पूर्ण स्तनपानमा लुम्बिनी अग्रणी, दुधदानी प्रयोग घटाउन चुनौती

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने (पूर्ण स्तनपान) दर देशका अन्य प्रदेशको तुलनामा उच्च देखिएको छ। तर पूर्ण स्तनपानको पहुँचबाट बाहिर रहेका शिशुको संख्या र दुधदानी बाट दूध खुवाउने अभ्यास अझै चुनौतीका रूपमा देखिएको छ।

बहु-सूचक समूह सर्वेक्षण (एनएमआईसीएस) २०२४-२५ अनुसार लुम्बिनीमा छ महिनासम्म पूर्ण स्तनपान गराउने दर ८१.५ प्रतिशत रहेको छ। यो प्रदेशगत रूपमा सबैभन्दा उच्च दर हो। नेपालमा भने छ महिनासम्म पूर्ण स्तनपानको राष्ट्रिय दर ६९.७ प्रतिशत रहेको छ। सरकारले सन् २०३० सम्म पूर्ण स्तनपानको दर ९० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ।

लुम्बिनीमा पूर्ण स्तनपानको अवस्था उत्साहजनक रहे पनि २४.९ प्रतिशत शिशुलाई दुधदानीबाट दूध खुवाउने गरिएको तथ्यांकले देखाएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार दुधदानीको अत्यधिक प्रयोगले शिशुको स्तन चुस्ने प्राकृतिक अभ्यासमा असर पार्न सक्छ।

स्वास्थ्य निर्देशनालय लुम्बिनीका स्तनपान कार्यक्रम फोकल पर्सन कुमार थापाले प्रदेशको उपलब्धि सकारात्मक भए पनि अझै सबै शिशुसम्म पूर्ण स्तनपानको पहुँच पुर्‍याउन आवश्यक रहेको बताए। “पूर्ण स्तनपानको दर ८१.५ प्रतिशत पुग्नु महत्वपूर्ण उपलब्धि हो,” उनले भने, “तर अझै करिब १८.५ प्रतिशत शिशु पूर्ण स्तनपानबाट बाहिर छन्।

दुधदानीको प्रयोग घटाउन आमालाई सही परामर्श, परिवारको सहयोग र स्तनपानमैत्री वातावरण आवश्यक छ।”उनका अनुसार स्तनपानलाई आमाको मात्र जिम्मेवारीका रूपमा बुझ्नु गलत हुने बताए। आमा, परिवार, स्वास्थ्य संस्था र कार्यस्थल सबैको सहयोगबाट मात्र स्तनपानलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।

“कार्यस्थलमा स्तनपान कक्ष, आमालाई आवश्यक समय र सहयोगी वातावरण उपलब्ध गराउनुपर्छ,” थापाले भने, “स्तनपान संरक्षण र प्रवद्र्धनमा परिवार र समाजको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ।”

लुम्बिनी प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा. नेत्र रानाले शिशुको जीवनको पहिलो छ महिना पूर्ण स्तनपानका लागि सबैभन्दा महत्वपूर्ण अवधि भएको बताए। “आमाको दूध शिशुको पहिलो खोपजस्तै हो,” उनले भने, “यसले शिशुलाई आवश्यक पोषण दिनुका साथै रोगसँग लड्ने क्षमता विकास गर्छ। जन्मदेखि छ महिना सम्म पानी वा अन्य खानेकुरा नदिई आमाको दूध मात्र खुवाउनु पर्छ।”

शिशु जन्मिएको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नु आवश्यक हुन्छ। जन्मपछि आउने पहिलो गाढा पहेँलो दूध (कोलोस्ट्रम) लाई फाल्नुको सट्टा शिशुलाई खुवाउनुपर्ने डा. राना को भनाई छ । कोलोस्ट्रमले नवजात शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

डा. रानाले दुधदानीको अनावश्यक प्रयोगले शिशुको स्तन चुस्ने बानीमा असर पार्न सक्ने बताए। “आमाको दूध पर्याप्त छैन भन्ने शंका भएमा तत्काल बट्टाको दूधमा जानुभन्दा स्वास्थ्यकर्मीको परामर्श लिनुपर्छ,” उनले भने, “सही तरिकाले स्तनपान गराउने अभ्यास र परिवारको सहयोगले धेरै समस्या समाधान गर्न सकिन्छ।”

सरकारले सार्वजनिक स्थल, सरकारी तथा निजी कार्यालय र स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना तथा सञ्चालन लाई प्रवद्र्धन गर्दै आएको छ। प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा स्तनपान संरक्षण, प्रवद्र्धन र सहयोगलाई प्राथमिकता दिइएको छ।

मातृ- शिशु मैत्री स्वास्थ्य संस्था सञ्चालन निर्देशिकाअनुसार स्वास्थ्य संस्थामा स्तनपान परामर्श सेवा विस्तार गर्ने, गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक जानकारी दिने र परिवारका सदस्यलाई सचेत बनाउने कार्यक्रम सञ्चालन भइरहेका छन्।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सरकारी, गैरसरकारी तथा निजी संस्थामा कार्यरत महिलालाई कम्तीमा ९८ दिन तलबसहित प्रसूति बिदाको व्यवस्था गरेको छ। साथै शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउन आवश्यक व्यवस्था मिलाउनुपर्ने कानुनी प्रावधान छ।

स्वास्थ्यकर्मीहरूले स्तनपान सप्ताहलाई औपचारिक कार्यक्रममा मात्र सीमित नगरी हरेक आमाले सहज र सुरक्षित रूपमा शिशुलाई स्तनपान गराउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। लुम्बिनीमा पूर्ण स्तनपानको दर प्रदेशगत रूपमा सबैभन्दा उच्च भए पनि दुधदानीको प्रयोग घटाउने, स्तनपानबाट वञ्चित शिशुसम्म सेवा र परामर्श पुर्‍याउने तथा कार्यस्थल लाई स्तनपानमैत्री बनाउने चुनौती भने कायमै रहेको छ।

विश्व स्तनपान सप्ताह–२०२६ का अवसरमा लुम्बिनी प्रदेशमा स्तनपानको अवस्था, उपलब्धि र चुनौतीबारे विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। यस वर्ष “दिगो जीवनको स्वस्थ सुरुवात : प्रभावकारी स्तनपानका लागि सबैको साथ” भन्ने नारासहित साउन १६ देखि २२ गतेसम्म स्तनपान सम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालन भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

 

 

सम्बन्धित शिर्षक :