स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
राप्ती प्रेस मञ्चले आयोजना गरेको पत्रकारहरुको आँखा तथा स्वास्थ्य जाँच शिविरको उद्घाटन गर्दै उनले प्रभावकारी र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार निरन्तर कार्यरत रहेको स्पष्ट पारेका हुन ।
उनका अनुसार प्रर्वद्धनात्मक उपचार सेवामा सरकारले ध्यान बढाएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना संस्थाका रूपमा अघि बढाउने लक्ष्य लिइएको छ । आधारभूत स्वास्थ्य सेवा बलियो बनाउँदै लगिएको छ । गाउँ तथा दुर्गम क्षेत्रमा चिकित्सक पठाउने व्यवस्थालाई सन्तुलित बनाइएको छ ।
स्वास्थ्यमन्त्री सारुले पत्रकारको भूमिका उल्लेखनीय रहेको बताउँदै सत्य र तथ्यमा आधारित समाचार लेखन आवश्यक रहेको धारणा राखे । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि सूचना र तथ्यको सही प्रसारणले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे ।
राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षत्वमा भएको शिविरमा स्वास्थ्यमन्त्री सारु प्रमुख अतिथि रहेका थिए । शिविर तिलगंगा आँखा उपचार केन्द्र सिसहियनाँ र आध्या मेडिकल हलको प्राविधिक सहयोगमा भएको हो ।
कार्यक्रममा सहभागी ३२ जना पत्रकारहरुले आँखा तथा स्वास्थ्य जाँच गराएका थिए । सो अवसरमा वडा अध्यक्ष देवप्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक पुष्करसिंह ऐरी, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकया दिनुहोस्