ओमिक्रोनबाट आतंकित हुनु पर्दैन, पहिलेजस्तै सावधानी अपनाए पुग्छ:भाइरोलोजिस्ट लुना भट्ट

स्वास्थ्यसमाचार/सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको थियो।

मंसिर ३ गते नेपाल आएका दुई जना विदेशी नागरिकमा ओमिक्रोन भेटिएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो। संक्रमण पुष्टि भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको सम्पर्कमा आएकाहरूमा संक्रमण नेगेटिभ देखिएको विज्ञप्तिमा उल्लेख छ।

३५ भन्दा बढी देशहरूमा भेरियन्टका संक्रमित फेला परिसकेकाले पनि पछिल्लो समय यसलाई लिएर विश्व नै तरंगित छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट फेला परेसँगै यसलाई लिएर धेरै जनालाई यसबारे चासो छ।

भाइरोलोजिस्ट डाक्टर लुना भट्ट ओमिक्रोन भेरियन्टलाई लिएर आतंकित हुन नपर्ने बताउँछिन्।  भट्टले भनिन्, ‘ओमिक्रोन भेरियन्टले खोप लगाएकाहरूलाई र संक्रमित भइसकेर एन्टिबडी भएकाहरूमा पनि संक्रमण गराउनसक्छ भन्ने कुराले गर्दा मानिसहरू आतंकित हुनु स्वभाविक हो। तर ओमिक्रोन पनि पहिल्यैको जस्तो उत्परिवर्तित भएर आएको नयाँ भेरियन्ट हो। त्यसैले पहिले जुन सावधानीका उपायहरू अपनाएका थियौं त्यहीँ उपायहरू पालना गरे यसबाट सुरक्षित रहन सक्छौं।

यो भेरियन्ट पहिलेका भेरियन्टभन्दा कति घातक छ भन्ने तथ्य बाहिर आइसकेको छैन। अहिले पनि वैज्ञानिकहरू सो कुरा पत्ता लगाउन काम गरिरहेका छन्। हालसम्म बाहिर देखिएका कुराहरूले पनि यसबाट आत्तिहाल्न नपर्ने डाक्टर भट्टको भनाइ छ।

यो भेरियन्टबारे धेरै तथ्यहरू आउन बाँकी नै छ तर अहिलेसम्म देखिएका कुराहरू हेर्दा आत्तिनु पर्ने अवस्था छैन। यो भेरियन्ट धेरै फैलिने गरिएको देखिए पनि यसले गम्भीर अवस्थामा लैजाने सम्भावना देखिसकेको छैन। संक्रमण देखिएकाहरूमा समेत सामान्य लक्षणहरू मात्र देखिएको छ। अलिक धेरै फैलिने भएकाले मात्र मानिसहरूमा डर भएको हो, उनले भनिन्।

ओमिक्रोन भेरियन्टलाई बेवास्ता गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न हेलचक्र्याइँ भने गर्न नहुने उनको सुझाव छ। अहिले यो भेरियन्ट फैलिन सक्ने जोखिम रहेकालाई सुरूमै सावधानी अपनाउनु पर्ने भन्दै मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने र भिडभाड कम गर्ने जस्ता सवाधानीका उपायहरू अपाउनु पर्ने भट्ट बताउँछिन्।

नेपालजस्तो देशमा संक्रमणले जटिल अवस्था पुर्‍याउने नभए पनि अस्पताल भर्ना हुने क्रम बढ्नु पनि चिन्ताको विषय हुने उनको भनाइ छ। साथै यो भेरियन्ट बच्चाहरूमा पनि देखिएकाले ती समूहलाई ख्याल गर्नुपर्ने उनको सुझाव छ। दक्षिण अफ्रिकामा पनि बच्चाहरूमा यो भेरियन्ट देखिएको उल्लेख गर्दै उनले भनिन्, ुखोप नलगाएका बच्चाहरू बढी अस्पताल भर्ना हुने देखिएको छ। यद्यपी उनीहरूमा जटिल लक्षण देखिएको छैन। मृत्यु भएको छैन। तर अस्पताल भर्ना हुने क्रम धेरै देखिनुले यसबाट खोप नलगाएका जसलाई यसअघि पनि संक्रमण भएको थिएन, ती समूह बढी जोखिममा छन् भन्ने हो। त्यसैले बच्चाहरूलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ।

ओमिक्रोन भेरियन्ट नेपालमा भर्खर देखिएकाले अहिले नै यसबाट हुने थप संक्रमण फैलिन नदिन सावधानीका उपायहरू अझ कडाइका साथ लागू गर्नुपर्ने उनी बताउँछिन्। त्यसका लागि कन्ट्याक्ट ट्रेसिङको काम बढाउनुपर्ने र बाहिरबाट आउनेहरूमा निगरानी बढाउनु पर्नेलगायत जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने उनको सुझाव छ। यी कामहरू गरे कोरोनाको जुनै पनि नयाँ भेरियन्ट आए पनि आतंकित हुनुनपर्ने भट्ट बताउँछिन्।सेतोपाटीबाट

सम्बन्धित शिर्षक :