लुम्बिनी प्रादेशिक अस्पताल : बिरामीको भरोसा बढ्यो, सेवा र प्रविधिले फेर्‍यो स्वरूप

स्वास्थ्यसमाचार/ तीन वर्षअघिसम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मुख्य चुनौती थियो-बढ्दो बिरामी चाप र सीमित स्रोत साधन बीच गुणस्तरीय सेवा दिनु।

पश्चिम नेपालका विभिन्न जिल्लाबाट आउने बिरामीको पहिलो रोजाइ बनेको अस्पतालमा सेवाग्राहीको संख्या हरेक वर्ष बढिरहेको थियो, तर त्यसअनुसार सेवा क्षमता विस्तार गर्नुपर्ने दबाब पनि उत्तिकै थियो।

तर पछिल्ला तीन आर्थिक वर्षमा अस्पतालले सेवा विस्तार, प्रविधि थप र व्यवस्थापन सुधारमा गरेको प्रयासले अस्पतालको स्वरूप फेरिँदै गएको छ। अहिले अस्पतालमा आउने बिरामीको संख्या मात्र बढेको छैन, विशेषज्ञ सेवा र अत्याधुनिक उपकरणको प्रयोगसमेत विस्तार भएको छ।

अस्पतालले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ देखि २०८२-८३ सम्मको कार्यप्रगति विवरणले यही परिवर्तन देखाएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विष्णु गौतम का अनुसार सीमित स्रोत साधनका बीच सेवा विस्तार गर्दै अस्पताललाई पश्चिम नेपालकै विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्र बनाउने दिशामा काम भइरहेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा एक वर्षमा साढे ४ लाख २० हजार विरामीले लिए सेवा‘बिरामीको विश्वास बढेको छ। सेवाको दायरा विस्तार भएपछि उपचारका लागि टाढा जानुपर्ने अवस्था कम हुँदै गएको छ,’ उहाँले भन्नुभयो।

बिरामीको चाप बढ्यो, ओपिडी सेवा चार लाख नाघ्यो

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या पछिल्ला तीन वर्षमा निरन्तर बढेको छ। अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०-८१ मा ३ लाख ४८ हजार ९७१ जना ले ओपिडी सेवा लिएका थिए।

त्यसको दुई वर्षपछि आर्थिक वर्ष २०८२- ८३ मा यो संख्या बढेर ४ लाख २० हजार २० जना पुगेको छ ।यो तथ्यांक ले अस्पतालप्रति नागरिकको भरोसा बढ्दै गएको देखाउने अस्पताल प्रशासनको भनाइ छ। विशेषज्ञ चिकित्सक को सेवा विस्तार, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नयाँ उपकरण थप र सेवा व्यवस्थापन मा सुधारले बिरामी संख्या बढेको अस्पतालको निष्कर्ष छ।

स्वास्थ्य बीमाले बढायो पहुँच
स्वास्थ्य बीमा कार्यक्रम लुम्बिनी प्रादेशिक अस्पतालको सेवाको महत्वपूर्ण आधार बनेको छ।आर्थिक वर्ष २०८०-८१ मा स्वास्थ्य बीमामार्फत १ लाख ७१ हजार ९७४ जना ले सेवा लिएका थिए।  आर्थिक वर्ष २०८२-८३ मा यो संख्या बढेर २ लाख ४३ हजार ८६३ जना पुगेको छ।स्वास्थ्य बीमामार्फत सामान्य उपचारदेखि विशेषज्ञ सेवा लिन सहज भएपछि सर्वसाधारणको अस्पतालप्रतिको पहुँच बढेको अस्पतालको भनाइ छ।

बीमाका कारण आर्थिक अवस्था कमजोर भएका नागरिकले पनि ठूला रोगको उपचार सरकारी अस्पतालमै लिन सक्ने अवस्था बनेको डा. गौतम बताउनुहुन्छ।

आकस्मिक सेवामा पनि बढ्यो दबाब

लुम्बिनी प्रादेशिक अस्पतालको आपतकालीन सेवामा आउने बिरामीको संख्या पनि बढेको छ।आर्थिक वर्ष २०८०-८१ मा ७२ हजार २४४ जना ले इमर्जेन्सी सेवा लिएका थिए।  आर्थिक वर्ष २०८२-८३ मा यो संख्या बढेर ८४ हजार ६६१ जना पुगेको छ।दुर्घटना, जटिल रोग, प्रसूति तथा आकस्मिक उपचारका लागि आउने बिरामी बढ्दा अस्पतालको आपतकालीन सेवामा चाप थपिएको छ।अस्पतालले आईसीयू, एनआईसीयू, ट्रमा सेवा र आकस्मिक उपचार क्षमतामा समेत विस्तार गरेको जनाएको छ।

प्रविधिमा फड्को : सिटी स्क्यानदेखि एमआरआईसम्म :परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता घट्दै

लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय निदान सेवामा ठूलो सुधार गरेको छ। केही वर्षअघिसम्म जटिल परीक्षणका लागि निजी अस्पताल वा अन्य शहर जानुपर्ने बाध्यता रहेका बिरामीले अहिले अस्पतालभित्रै आधुनिक उपकरणबाट सेवा पाउन थालेका छन्।अस्पतालमा सिटी स्क्यान, एमआरआई, इको, भिडियो एक्सरे र प्रयोगशाला सेवा विस्तार गरिएको छ।

