पाल्पाको माथागढीमा भगवान् कोईराला पुगेपछि मुटुरोगी उत्साहित

स्वास्थ्यसमाचार/पाल्पाको माथागढी गाउँपालिका(७ रहवासकी २७ वर्षीया विष्णु परियारमा विगत पाँच वर्षअघिदेखि मुटुमा समस्या देखिएको थियो । आर्थिक अवस्था निकै नाजुक भएकाले उहाँले स्वास्थ्य परीक्षण गर्न सक्नुभएको थिएन ।

जिल्लाका अस्पतालमा सामान्य उपचार गराए पनि मुटुसम्बन्धी उपचारका लागि बाहिर जान पैसा नभएकाले परियार त्यत्तिकै घरमै बस्नुभएको थियो । काठमाडौंबाट गाउँमै मुटुरोग विशेषज्ञ प्राडा भगवान् कोइराला आउने खबर थाहा पाएपछि उहाँ बिहानै गाडी चढेर गाउँपालिकाको केन्द्रस्थित किसान मावि पुग्नुभयो । किसान माविमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उहाँले स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षणमा उहाँको मुटुमा समस्या देखियो । परियारलाई डाक्टरले परामर्शपछि निःशुल्क औषधि दिएपछि उत्साहित हुँदै घर फर्किनुभयो ।

माथागढी(३ की ५० वर्षीय चन्द्रदेवी कामी पनि आर्थिक अभावले लामो समयसम्म पनि स्वास्थ्य परीक्षण नै नगरी बस्नुभएको थियो । मुटुमा समस्या भएको थाहा हुँदाहुँदै पनि पैसा नहुँदा स्वास्थ्य परीक्षणका लागि उहाँ अस्पताल पुग्न सक्नुभएको थिएन । गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा आएर उहाँले स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षण गर्दा उहाँमा मुटुसम्बन्धी समस्या देखियो । उहाँलाई पनि डाक्टर भगवान् कोइरालाले परामर्श दिई औषधि दिनुभयो । उहाँले निःशुल्करूपमा स्वास्थ्य परीक्षण र औषधि पाएपछि गाउँमै भगवान् आएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

माथागढी(४ की प्रगति पोखरेलको अवस्था पनि उस्तै हो । उहाँ पनि आर्थिक अवस्था कमजोर भएका कारण मुटु परीक्षण नगरी बस्नुभएको थियो । गाउँमै सञ्चालन भएको शिविरमा आएर उहाँले निःशुल्क उपचार गर्न पाउँदा भने खुशी हुनुहुन्छ । परियार, कामी र पोखरेलमात्र होइन, यहाँका अधिकांश मुटुका बिरामीहरू आर्थिक अभावमा स्वास्थ्य परीक्षण गर्नबाट वञ्चित हुनुपरेको थियो । तर, गाउँपालिकाले विभिन्न संघसंस्थाहरूको समन्वयमा विशेषज्ञ सेवा नपाएका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेपछि भने यहाँका नागरिक उत्साहित भएका छन् ।

गाउँपालिकाले सेभ द हार्टको आयोजना र मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा दुईदिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्राडा भगवान् कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले दुई हजार ७९५ जनाको मुटु परीक्षण गरेको थियो ।

शिविरमा मुटु परीक्षण गराएकामध्ये ६० जनामा जटिल समस्या देखिएपछि काठमाडौं रिफर गरिएको छ । रिफर गरिएकामध्ये ४३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो । उहाँका अनुसार ४२८ जनाको इसिजी र ३८१ जनाको इको गराइएको छ । परीक्षण गर्दा विद्यार्थीहरूमा पनि मुटुसम्बन्धी समस्या देखिएको छ ।

गाउँपालिकाले आमनागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न संघसंस्थाहरूको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको अध्यक्ष थापाको भनाइ छ । अध्यक्ष थापाले आर्थिकरूपमा विपन्न नागरिक जसको उपचारमा पहुँच पुग्दैन, त्यस्ता बिरामीका लागि शिविर निकै लाभदायी भएको बताउनुभयो । यातायात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धूमपान, मद्यपानजस्ता चिजले जीवनशैली बिगारेको मुटुरोग विशेषज्ञ प्राडा भगवान् कोइराला बताउनुहुन्छ । उहाँले मुटु संवेदनशील अंग भएकाले समस्या देखिएमा तुरुन्त परीक्षण गर्नुपर्ने बताउनुभयो ।

गाउँ(गाउँमा पुगेर मुटुरोगीहरूको पहिचान गरी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न संघसंस्था र स्थानीय सरकारहरूको समन्वयमा शिविरहरू सञ्चालन गरिँदै आएको सेभ द हार्टका प्रमुख तथा सह–प्राडा अनिल भट्टराईले बताउनुभयो । उहाँले मुटुसम्बन्धी समस्या देखिएर शल्यक्रिया गर्नुपर्ने अवस्था आएका बिरामीहरूका लागि आफूहरूले आर्थिक सहयोगसमेत गर्ने बताउनुभयो । गाउँपालिकाले शिविरमा आउनजानका लागि यातायातको व्यवस्थासमेत मिलाएको थियो ।रामचन्द्र रायमाझी हिमालयटाईम्समा लेखेका छन ।

सम्बन्धित शिर्षक :