स्वास्थ्यसमाचार/ निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको निर्माण रफ्तार तिब्रताका साथ अघि बढेको छ । पश्चिम नेपालका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित देशकै ठूलो १ हजार २०० शैया (बेड) को सुविधासम्पन्न अस्पताल प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढेको छ ।
१४ महिनामा अस्पतालको भौतिक प्रगति ३० प्रतिशत पुगेको पुगेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जानकारी दिएको छ । निर्माण कम्पनीले दिन÷रात नभनी सिफ्ट र सेफ्टी मिलाएर धमाधम काम भइरहेको जनाएको छ ।
आयोजना प्रमुख इन्जिनियर (सिइओ) छविराज पोखरेलले अस्पतालको लागि बजेट अभाव नभए निर्धारित मितिभन्दा अघिनै निर्माण सक्ने दाबी गरे । ‘अस्पताल निर्माणको ठेक्का मिति आगामी वि.सं.२०८५ पुससम्म हो,’ प्रमुख इन्जिनियरसमेत रहेको पोखरेल भन्छन् ‘अहिलेसम्म भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत छ ।
हामीले म्याद नथप्ने ‘कमिटमेन्ट’ सहित काम गरेका छौं । आयोजनाको लागि बजेट अभाव नहोस् भनेर सरकारसँग पनि छलफल भइरहेको छ ।’ तर, आर्थिक वर्षका लागि विनियोजन भएको बजेट सकिएको उनको भनाइ छ ।
प्रदेश सरकारले पहिलो वर्ष ६० करोड आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ८० करोड र चालू आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब विनियोजन गरेको छ । नारायणी पश्चिमको स्वास्थ्य क्षेत्रमा ‘गेम चेञ्जर’ परियोजना रूपमा हेरिएको अस्पताल भवन निर्माण सम्पन्न भएपछि देशकै सरकारी अस्पतालमध्ये अग्लो र ठूलो हुने अपेक्षा छ ।
अहिलेसम्म प्रमुख भवनको आधार हिस्सा र भुई तलाको ढलान भइसकेको छ । त्यस्तै क्यान्सर भवनको पहिलो तलाको छड बुन्ने काम जारी छ । आयोजनाको काम छिटो गर्न प्रविधिमैत्री यन्त्र उपकरण प्रयोग गरिएको छ ।
दुईवटा क्रेन जडानले सामान ओसार–पसारमा छरितो भइरहेको छ । १० जना प्राविधिक टोलीसहित ३०० जना कामदार काम गरिरहेको प्राधिकरणका साइड इन्जिनियर शंकर सुवेदीले जानकारी दिए ।
‘बजेट पर्याप्त विनियोजन गर्ने सामथ्र्य राखे हामी निर्धारित मितिअगावै निर्माण गरेर हस्तान्तरण गर्ने पक्षमा छौं,’इन्जिनियर सुवेदी भन्छन,‘चालू आर्थिक वर्षका लागि भनेर छुट्यााइएको बजटे करिब सकिएको छ । अब यसलाई थप बजेट उपलब्ध गराउनुपर्ने आवश्यकता छ ।’
निर्माणको काम प्रतिष्ठित अन्तर्राष्ट्रिय (भारतीय) कम्पनी क्यापासाइट–आशिष–रेलिग्रेट भेञ्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा गरिरहेको छ । पश्चिम नेपालका नागरिकले उपचारका लागि धाउने प्रादेशिक अस्पतालमा जनशक्तिको अभाव, सरोकारवालाको बेवास्ता र उपचारमा ढिलासुस्तीले बिरामी र आफन्तले सास्ती भोग्दै आएका छन् ।
अस्पताल वि.सं. २०७५ मा प्रदेश सरकारमातहत आएको थियो । अस्पतालमा दैनिक १ हजार ६०० सेवाग्राही उपचारका लागि आउने गर्छन् । नयाँ भवनसँगै सेवा विस्तारले सहज र सुलभ सेवा पाएर यो संख्या २ हजार बढी पुग्ने अनुमान छ ।
अहिले पनि अस्पतालले विभिन्न सेवाहरू विस्तार गर्दै अघि बढिरहेको छ । बहुउपचारीय ‘गेम चेन्जर’ र रणनीतिक महत्वको आयोजना भएकाले निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ ।
निर्माण सुरू हुनुअगाडि लामो समयसम्म पटक–पटक विवादले अलमलमा परेको थियो । अस्पतालको मुख्य भवन ‘अन्डरग्राउन्ड’ सहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि ‘अन्डरग्राउन्ड’ सहित पाँच तलाको अलग्गै भवन ‘ओन्कोलोजी ब्लक’ बन्नेछ ।