सिटी स्क्यान सेवा लिनेको संख्या आर्थिक वर्ष २०८०-८१ मा ५ हजार ८३ जना रहेकोमा आर्थिक वर्ष २०८२-८३ मा बढेर १० हजार ६८२ जना पुगेको छ।नयाँ सुरु गरिएको एमआरआई सेवाबाट पहिलो वर्षमै १९८ जना बिरामीले सेवा लिएका छन्।त्यस्तै इको सेवा लिनेको संख्या पनि दुई हजारबाट बढेर ६ हजार ५०४ पुगेको छ।प्रयोगशाला सेवातर्फ परीक्षण संख्या बढेर १ लाख १५ हजार १७१ पुगेको अस्पतालले जनाएको छ।

गुणस्तरमा पनि सुधार

बिरामीको संख्या बढेसँगै अस्पतालको गुणस्तर मापन सूचकमा समेत सुधार देखिएको छ।अस्पतालको न्यूनतम सेवा मापदण्ड (एमएसएस) स्कोर आर्थिक वर्ष २०७८-७९ मा ७४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२-८३ मा बढेर ९० प्रतिशत पुगेको छ।अस्पताल प्रशासनले यसलाई सेवा सुधारको महत्वपूर्ण उपलब्धि मानेको छ।

‘बिरामीको चाप बढ्नु मात्र उपलब्धि होइन, गुणस्तरीय सेवा दिन सक्नु मुख्य कुरा हो,’ अस्पताल प्रशासनको भनाइ छ।
विपन्न नागरिकका लागि उपचारमा राहत

लुम्बिनी प्रादेशिक अस्पतालले सामाजिक सेवा इकाइमार्फत विपन्न तथा असहाय नागरिकलाई उपचारमा राहत दिँदै आएको छ।
आर्थिक वर्ष २०८२-८३ मा सामाजिक सेवा इकाइमार्फत १ करोड ३३ लाख ८२ हजार ३१५ रुपैयाँ बराबरको उपचार छुट उपलब्ध गराइएको छ।यसबाट ४ हजार ७८४ जना बिरामी लाभान्वित भएका छन्। लाभ लिनेमा ज्येष्ठ नागरिकको हिस्सा ५४.६ प्रतिशत र अति गरिब तथा गरिब वर्गको हिस्सा ३७.८ प्रतिशत रहेको छ।

विशेषज्ञ सेवा विस्तार

लुम्बिनी प्रादेशिक अस्पताल अहिले बहुविशेषज्ञ सेवा दिने अस्पतालका रूपमा अघि बढिरहेको छ। अस्पतालमा बालरोग, स्त्री तथा प्रसूति, जनरल मेडिसिन, मुटु रोग, न्युरो मेडिसिन तथा न्युरो सर्जरी, अस्थिरोग, जनरल सर्जरी, नाक-कान-घाँटी, छाला रोग, दन्त सेवा, आँखा रोग, युरोलोजी र मानसिक रोग सेवा सञ्चालनमा छन्।यसले पश्चिम नेपालका बिरामीलाई राजधानी वा अन्य ठूला शहर जानुपर्ने बाध्यता केही हदसम्म घटाएको छ।

अबको लक्ष्य : ठूलो क्षमता र थप विशेषज्ञ सेवा
अस्पतालले आगामी वर्ष थप सेवा विस्तार गर्ने योजना बनाएको छ। योजनाअन्तर्गतः हालको १६ स्लाइस सिटी स्क्यानलाई १२८ स्लाइस क्षमतामा स्तरोन्नति गर्ने,केन्द्रीय आरओ पानी प्रणाली स्थापना गर्ने,नर्सिङ कलेज स्थापना प्रक्रिया अघि बढाउने रहेका छन्।

१२ सय शय्याको नयाँ भवन निर्माण योजनासँगै अस्पताललाई पश्चिम नेपालकै प्रमुख विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

चुनौती भने बाँकी नै

सेवा विस्तारसँगै अस्पतालमा चुनौती पनि थपिएका छन्। बढ्दो बिरामी चाप अनुसार चिकित्सक, नर्स तथा स्वास्थ्य कर्मी व्यवस्थापन, भौतिक पूर्वाधार विस्तार र सेवा प्रवाहलाई अझ व्यवस्थित बनाउनु अस्पतालका आगामी चुनौती रहेको गौतमको भनाई छ ।

तीन वर्षको तथ्यांकले भने लुम्बिनी प्रादेशिक अस्पताल एउटा सामान्य सरकारी अस्पतालबाट क्रमशः विशिष्टीकृत रेफरल केन्द्रका रूपमा रूपान्तरण हुँदै गएको देखाएको छ।  बिरामीको बढ्दो विश्वास, प्रविधिको विस्तार र गुणस्तर सुधारका सूचकले अस्पतालको आगामी यात्राको आधार तयार गरिरहेकाको भएपनि अस्पतालका चुनौतीसंग कडा रुपमा सामाना गर्नु परेको छ ।

 

सम्बन्धित शिर्षक :