कन्छौं ।’

यस्तै कक्षा १० का राम बहादुर थापालाले विद्यालयमा नर्स राखेपछि पेट र टाउको दुख्ने समस्या कम भएको बताउनुभयो । ‘सधै स्कूल आउनुपर्‍यो विहान ७ बजे खाना खाएर साँझा ४ बजेरसम्म भोकै बस्नुपथ्यो, खाली पेट भएकाले ग्यास्ट्रिक भएको रहेछ’, उहाँले भन्नुभयो, ‘अहिले भने कम भएको छ । उहाँले स्वस्थ्य रहनका लागि धेरै उपाय सिकाउनुभएको छ । साथै विद्यालयमा हिंडडुल गर्दा लडेर चोटपटक लाग्दा मेडिकल खोज्दै बाहिर पनि जानुपरेको छैन ।’

गाउँपालिकाले नमुनाको रुपमा लागु गरेको विद्यालय नर्स कार्यक्रम अहिले किनै प्रभावकारी बन्दै गएको छ । पालिकाले आगामी पाँच बर्ष भित्रै पालिकाका सबै मावि विद्यालयमा यो कार्यक्रम लैजाने योजनासहित बढेको पालिका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो । पालिकाले शुरु गरेको विद्यालय नर्स कार्यक्रमको नियमित रुपमा अनुगमन गर्दै आएको र आवश्यकताको आधारमा भौतिक पुर्वाधार, उपकरण तथा औषधीको व्यवस्थापन थप गर्दै जाने समेत उहाँले बताउनुभयो ।

स्थानीय सरकार बाट अधिकाश रकम भौतिक पूर्वाधारमा मात्र खर्चिएको समयमा रैनादेवी छहरा गाउँपालिका पाल्पाले विद्यालय स्वास्थ्य क्षेत्रमा लगानी गरेको हो । यो कार्यक्रमले विद्यालयको स्वास्थ्य तथा शिक्षामा सुधार आउने, बालवालिकाको कक्षा छोड्ने समस्या हटी पठन-पाठनमा नियमित हुने, बालबालिकाका स-साना स्वास्थ्य समस्याहरु विद्यालय बाटै समाधान हुने पालिकाले विश्वास लिएको छ । विद्यार्थीहरुले कक्षाकोठामै उपचार सेवा पाए पनि व्यस्थित उपचारका लागि अझै पुर्वाधार तथा उपकरणहरुको विस्तार गर्दै जानु पर्ने आवश्यकता रहेको विद्यालयका सूचना अधिकारी दामोदर घिमिरेले बताउनुभयो ।

सम्बन्धित शिर्षक :