स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा ग्लोबल फण्ड र यूएनडीपीको सहकार्यमा “Strengthening Health Resilience in Nepal : HIV, TB & Malaria Sharing Meeting” दाङको देउखुरीस्थित लुम्बिनी सभा हलमा सम्पन्न भएको छ।
बैठकको उद्घाटन प्रदेश स्वास्थ्य मन्त्री खेम सारुले गर्नुभयो । कार्यक्रममा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालय प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्र स्वास्थ्य विज्ञ, साझेदार संस्थाहरूको सहभागिता थियो।
कार्यक्रममा लुम्बिनी प्रदेशमा HIV, टीबी र मलेरियाको वर्तमान अवस्था, उपचारको पहुँच, जोखिम समूह पहिचान तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।
मन्त्री सारुले “HIV, TB र Malaria नियन्त्रण केवल उपचारको कुरा मात्र होइन, यो सामाजिक जिम्मेवारी हो” भन्दै समुदाय–केन्द्रित स्वास्थ्य सेवा विस्तारमा जोड दिनुभयो।
स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले ग्लोबल फण्ड र प्रदेशबीचको सहकार्यलाई सुदृढ गर्दै Zero HIV, Zero Malaria and Zero TB लक्ष्य हासिल गर्न प्रदेश प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार, सीमाक्षेत्र, दुर्गम भू–भाग र जोखिमयुक्त समुदायहरूमा पहुँच आधारित सेवाबाट प्रभावकारी सुधार सम्भव छ।
बैठकमा सहभागी सरोकारवालाले मोबाइल हेल्थ क्याम्प सञ्चालन, स्वास्थ्यकर्मी अभिमुखीकरण, डिजिटल माध्यमबाट सूचना प्रवाह र उपचार पहुँच वृद्धि जस्ता व्यावहारिक सुझावहरू दिएका छन्। साथै तथ्याङ्कलाई एकीकृत प्रणालीमा राख्ने र जोखिम समूहलाई लक्षित कार्ययोजना बनाउनुपर्ने सुझाव पनि आए।
कार्यक्रमको निष्कर्षस्वरूप प्रदेश सरकार, ग्लोबल फण्ड र यूएनडीपीबीच संयुक्त कार्यदल गठन गर्ने सहमति जुटाइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, बैठकका रणनीतिक निष्कर्षहरू आगामी बजेट तथा नीतिगत योजनामा समावेश गरिनेछ।
प्रदेशले स्वास्थ्य प्रणालीलाई संकट प्रतिरोधी (resilient) बनाउँदै “स्वस्थ लुम्बिनी प्रदेश” अभियानलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिकया दिनुहोस्