स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आर्थिक वर्ष २०८२-८३ मा साढे चार लाखभन्दा बढी बिरामीले बहिरंग सेवा लिएका छन्।
तीन वर्षयता अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ भने विशेषज्ञ सेवा, स्वास्थ्य बीमाको पहुँच र आधुनिक उपकरण थपिएसँगै उपचारका लागि आउनेको संख्या पनि बढेको अस्पतालले जनाएको छ।
अस्पतालको कार्यप्रगति विवरणअनुसार आर्थिक वर्ष २०८०-८१ मा ३ लाख ४८ हजार ९७१ जनाले बहिरंग (ओपिडी) सेवा लिएका थिए। आर्थिक वर्ष २०८२-८३ मा यो संख्या बढेर ४ लाख २० हजार २० पुगेको छ।
स्वास्थ्य बीमामार्फत सेवा लिनेको संख्या पनि बढेको छ। आर्थिक वर्ष २०८०-८१ मा १ लाख ७१ हजार ९७४ जना ले बीमामार्फत उपचार गराएकोमा आर्थिक वर्ष २०८२-८३ मा २ लाख ४३ हजार ८६३ जनाले सेवा लिएका छन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले विशेषज्ञ सेवा विस्तार र उपचारका लागि आवश्यक उपकरण थपिएपछि अस्पतालप्रति बिरामीको भरोसा बढेको बताउनु भयो। “सीमित स्रोत साधनका बीच पनि सेवा विस्तार र गुणस्तर सुधारमा काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “पश्चिम नेपालका बिरामीलाई सकेसम्म यहीँ उपचार उपलब्ध गराउने लक्ष्य छ।”

अस्पतालको आकस्मिक सेवामा पनि बिरामीको चाप बढेको छ। आर्थिक वर्ष २०८०-८१ मा ७२ हजार २४४ जनाले आकस्मिक सेवा लिएकोमा आर्थिक वर्ष २०८२-८३ मा ८४ हजार ६६१ जना पुगेका छन्। दुर्घटना, जटिल रोग तथा अन्य आकस्मिक अवस्थाका बिरामी बढेसँगै सेवा व्यवस्थापनमा दबाब बढेको अस्पतालको भनाइ छ।
पछिल्ला वर्षमा अस्पतालले निदान सेवामा पनि विस्तार गरेको छ। सिटी स्क्यान सेवा लिनेको संख्या आर्थिक वर्ष २०८०-८१ मा ५ हजार ८३ रहेकोमा आर्थिक वर्ष २०८२-८३ मा १० हजार ६८२ पुगेको छ। अस्पतालमा हालै एमआरआई सेवा पनि सञ्चालनमा आएको छ।
त्यस्तै, इको सेवा लिनेको संख्या बढेर ६ हजार ५०४ पुगेको छ भने प्रयोगशालाबाट १ लाख १५ हजार १७१ जनाले सेवा लिएका छन्।अस्पतालको न्यूनतम सेवा मापदण्ड (एमएसएस) स्कोर आर्थिक वर्ष २०७८-७९ मा ७४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२-८३ मा ९० प्रतिशत पुगेको छ।
सामाजिक सेवा इकाइमार्फत गत आर्थिक वर्ष ४ हजार ७८४ जना विपन्न तथा असहाय बिरामीलाई १ करोड ३३ लाख ८२ हजार रुपैयाँभन्दा बढीको उपचार छुट दिइएको अस्पतालले जनाएको छ।
अस्पतालले १६ स्लाइस सिटी स्क्यानलाई १२८ स्लाइसमा स्तरोन्नति गर्ने, नर्सिङ कलेज स्थापना प्रक्रिया अघि बढाउने र १ हजार २ सय शय्याको नयाँ भवन निर्माणसँगै अस्पताललाई पश्चिम नेपालकै विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ।
तर बिरामीको बढ्दो चापअनुसार चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन, पूर्वाधार विस्तार तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउनु अझै चुनौतीपूर्ण रहेको डा. गौतमले बताउनु भयो। अस्पतालले पछिल्ला वर्षमा सेवा र प्रविधि विस्तार गरे पनि बढ्दो बिरामी चाप व्यवस्थापन गर्नु अबको मुख्य चुनौती बनेको छ।




प्रतिकया दिनुहोस्