गुरूयोजनाअनुसार अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रूपैयाँ बराबरको लागत अनुमान गरिएको थियो । तर, निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाख रूपैयाँमा ५ वर्षमा निर्माण सक्ने गरी २६ पुस २०८० मा भवन निर्माणको ठेक्का पाएको थियो । निर्माण कम्पनीले अस्पतालका लागि आवश्यक सम्पूर्ण उपकरणहरू पनि किनेर ‘इन्टेरियर सोलुसन’ सहित हस्तान्तरण गर्नेछ ।
बुटवल उपमहानगरपालिका–९ मा रहेको ६ बिगाहा १२ कठ्ठा जग्गामा अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण भइरहेको हो । हालको ३०० (समितिबाट थप भएको २०० सहित ५००) शैयाको अस्पताललाई विस्तार गरी न्यूनतम् १ हजार २०० शैयाको क्षेत्रीय बहु–अनुशासनात्मक अस्पतालमा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ ।
विशेषज्ञ सेवासहितको अत्याधुनिक अस्पताल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले यसअघि वि.सं.२०७७ मा गुरुयोजना निर्माण गरेको थियो । यो एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबै प्रकारका सुविधासहितको विशेष अस्पताल मेडिकल सुपरीटेन्डन डा. इन्द्र ढकालले बताए ।
नयाँ बन्ने अस्पताल भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा (ओपीडी), आपत्कालीन (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष रहनेछन् । साथै, विशिष्टिकृत ग्यास्ट्रो, न्यूरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट व्यवस्थित तरिकाले प्रदान गर्ने गरी संरचना निर्माण हुनेछन् ।
हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिनेछ । भवनको माथि हेलिप्याडसमेत रहनेछ ।
हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । अस्पतालले लुम्बिनी प्रदेशको प्रमुख प्रादेशिक अस्पतालको रूपमा सेवा प्रदान गर्दै आइरहेको छ । ३०० बेड सरकारी र १०० बेड अस्पताल विकास समितितर्फ गरी ४०० बेड स्वीकृत भएको भए पनि अहिले ५२४ बेड सञ्चालनमा छन् ।
यस अस्पतालमा बहिरंग सेवाहरूमा जनरल मेडिसिन, न्यूरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोग, आँखा रोग, युरोलोजी, न्यूरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरी, मनोरोगको उपचार सञ्चालनमा रहेका छन् ।
मातृशिशुसम्बन्धी सम्पूर्ण उपचार सेवा हुने गरी प्रसूति तथा स्त्री रोग उपचार र बाल रोग उपचारका लागि बेडको व्यवस्थासहित विभागमा ओपीडी, इमर्जेन्सी, डेलिभरी कक्ष, खोप, परिवार नियोजन समेटेर मातृशिशु क्लिनिक, नवजात शिशु सघन उपचार कक्ष, बच्चाहरूका लागि सघन कक्षसहितको भवन निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ ।
साथै, अन्य सेवाहरू फार्मेसी, प्याथोलोजी, एक्स–रे, सिटीस्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोलोनोस्कोपी, इसिजी, ओपीजी, इकोकार्डिओग्राम, आइसीयू, सामाजिक सेवा इकाइ, विस्तारित अस्पताल सेवा पनि उपलब्ध छ ।
अस्पतालको अक्सिजन अभावलाई मध्यनजर गर्दै अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना महामारीको समयमा भएको आपत्काललाई मध्यनजर गर्दै अहिले अस्पतालमा स्तरीय सेवा विस्तारको काम भइरहेको मेसु ढकालको भनाइ छ ।
प्रदेशको महत्वपूर्ण आयोजना भएको र प्रभावकारी रूपमा काम हुनेगरी ठेक्का अघि बढेकाले रकम अभाव नहुने सरकारले बताएको छ । अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘काठमाडौं यूनिकसल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ माध्यमबाट सुपरिवेक्षणको जिम्मा दिइएको छ ।
प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले डिजाइन र निर्माण सुपरिवेक्षण गरिरहेको छ । अस्पताललाई प्राक्टिलक सेन्टर बनाएर मेडिकल कलेज बनाउने भनी प्रदेशको नीति कार्यक्रमले पनि बोलेको छ ।


प्रतिकया दिनुहोस्