नेपाली उखान नै छ, “भान्सा नै औषधिको घर हो।” यही कुरालाई ध्यानमा राखेर हरेक मानिसले आ-आफ्नो भान्सामा दैनिक प्रयोग हुने खाद्यवस्तुलाई चिनेर नियमित रूपमा खानामा प्रयोग गर्न सकेमा बजारमा प्याकिङका रूपमा तयार पारिएका मिसावटयुक्त भिटामिनहरू प्रयोग गर्न आवश्यक पर्दैन।
हामी सबैको भान्सामा दैनिक प्रयोगमा ल्याइने हरेक खाद्यवस्तु जस्तै– अन्न, फलफूल, तरकारी, पशुजन्य पदार्थहरूलाई घरमै विषादीमुक्त तरिकाबाट उत्पादन गरेर प्रयोग गर्न सक्यौँ र यसको महत्त्व बुझेर सेवन गर्यौँ भने सजिलो तरिकाबाट पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ।
मानव स्वास्थ्यका लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरू चिनेर प्रयोगमा ल्याउन सकियो भने पोषक तत्व र भिटामिन खोज्न बाहिर जानु पर्दैन। विभिन्न नामका भिटामिनहरू हाम्रो शरीरलाई अति आवश्यक पर्ने, थोरै मात्रामा चाहिने तर शरीरका लागि नभई नहुने तत्व अन्तर्गत पर्दछन्।
यति धेरै महत्त्व भएका तत्वहरू पनि हामी आफैँ उत्पादन गर्न सक्ने र आफ्नै भान्सामा प्राप्त गर्न सक्ने भएकाले सम्पूर्ण मानिसले आफ्नै भान्साको प्रयोग गरौँ। घरेलु उत्पादनलाई जोड दिऔँ।
भान्सामा प्रयोग हुने खाद्यवस्तुको महत्त्व बुझेर घरको भान्सालाई नै औषधिको केन्द्र सम्झिएर प्रयोग गरौँ। ताजा, शुद्ध र सफा भान्साको प्रयोग गरौँ। कामको साथमा आराम र व्यायाम गरौँ। तनावमुक्त जीवन बनाऔँ, तब मात्र जीवन स्वस्थ र तन्दुरुस्त बनाउन सकिन्छ।
१. कार्बोहाइड्रेट:
शरीरलाई शक्ति प्रदान गर्दछ। शरीरमा ७० देखि ८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ।
यसको नाप्ने एकाइलाई किलोक्यालोरी भनिन्छ।
एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलोक्यालोरी शक्ति प्राप्त हुन्छ।
२. प्रोटिन:
यसले कोष तथा कोशिकाहरूको वृद्धि विकास गर्दछ।
खिइएका कोष तथा कोशिकाको मर्मत सम्भार गर्दछ।
समष्टिगत रूपमा भन्नुपर्दा शारीरिक वृद्धि तथा विकास गर्दछ।
एक ग्राम प्रोटिन बराबर चार किलोक्यालोरी शक्ति प्राप्त हुन्छ।
३. चिल्लो पदार्थ (फ्याट):
शरीरलाई शक्ति प्रदान गर्दछ।
छालाको हेरचाह गर्दछ। थोरै मात्राले पनि धेरै शक्ति दिन्छ।
भिटामिनहरू (जस्तै: ए, डी, ई, के) लाई शरीरभित्र सञ्चालन र अवशोषण गराउँछ।
एक ग्राम चिल्लो बराबर ९ किलोक्यालोरी शक्ति प्राप्त हुन्छ।
४. भिटामिन:
भिटामिनलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ। यिनीहरू मानव शरीरलाई ज्यादै थोरै मात्रामा चाहिने तर शरीरलाई नभई नहुने खालका हुन्छन्।
भिटामिन ‘ए’: स्वस्थ आँखाका लागि, छालाको हेरचाहका लागि, शारीरिक वृद्धि विकासका लागि र अन्य रोगको आक्रमणबाट बचाउनका लागि।
भिटामिन ‘बी’: कमजोरी र थकान कम गर्न, खानामा रुचि बढाउन, बेरीबेरी रोग हुन नदिन, झाडापखाला र पेलाग्रा हुन नदिन तथा स्मरण शक्ति कायम राख्न।
भिटामिन ‘सी’: गिजासम्बन्धी रोग (स्कर्भी) हुन नदिन, छालाभित्र रगतका कोशिकाहरू फुट्न नदिन, रक्तअल्पता (एनिमिया) कम गर्न, विभिन्न रोगको प्रतिरोध गर्न र लामो समयसम्म निरोगी राख्न।
भिटामिन ‘डी’: शरीरको हाडलाई बलियो बनाउन, रिकेट्स र ओस्टियोमलेसिया जस्ता हाडसम्बन्धी रोगबाट बचाउन तथा क्याल्सियम जस्ता खनिज तत्व सोस्न।
भिटामिन ‘ई’: शरीरभित्रका आवश्यक चिल्लो पदार्थहरूलाई बचाएर राख्न, रातो रक्तकोष निर्माण गर्न, भिटामिन ‘ए’ र क्यारोटिन जस्ता तत्वहरू नष्ट हुन नदिन तथा कोष-कोशिकाहरूको रक्षा गर्न।
भिटामिन ‘के’: शरीरमा चोटपटक लाग्दा अत्यधिक रगत बग्नबाट रोक्न (रगत जमाउन), घाउ-चोटपटक छिटो निको पार्न र हड्डी बलियो बनाउन।
५. खनिज तत्वहरू (Minerals):
क्याल्सियम: हड्डी र दाँत बलियो बनाउन तथा मांसपेशी चलायमान बनाउन।
फलाम (आइरन): शरीरभित्र रगत (हिमोग्लोबिन) बन्न, रक्तअल्पता कम गर्न, शारीरिक वृद्धि विकास गर्न, रुचि बढाउन, विभिन्न रोगबाट बचाउन र शरीर स्वस्थ राख्न।
आयोडिन: शरीर सुस्त हुन नदिन, शरीर फुर्तिलो पारिराख्न, गलगाँड हुनबाट बचाउन तथा मानसिक मन्दता (लाटो-लठेब्रोपना) हुन नदिन।
फ्लोरिन: दाँतलाई स्वस्थ र मजबुत राख्न मद्दत गर्दछ।
६. पानी:
सबै प्रकारका पौष्टिक तत्वलाई शरीरको विभिन्न भागमा पुर्याउन सहयोग गर्दछ।
शरीरको फोहोरमैला (विषाक्त तत्व) बाहिर निकाल्न मद्दत गर्दछ।
शरीरको तापक्रम सन्तुलित (तातोपना कायम) राख्न मद्दत गर्दछ।
लेखक भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी



प्रतिकया दिनुहोस्