स्वास्थ्यसमाचार/ दुर्गम क्षेत्रका गर्भवती महिलालाई समयमै स्वास्थ्य परीक्षणको पहुँचमा ल्याउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले गाउँ–गाउँमा पोर्टेबल अल्ट्रासाउन्ड सेवा विस्तार गरेको छ। प्रदेशका १० जिल्लाका २५ स्थानीय तहमा ग्रामीण अल्ट्रासाउन्ड पोर्टेबल मेसिन वितरण गरिएको हो।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमार्फत खरिद गरेका पोर्टेबल अल्ट्रासाउन्ड मेसिन स्थानीय तहमा पठाएको हो। प्रतिमेसिन ५ लाख ५० हजार रुपैयाँ लागतमा खरिद गरिएका उपकरण गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, दाङ, कपिलवस्तु, रुकुम पूर्व, बाँके, पाल्पा र रोल्पाका स्थानीय तहमा वितरण गरिएको छ।
ग्रामीण क्षेत्रमा अल्ट्रासाउन्ड सेवा उपलब्ध नहुँदा गर्भवती महिलाले सामान्य स्वास्थ्य परीक्षणका लागि समेत टाढाका अस्पताल पुग्नुपर्ने बाध्यता थियो। नयाँ उपकरण सञ्चालनमा आएपछि स्थानीय स्वास्थ्य संस्थाबाटै गर्भावस्थाको अवस्था परीक्षण गर्न सकिने र जोखिम देखिएमा समयमै उपचार तथा रेफर गर्न सहज हुने अपेक्षा गरिएको छ।
२५ स्वास्थ्यकर्मीलाई विशेष तालिम
पोर्टेबल अल्ट्रासाउन्ड सेवाको प्रभावकारी सञ्चालनका लागि १० जिल्लाका २५ जना स्वास्थ्यकर्मीलाई २१ दिने ग्रामीण अल्ट्रासाउन्ड सञ्चालन तालिम प्रदान गरिएको छ।
स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुवन कुँवरले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलालाई गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो। उपकरणको सही प्रयोग र नियमित सञ्चालनले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने उहाँले बताउनुभयो।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले प्रदेशमा मातृ तथा नवजात शिशु मृत्यु अझै चुनौतीका रूपमा रहेको भन्दै ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तारले स्वास्थ्य सूचक सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
“अल्ट्रासाउन्ड सेवा नपुगेका दुर्गम क्षेत्रका गर्भवती महिलाले अब स्थानीय तहमै परीक्षण सेवा पाउनेछन्। जोखिमपूर्ण अवस्था समयमै पहिचान गरी उपचार र रेफर गर्न सहज हुनेछ,” उहाँले भन्नुभयो। उहाँले गर्भावस्थामा नियमित परीक्षण, जोखिम पहिचान र समयमै उपचार गर्न सके धेरै मातृ तथा नवजात शिशुको जीवन बचाउन सकिने बताउनुभयो।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले सन् २०३० सम्म दिगो विकास लक्ष्यअनुसार मातृ तथा बालशिशु मृत्युदर घटाउने अभियानमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।
उहाँले सुरक्षित मातृत्वका लागि गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, पोषण व्यवस्थापन, सुरक्षित प्रसूति सेवा र खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। “मातृ तथा शिशु स्वास्थ्यमा भएका उपलब्धिलाई संस्थागत गर्दै थप सुधार ल्याउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीच सहकार्य आवश्यक छ,” मन्त्री घिमिरेले भन्नुभयो।
उहाँले ग्रामीण अल्ट्रासाउन्ड मेसिनले गर्भावस्थामा देखिने जोखिम पहिचान गर्न, जटिलता व्यवस्थापन गर्न र ढिलो रेफर हुने समस्या कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
के हो ग्रामीण अल्ट्रासाउन्ड पोर्टेबल मेसिन ?
ग्रामीण अल्ट्रासाउन्ड पोर्टेबल मेसिन सानो आकारको, सजिलै बोकेर गाउँ–गाउँमा लैजान सकिने स्वास्थ्य उपकरण हो। यसले ध्वनि तरंगको माध्यमबाट शरीरभित्रको अवस्था हेर्न सहयोग गर्छ।
विशेषगरी गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा यो प्रविधि उपयोगी मानिन्छ। यसबाट गर्भमा रहेको शिशुको वृद्धि अवस्था, मुटुको धड्कन, गर्भको स्थान तथा सम्भावित जटिलता पहिचान गर्न सकिन्छ।
यसमा विकिरण प्रयोग नहुने भएकाले गर्भावस्थाको परीक्षणका लागि सुरक्षित मानिन्छ। यसले गर्भमा रहेको बच्चाको विकास जाँच गर्ने, मुटुको धड्कन परीक्षण गर्ने, जटिल गर्भावस्थाको प्रारम्भिक पहिचान गर्ने तथा पेट, कलेजो, मिर्गौला, पित्तथैलीलगायत अंगको अवस्था हेर्न सहयोग गर्ने चिकित्सकहरू बताउँछन्। शरीरभित्र पानी जमेको, गाँठागुँठी वा अन्य समस्या पहिचान गर्न समेत यो उपकरण उपयोगी हुने बताइएको छ।
कार्यक्रमको समापनमा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र बुटवलका निर्देशक डा. राजेन्द्र गिरीले उपकरणसँगै स्वास्थ्यकर्मीको सीप विकास भएकाले यसको प्रभावकारी प्रयोगबाट मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पर्ने बताउनुभयो।
उहाँले ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले नियमित रूपमा उपकरण प्रयोग गरी गर्भवती महिलाको परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो। ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमले दुर्गम क्षेत्रका महिलालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने, जोखिमपूर्ण गर्भ समयमै पहिचान गर्ने र मातृ तथा नवजात शिशु मृत्यु घटाउने अभियानमा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ।
कार्यक्रमको सञ्चालन वरिष्ठ शाखा अधिकृत माधव पोखरेलले गर्नुभएको थियो।



प्रतिकया दिनुहोस्