अनावश्यक एन्टीबायोटिक प्रयोग स्वास्थ्यमा संकट : स्वास्थ्य सचिव श्रेष्ठ

स्वास्थ्यसमाचार/स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले एन्टीबायोटिकको प्रयोगले स्वास्थ्यमा गम्भीर संकट सिर्जना गर्न सक्ने वताउनु भयो उहाँले भन्नुभयो, “प्रतिजैविकको गलत वा अनियन्त्रित प्रयोगले औषधि प्रभावकारिता गुमाउने मात्र होइन, भविष्यका पुस्ताका स्वास्थ्यमा समेत जोखिम ल्याउँछ।” , स्वास्थ्य क्षेत्रमा मात्रै सक्रिय भएर प्रतिजैविकको प्रयोग नियन्त्रण गर्न सकिँदैन, प्रत्येक व्यक्ति र समुदायले सचेत रहन आवश्यक छ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह समापनको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजना गरिएको अन्तरक्रियामा वोल्दै सचिब श्रेष्ठले दिन–प्रतिदिन मानवीय तथा जनावारहरुको स्वास्थ्यमा समेत औषधिको प्रभाव कम हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै यसका लागि हरेक व्यक्तिलाई सचेत गराउन आवश्यक रहेको वताउनु भयो ।

औषधीको अर्थ र सही प्रयोगका बारेमा सचेतना आवश्यक रहेको बताउनु भयो । यसका लागि स्वास्थ्य क्षेत्रले मात्रै काम गरेर प्रयाप्त नहुने बताउँदै उहाँले सबै क्षेत्रको पहलमा जोड दिनुभयो ।  लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ‘सबै नीतिमा स्वास्थ्य’ भन्ने अवधारणा ल्याउने तयारीमा रहेको समेत जानकारी गराउनु भयो ।

उक्त अवधारणाले सचेतनाका साथै स्वास्थ्य सेवा र औषधीको गुणस्तर लगायतका विषयहरुलाई सम्बोधन गर्ने अपेक्षा गर्नु भयो ।श्रेष्ठले स्वास्थ्य पेशामा संलग्न भएकाहरू नै कहिलेकाहीँ औषधि सेवनमा लापरबाही गर्ने उदाहरण देखिएको बताउँदै स्वास्थ्य शिक्षा र व्यवहारबीचको अंतर घटाउन आवश्यक रहेको टिप्पणी गर्नुभयो।

उहाँले प्रतिजैविक (antibiotic ) को अनियन्त्रित प्रयोगले औषधि नै काम गर्न छोड्ने अवस्था सिर्जना भइरहेको भन्दै यो एउटा “धेरै चुपचाप फैलिँदो संकट” भएको टिप्पणी गर्नुभयो  यसको गलत प्रयोगले भविष्यका पुस्तालाई जोखिममा पार्न सक्छ।”

अन्तरक्रियामा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नोदनारायण चौधरीले प्रतिजैविक प्रतिरोध रोकथामका लागि हरेक नागरिक सचेत हुन आवश्यक रहेको बताउनु भयो ।

चिकित्सकको सल्लाह विनानै औषधिको प्रयोग गर्ने तथा आवश्यक मात्रा तथा समयभन्दा फरक तरिकाले औषधिको प्रयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उहाँको भनाई थियो । औषधिको सही प्रयोग नगर्दा ठूलो स्वास्थ्य संकटको सामना गर्नुपर्ने चौधरीले वताउनु भयो। विश्व स्वास्थ्य संगठनको सहकार्य तथा लुम्बिनी प्रादेशिक अस्पतालको आयोजनामा भएको अन्तरक्रियामा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले औषधी प्रदान गर्ने व्यक्तिलाई मात्र नभई सेवन गर्ने व्यक्तिलाई यसको सही प्रयोग बारे जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । स्वास्थ्य सेवालाई गुणस्तर र सहज बनाउनका लागि अस्पताल प्रयासरत रहेको बताउँदै मेसु डा. ढकालले प्रविधि र सेवा बिस्तारको कामलाई प्राथमिकता साथ अघि बढाएको जानकारी गराउनु भयो ।

अस्पतालमा आगामी पौष महिनाभित्रै एमआरआई सेवा सञ्चालन गर्नेगरी जडानको काम जारी रहेको तथा नयाँ अत्याधुनिक सिटिस्क्यान मेशिन खरिदको प्रक्रियामा रहेको समेत जानकारी गराउनु भयो।

अन्तरक्रियामा माइक्रो वायोलोजिष्ट कन्सल्टेन्ट डा. प्रविता ज्ञवाली र डा. गौरव गंगालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर कुमार चौधरीको स्वागत तथा प्रयोगशाला ईन्चार्ज मान बहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

देशभरीनै नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएम आर) विरुद्धको आवाज उठाउँदै सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाएको छ । यस वर्ष ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नारासहित दिवस मनाइएको हो ।

सम्बन्धित शिर्षक :