रोल्पा जिल्ला अस्पतालमा शल्यक्रिया तथा जटिल प्रसूति सेवा बन्द

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरे प्रदेशका अस्पतालको सेवा, अवस्था र समस्या बुझ्न जिल्ला दौडाहामा छन्। उनीसँग स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ र मन्त्रालयका अन्य कर्मचारीहरु पनि छन्।

अस्पतालको समस्या बुझ्न भन्दै प्रदेश दौडाहामा निस्किएको स्वास्थ्य नेतृत्वकै कार्यक्षेत्रभित्र रहेको रोल्पा अस्पतालमा भने विशेषज्ञ चिकित्सक अभावका कारण शल्यक्रिया तथा जटिल प्रकृतिका प्रसूति सेवा पूर्ण रूपमा बन्द भएका छन्।

५० शय्याको विशेषज्ञ सेवासहितको जिल्ला अस्पतालका रूपमा सञ्चालनमा रहेको रोल्पा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर विडम्बना, अस्पतालमा हाल एकजना पनि विशेषज्ञ चिकित्सक छैनन्। विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रियासँग सम्बन्धित सम्पूर्ण सेवा ठप्प भएको छ।

जटिल प्रसूति समस्या भएका गर्भवती तथा शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता सिर्जना भएको अस्पतालले जनाएको छ ।

अस्पतालको अवस्था बुझ्न स्वास्थ्य मन्त्रीसहितको टोली जिल्लादौडाहामा रहेकै बेला रोल्पा अस्पतालमा सुत्केरी तथा जटिल प्रसूति सेवा आवश्यक पर्ने महिलाले भने उपचार नपाएर थप सास्ती भोग्नुपरेको छ।

रोल्पाको रेउघामा रहेको अस्पतालमा यसअघि निक साइमन इन्स्टिच्युटले उपलब्ध गराएको एमडीजीपी चिकित्सकको नेतृत्वमा शल्यक्रिया तथा जटिल प्रसूति सेवा सञ्चालन हुँदै आएको थियो। तर संस्थाले चिकित्सक टोली फिर्ता बोलाएपछि अस्पतालको शल्यक्रिया सेवा बन्द भएको हो।

सुविधासम्पन्न भवन र आवश्यक भौतिक पूर्वाधार तयार भए पनि विशेषज्ञ चिकित्सकको व्यवस्थापन नहुँदा अस्पतालले अपेक्षाअनुसार सेवा दिन सकेको छैन।‘निक साइमन इन्स्टिच्युटले उपलब्ध गराएको एमडीजीपी चिकित्सकसापको नेतृत्वमा शल्यक्रियाका काम भइरहेका थिए,’।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सूर्यप्रताप रैदासले भने, ‘चलिरहेको सेवा अवरुद्ध हुँदा हामीलाई पनि अप्ठ्यारो लागेको छ।’विशेषज्ञ चिकित्सकको सेवा पूर्ण रूपमा बन्द हुने जानकारी गत वैशाखमै सरोकारवाला निकायलाई भए पनि समयमै वैकल्पिक व्यवस्था गर्न पहल नभएको अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए।

असारपछि विशेषज्ञ सेवा रोकिने विषयमा सम्बन्धित निकायलाई पटक-पटक जानकारी गराइएको थियो। तर त्यसलाई गम्भीरतापूर्वक नलिँदा अहिले शल्यक्रिया र जटिल प्रसूति सेवा पूर्ण रूपमा बन्द भएको छ। ‘सेवा बन्द हुने जानकारी सबैतिर दिइएको थियो,’ डाँगीले भने, ‘तर समयमै चिकित्सक व्यवस्थापनका लागि पहल भएन।

परिणामस्वरूप अहिले शल्यक्रिया र जटिल प्रसूति सेवा पूर्ण रूपमा बन्द भएको छ।’ दुर्गम जिल्लाका नागरिकलाई जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रोल्पा अस्पताललाई ५० शय्याको विशेषज्ञ सेवासहितको प्रादेशिक अस्पतालका रूपमा विकास गरिएको हो। तर अहिले अस्पताल विशेषज्ञ चिकित्सकविहीन बनेको छ।

अस्पतालमा दैनिक एक सयदेखि तीन सयजनासम्म बिरामीले सेवा लिने गरेका छन्। तर विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त रहँदा हाल ६ जना मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चालन भइरहेको छ।

सेवा बन्द हुने जानकारी तीन महिनाअघि नै सम्बन्धित निकायलाई हुँदा पनि चिकित्सकको वैकल्पिक व्यवस्था नगरिनु ले स्वास्थ्य मन्त्रालयको पूर्वतयारी र जिम्मेवारीमाथि प्रश्न उठाएको छ।स्वास्थ्य मन्त्रालयले भने छात्रबृद्धि करारमा आए का बिद्यार्थीलाई पठाउने भनेपनि अहिले नपाएको अस्पताका निमित्त मेसुले बताए ।

 

सम्बन्धित शिर्षक :