स्वास्थ्यसमाचार/ रुपन्देहीमा एम्बुलेन्स सेवालाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन सरोकारवालाहरुबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा आयोजित कार्यक्रममा एम्बुलेन्स सेवामा देखिएका विकृति, दलाली प्रथा, भाडादर, जीपीएस जडान, पुराना एम्बुलेन्सको व्यवस्थापन तथा निर्देशिका कार्यान्वयनका विषयमा व्यापक छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक विश्वप्रकाश अर्यालले एम्बुलेन्स सेवामा देखिएका विकृति र विसंगति अन्त्य गर्न सम्बन्धित सञ्चालक संस्था, चालक र सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने बताए ।
उनले चालक संघ र एम्बुलेन्स सञ्चालक संस्थाको भूमिका फरक–फरक हुने उल्लेख गर्दै एम्बुलेन्सले कुन दरमा सेवा दिइरहेको छ, चालकको व्यवहार कस्तो छ र बिरामीलाई कहाँ लगिएको छ भन्ने विषयको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी सञ्चालक संस्थाकै भएको स्पष्ट पारे ।
“चालक संघ पेशागत हकहितका लागि बनेको संस्था हो भने सञ्चालक संस्था सेवा सञ्चालन गर्ने निकाय हो,” उनले भने, “एम्बुलेन्स सेवाको गुणस्तर र अनुशासन कायम गर्ने दायित्व सञ्चालक संस्थाको हो ।”प्रजिअ अर्यालले एम्बुलेन्स सञ्चालनसम्बन्धी निर्देशिका सरोकारवालासँगको परामर्शपछि नै जारी गरिएको भन्दै कानुन कार्यान्वयनमा कुनै बहाना स्वीकार्य नहुने बताए ।
उनले रुपन्देहीमा दर्ता रहेका ९९ वटा एम्बुलेन्समध्ये ३८ वटा नवीकरणका लागि आएको र हालसम्म अनुगमन गरिएका नौवटै एम्बुलेन्स ‘ग’ वर्गका रहेको जानकारी दिए ।अर्यालले १० वर्ष पूरा भएका एम्बुलेन्सलाई चरणबद्ध रुपमा सेवा बाहिर निकालेर आवश्यकता अनुसार पीटीभीमा रुपान्तरण गर्न वा नयाँ एम्बुलेन्स खरिद गर्न सञ्चालक संस्थालाई आग्रह गरे ।
जीपीएस जडानको विषयमा बोल्दै उनले एम्बुलेन्समा जीपीएस राख्न नसकिने तर्क स्वीकार्य नभएको बताए । जीपीएस जडानले एम्बुलेन्सको गतिविधि निगरानी गर्न सहज हुने र सेवामा देखिएका धेरै समस्या समाधान गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
भाडादरका विषयमा पनि प्रशासन सकारात्मक रहेको उल्लेख गर्दै उनले चालक संघ र सञ्चालक संस्थाका प्रतिनिधिसँग छलफल गरेर आवश्यक भए तत्काल भाडादर समायोजन गर्न जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति तयार रहेको जानकारी दिए ।
कार्यक्रममा रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले एम्बुलेन्स सेवाका वास्तविक समस्या पहिचान नगरी कार्यविधि लागू गर्दा कार्यान्वयनमा कठिनाइ हुने बताए ।उनले व्यवहारिक र कार्यान्वयनयोग्य व्यवस्था समेटेर मात्र नीति तथा कार्यविधि बनाउनुपर्नेमा जोड दिए । एम्बुलेन्सको १० वर्षे अवधिको विषयमा पनि गाडीको प्राविधिक अवस्था र प्रयोगको अवस्थालाई समेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।
चपाईले एम्बुलेन्स क्षेत्रमा बिचौलिया र दलाली प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सञ्चालक संस्थाहरु नै बढी जिम्मेवार हुनुपर्ने बताए । चालकको व्यवहार र सेवा प्रवाहबारे संस्थागत अनुगमन प्रभावकारी बनाउन आवश्यक रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय महासचिव मुक्ति काफ्लेले वर्तमान एम्बुलेन्स निर्देशिका संशोधन गर्न माग गरे । उनले २४ घण्टा खटिने एम्बुलेन्स चालकहरुको सेवा, तलब, भत्ता तथा श्रम अधिकारका विषय निर्देशिकामा समावेश नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । “बिरामीको ज्यान बचाउन निरन्तर खटिने चालकहरुको सेवा सुविधा र श्रम अधिकारबारे निर्देशिकामा कुनै व्यवस्था छैन,” उनले भने
काफ्लेले ग्रामीण क्षेत्रका स्थानीयवासीले चन्दा संकलन गरेर खरिद गरेका एम्बुलेन्स र सामुदायिक प्रयासलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै हालका केही व्यवस्थाले निजी तथा सामुदायिक क्षेत्रलाई निरुत्साहित गरेको आरोप लगाए ।
उनले एम्बुलेन्सको १० वर्षे आयु सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्नुपर्ने माग गर्दै पुराना एम्बुलेन्स हटाउने निर्णय व्यावहारिक नभएको बताए । साथै, एम्बुलेन्स क्षेत्रमा सिन्डिकेट प्रवृत्ति रहेको दाबी गर्दै जीपीएस जडानलगायतका विषयमा पनि सेवा प्रदायक र मजदुरको हितलाई ध्यानमा राखेर नीति निर्माण गर्न आग्रह गरे ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा देवी थापाले रुपन्देही जिल्लामा ९९ वटा एम्बुलेन्सहरु सञ्चालनमा रहेकोमा एम्बुलेन्स सेवा निर्देशिका २०८२ अनुसार अधिकांश मापदण्ड बाहिर रहेको जानकारी दिईन । मापदण्ड अनुसार क र ख श्रेणीका एम्बुलेन्स बाहेक अन्य एम्बुलेन्स सञ्चालन गर्न नपाइने मापदण्ड रहेकोमा जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्स ग श्रेणीको रहेको बताईन ।
कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख जनक बहादुर शाही लगायत सरोकारवालाले एम्बुलेन्स सेवालाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउन नियमन, अनुगमन तथा नीतिगत सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।



प्रतिकया दिनुहोस्