स्वास्थ्यसमाचार/चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम कम भइरहेका बेला नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले रगत अभाव हुन नदिन स्वैच्छिक रक्तदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
बुटवल र भैरहवामा दैनिक १०० देखि १२० युनिटसम्म रगत आवश्यक पर्ने गरेको छ। उक्त रगतको व्यवस्थापन विभिन्न संघसंस्थाको सहयोगमा हुँदै आएको छ। तर, ठूला चाडपर्वका समयमा रक्तदान कार्यक्रम कम हुँदा आवश्यक रगतको व्यवस्थापनमा चुनौती थपिन सक्ने देखिएको छ।
दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न जटिल रोगको उपचारका क्रममा बिरामीलाई जुनसुकै बेला रगत आवश्यक पर्न सक्छ। यस्तो अवस्थामा समयमै रगत उपलब्ध गराउन नियमित रक्तदान र पर्याप्त रक्तसञ्चिति आवश्यक हुन्छ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले सामाजिक अगुवा, विभिन्न संघसंस्था, भद्रभलाद्मी तथा सचेत नागरिकलाई नजिकैको रक्तसञ्चार सेवा केन्द्रमा पुगेर स्वैच्छिक रक्तदान गर्न र अरूलाई पनि प्रेरित गर्न विशेष अनुरोध गरेका छन्।
स्वास्थ्योपचारका क्रममा रगतको माग बढ्दै गएको भए पनि चाडपर्वका समयमा नियमित रक्तदान कार्यक्रम कम हुने गरेको शाखाले जनाएको छ। बिरामीको उपचारमा आवश्यक रगतको सहज उपलब्धता सुनिश्चित गर्न समुदायस्तरबाट सहयोग आवश्यक रहेको रेडक्रसको भनाइ छ।
रक्तदानले आपत्कालीन अवस्थामा रहेका बिरामीको उपचारमा सहयोग पुर्याउने भएकाले चाडपर्वका समयमा पनि रक्तदानलाई निरन्तरता दिन शाखाले आग्रह गरेको छ।
रक्तदान गर्न इच्छुक व्यक्तिले बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा ९८५७०४१००४ वा ९८४७०२८६३३ तथा भैरहवास्थित रक्तसञ्चार सेवा इकाईमा ९८६७३२६४५७ वा ९८४७०३९३७३ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित रेडक्रसले सबैलाई स्वैच्छिक रक्तदानमा सहभागी भई मानवीय सेवामा योगदान गर्न अपिल गरेको छ।


प्रतिकया दिनुहोस्