तिलोत्तमाका ज्येष्ठ नागरिकको घरदैलोमैं पुगेर स्वास्थ्य परीक्षण गरिने

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ सुरु गरेको छ । नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको हो ।

सोमबार कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले ज्येष्ठ नागरिकको मन जितेर काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । तिलोत्तमा नगरपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएर काम गरिरहेको बताउँदै उनले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरेर यो कार्यक्रम सुरु गरिएको बताए ।

कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमैं पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नेछन् । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विभिन्न ११ थरी औषधी र मधुमेह परीक्षणको समेत व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको साथैं निःशुल्क औषधी र आवश्यक परामर्श उपलब्ध गराउने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए।

तिलोत्तमा नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठकबाट अभिमुखीकरण गराएर कार्यक्रम सुरु गरेको हो । तिलोत्तममा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक :