स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकमुखी र जीवनचक्रमा आधारित स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने घोषणा गरेको छ। नगर प्रमुख रामकृष्ण खाँण ले नगर सभाको २१औँ अधिवेशनको पहिलो बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘कोखदेखि शोकसम्म तिलोत्तमा सरकार’ अभियानलाई थप प्रभावकारी र व्यापक बनाइने उल्लेख गरिएको छ।
नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै निःशुल्क भिडियो एक्स–रे सेवा उपलब्ध गराउने भएको छ। यस कार्यक्रमबाट मातृ तथा शिशु स्वास्थ्य सेवामा पहुँच बढ्नुका साथै जोखिमयुक्त गर्भावस्थाको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, नगरवासीलाई सस्तो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनलाई निरन्तरता दिँदै आगामी वर्षभित्र ‘तिलोत्तमा सुलभ ल्याब’ सञ्चालनमा ल्याइने भएको छ। यसबाट स्वास्थ्य परीक्षणका लागि निजी प्रयोगशालामा महँगो शुल्क तिर्नुपर्ने बाध्यता कम हुने नगरपालिकाको अपेक्षा छ।
नीति तथा कार्यक्रममा आनन्दबन नगर अस्पताल र बीपी ग्राम आधारभूत अस्पताल लाई गुणस्तरीय ल्याब तथा रेडियोलोजी सेवासहित सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ। ती स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइने पनि जनाइएको छ। यसले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ।
नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमलाई पनि आगामी वर्ष निरन्तरता दिने भएको छ। आकस्मिक अवस्था तथा जटिल बिरामीका लागि आवश्यक रगत सहज रूपमा उपलब्ध गराएर आर्थिक भार कम गर्ने लक्ष्य लिइएको छ।
स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै स्थानीय घाटसम्म निःशुल्क मलामी बस सेवा सञ्चालन गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ। नगरपालिकाले यसलाई नागरिकको दुःखको घडीमा राहत दिने सामाजिक सेवाका रूपमा अघि सारेको जनाएको छ।
नगरपालिकाका अनुसार स्वास्थ्य क्षेत्रमा ल्याइएका यी कार्यक्रमहरूले मातृ तथा शिशु स्वास्थ्य, उपचार सेवा, परीक्षण सुविधा, औषधि पहुँच तथा सामाजिक सेवाको दायरालाई थप फराकिलो बनाउनेछन्। यद्यपि कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट व्यवस्थापन, दक्ष जनशक्ति र सेवा प्रवाहको गुणस्तर कायम राख्नु चुनौतीपूर्ण पक्षका रूपमा रहने देखिन्छ।
तिलोत्तमा नगरपालिकाले आगामी वर्षलाई ‘शिक्षा, स्वास्थ्य र अवसरको वर्ष’ घोषणा गर्दै स्वास्थ्य पूर्वाधार र सेवा विस्तारमार्फत नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।



प्रतिकया दिनुहोस्