दशैँको महत्त्व, खानपान र स्वास्थ्यमा पर्ने प्रभाव

“बिजया दशमी २०८३ को सम्पुर्ण नेपाली आमा बुवा दाजुभाई दिदिबहिनी हरुमा सु-स्वास्थ्य दिर्घायु एबंम उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना” बिजया दशमी (बडा दशैँ) नेपालीहरूको सबैभन्दा ठूलो सांस्कृतिक र महान पर्व हो ।

आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको मुख्य आकर्षण विजयादशमी अर्थात् दशमीको दिन हो। यस दिन नवदुर्गा भवानीको पूजा-आराधना गरी रातो टीका, जमरा र आफुभन्दा ठूला-बडाबाट आशीर्वाद ग्रहण गरिन्छ ।

पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा बिजयादशमी पर्व मनाइन्छ। तर, दशैँ केवल पौराणिक कथा, धर्म वा सांस्कृतिक परम्परामा मात्र सीमित छैन;  यसको सामाजिक, मनोवैज्ञानिक र शारीरिक स्वास्थ्यसँग पनि गहिरो अन्तरसम्बन्ध रहेको छ।

त्यासैले दशैंका बेला गरिएका हरेक क्रियाकलापहरुले साँस्कृतिक महत्वको साथै मानब स्वास्थ्यमा पनि प्रतक्ष्य वा अप्रतक्ष्य संम्बन्ध राखेको हुन्छ ।

बिजया दशमीको पौराणिक तथा सांस्कृतिक महत्त्वः

सत्यको विजय र सकारात्मकता : बिजया दशमीको पौराणिक तथा सांस्कृति क महत्त्वको आधारमा भन्नु पर्दा महिषासुरजस्तो क्रूर दानवको वध गरी दुर्गा भवानीले सृष्टि रक्षा गरेको र श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसीयालीमा बढादशैं मनाइन्छ।

यसले मानिसभित्र रहेका काम, क्रोध, लोभ, मोह, मद र मत्सरजस्ता नकारात्मक वृत्तिहरूलाई र सोचलाई त्यागी सकारात्मक सोच तर्फ लाग्ने प्रेरणा प्राप्त हुन्छ ।

पारिवारिक र सामाजिक सद्भाव : हामी नेपालि हरुका हरेक परिबार बाट रोजगारी, अध्यायन अध्यापन वा अन्य कामको सिलसिलामा घरदेखी टाढा-टाढा पुगेका परिवारका सदस्यहरू दशैँमा घर आई एकै ठाउँमा भेला हुन्छन्।

भेटघाट, सामूहिक खानपिन र ठूला-बडाको आशीर्वादले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदछ। त्यासैले पनि यसको पौराणिक धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ ।

दशैँको परम्परा र स्वास्थ्य संगको अन्तरसम्बन्धः हाम्रा पूर्वजहरूले दशैँमा समावेश गरेका प्रत्येक विधि र परम्परा पछाडि वैज्ञानिक र स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण कारणहरू लुकेको पाइन्छ ।

जमराको औषधीय गुण: घटस्थापनाका दिन छरिने जौंका जमरा शक्ति र समृद्धिको प्रतीक मानिन्छ। आधुनिक विज्ञानका अनुसार जौंको जमरा पोषक तत्वको भण्डार पनि हो।

यसमा क्लोरोफिल, भिटामिन ‘ए’, ‘सी’, ‘ई’, आइरन, क्याल्सियम र एन्टि अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। जमराको रस सेवन गर्नाले पाचन प्रणाली सुधार हुने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने, रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने र शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत पुग्छ।

मौसम परिवर्तन र स्वास्थ्यमा अनुकूलता :  दशैँमा मनसुन सकिएर चिसो (शरद ऋतु) सुरु हुने सङ्क्रमणकालीन समयमा पदर्छ। यस समयमा मौसम परिवर्तनका कारण भाइरल ज्वरो, रुघाखोकी र पाचनसम्बन्धी समस्याहरू देखिन सक्छन्।

दशैँको अवसरमा गरिने घर-आँगनको सरसफाइ, रङरोगन र घाममा बस्ने परम्पराले वातावरण स्वच्छ बनाउनुका साथै शरीरलाई आवश्यक भिटामिन ‘डी’ प्राप्त गर्न मद्दत गर्छ।

मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव: मानसिक तनाव निवारणका लागि दशैँ एउटा उत्कृष्ट माध्यम हो। धेरै समय पछिको परिवारसँगको पुनर्मिलन, शुभकामना आदानप्रदान र रमाइलो वातावरणले मनमा खुसी र उत्साह सञ्चार गर्छ। यसले एक्लोपना, चिन्ता  र तनाव कम गरी मानसिक स्वास्थ्यलाई बलियो बनाउन मद्धत गर्दछ ।

दशैँको बेलाको खानपान र यसले स्वास्थ्यमा पार्ने प्रभावः दशैँ भन्ने बित्तिकै सबैले मीठो-मसिनो खाने, विशेष गरी खसी, बोका, राँगा, कुखुरा आदिको मासु, अण्डा, मिठाई र विभिन्न परिकारहरूको उपभोग बढी हुने गदर्छ।

खानपानले शरीरलाई ऊर्जा र शक्ति दिए पनि अनियन्त्रित र असन्तुलित भोजनले स्वास्थ्यमा गम्भीर असर पार्न सक्दछ। दशैँको खुसीलाई दीर्घकालीन बनाउन र स्वास्थ्यलाई जोखिममा नर्पान केही सामान्य तर महत्त्वपूर्ण नियमहरू अपनाउनु आवश्यक छ ।

सन्तुलित भोजनखाने : थालीमा मासुका परिकारसँगै हरियो सागपात, सलाद, दही महि र फलफूलको मात्रा मिलाएर खाने बानी बसाल्नुपर्छ। यसले हाम्रो शरिरलाई चाहिने सन्तुलित आहारको पुर्ति गर्दछ । सन्तुलित आहारले “हरेकबार खाना चार” भन्ने स्वास्थ्यको महत्वपुर्ण नारालाई सार्थकता दिन्छ ।

पर्याप्त पानी र झोल पदार्थको प्रयोग गर्ने : चाडबाडको समयमा रमझमको ब्यास्थतामा  पानी पिउन बिर्सने गरिन्छ। त्यासैले दिनमा कम्तीमा २ देखि ३ लिटर पानी अनिबार्य पिउने गर्नाले पाचन प्रक्रिया सही रहन्छ।

शारीरिक सक्रियता : दशैँमा धेरैजसो समय बसेर वा गफलगाएर बिताउने चलन हुन्छ। बिहानको समयमा कम्तीमा ३० मिनेट अनिबार्य हिँड्ने, योग वा व्यायाम गर्ने गर्नाले खाएको खाना पच्न मद्दत पुग्दछ । र शरिर स्वस्थ रहन मद्दत गर्दछ ।

दीर्घरोगीहरूले विशेष सावधानी अपनाउने : मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र मुटुरोगीहरूले खानपानमा कडाइका साथ परहेज गर्नुपर्छ। चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नुपर्छ।

बिजया दशमी केवल धार्मिक र सांस्कृतिक चाड मात्र नभई धार्मीक आस्था साँस्कृतिक परम्परा सामाजिक एकता, पारिवारिक आत्मीयता र शारीरिक-मानसिक पुनर्जागरणको पर्व पनि हो।

कुनैपनि चाडबाडको उत्साहमा स्वास्थ्यलाई ओझेलमा पर्न दिनु हुँदैन। खान पानमा संयमता, शारीरिक सक्रियता स्वस्थ जिवनशैली र सकारात्मक सोचका साथ मनाइएको दशैँले नै वास्तविक अर्थमा जीवनमा सुख, शान्ति र समृद्धि ल्याउँछ । त्यासैले पर्बलाई भड्किलो नबनाऔ’ आफ्नो क्षमता हेरेर पर्ब मनाऔ ।

“घाँटी हेरेर हाडनिलौ ” भन्ने उखानलाई ब्याबहारमा प्रयोग गरौं । तब मात्र हाम्रो स्वास्थ्य स्वस्थ र मजबुत बन्न सक्दछ ।।
भोजराज पोख्रेल
स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

 

सम्बन्धित शिर्षक :