स्वास्थ्यसमाचार/ भारत सरकारको आर्थिक सहयोगमा निर्मित राप्ती आँखा अस्पतालको नयाँ शल्यक्रिया भवन उद्घाटन गरिएको छ। नेपाल–भारत विकास सहयोगअन्तर्गत निर्माण भएको भवनबाट अब आधुनिक तथा व्यवस्थित रूपमा आँखा शल्यक्रिया सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा भारतीय राजदूतावास, काठमाडौंका काउन्सिलर सुश्री गीतांजली ब्रैंडन नेपाल नेत्र ज्योति संघका महासचिब भरत बहादुर चन्द र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो।
भारतीय राजदूतावासको आर्थिक सहयोग तथा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि चार करोड २४ लाख ३८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। शल्यक्रिया भवनभित्र आवश्यक आन्तरिक संरचना, उपकरण व्यवस्थापन तथा सेवा सञ्चालनका लागि अस्पतालले थप करिब एक करोड रुपैयाँ लगानी गरेको जनाएको छ।
तुलसीपुर उपमहानगरपालिकामार्फत भारतीय राजदूतावासको आर्थिक सहयोगमा सिएनएस–आरएस–भिक्टोरिया जेभी, बुद्धनगर काठमाडौंले भवन निर्माणको जिम्मा लिएको थियो। सम्झौताअनुसार २०८३ वैशाखभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मेवारी पाएको निर्माण कम्पनीले भवन निर्माण पूरा गरेको हो।
दुई तलामा निर्माण गरिएको भवनमा २० वटा कोठा छन्। भवन सञ्चालनमा आएपछि अस्पतालको शल्यक्रिया सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसअघि सीमित पूर्वाधारबाट सञ्चालन हुँदै आएको शल्यक्रिया सेवा अब छुट्टै आधुनिक भवनबाट प्रदान गरिने अस्पतालले जनाएको छ।
नयाँ भवनसँगै आँखा शल्यक्रियाका लागि आवश्यक पूर्वाधार विस्तार भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। यसबाट दाङसहित राप्ती क्षेत्र तथा आसपासका जिल्लाका आँखाका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार सेवा पाउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा भवन निर्माण उपसमितिका पदाधिकारी तथा निर्माण कार्यमा प्राविधिक सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा अस्पताल व्यवस्थापन समिति, तुलसीपुर उपमहानगरपालिका, भारतीय राजदूतावास तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।


प्रतिकया दिनुहोस्