बुटवलमा अत्याधुनिक स्वास्थ्यजन्य फोहर व्यवस्थापन मेसिन सञ्चालनमा

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि करिब २ करोड १५ लाख रुपैयाँ बराबरको अत्याधुनिक मेसिन सञ्चालनमा आएको छ।

ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत उपलब्ध गराइएको उक्त मेसिनको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो।

उद्घाटनमा बोल्दै “बुटवल उपमहानगरपालिकामा अत्याधुनिक स्वास्थ्यजन्य फोहर व्यवस्थापन मेसिन सञ्चालनमा आउनु मानव स्वास्थ्य, वातावरण संरक्षण र व्यवस्थित फोहर व्यवस्थापनका लागि महत्वपूर्ण उपलब्धि हो। अब सबै स्वास्थ्य संस्थासँग समन्वय गरेर फोहरको वैज्ञानिक व्यवस्थापनलाई नियमित र प्रभावकारी बनाइने वताउनु भयो ।”

उक्त मेसिन लामो समयअघि उपलब्ध भए पनि विभिन्न कारणले सञ्चालनमा आउन सकेको थिएन। अब सञ्चालनमा आएपछि बुटवल क्षेत्रभित्रका स्वास्थ्य संस्थाबाट निस्कने स्वास्थ्यजन्य फोहरको सुरक्षित र वैज्ञानिक व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली, राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संञ्चार केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नन्दनारायण चौधरी, स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेय ,सेभद चिल्डेनका शुभाष श्रेष्ठले वोल्दै “स्वास्थ्यजन्य फोहरको सुरक्षित र व्यवस्थित व्यवस्थापनले नागरिक स्वास्थ्य र वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्छ। यो मेसिन सञ्चालनमा आउनु बुटवलका लागि महत्वपूर्ण उपलब्धि हो, अब यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको समन्वय आवश्यक छ उहाहरुले भन्नु भयो”

बुटवल उपमहानगरपालिकाभित्र करिब १ हजार स्वास्थ्य संस्था सञ्चालनमा रहेको अनुमान छ। ती संस्थाबाट दैनिक करिब ५ सय २८ ग्रामभन्दा बढी स्वास्थ्यजन्य फोहर निस्कने आकलन गरिएको छ। यस्ता फोहरको उचित व्यवस्थापन नहुँदा मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पर्ने भएकाले अत्याधुनिक मेसिन सञ्चालनलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

उक्त मेसिनले डिस्पोजलमा संकलन गरिएका स्वास्थ्यजन्य फोहरलाई उच्च तापक्रममा जलाएर खरानीमा परिणत गर्नेछ। यसले संक्रमण फैलिन सक्ने जोखिम न्यूनीकरण गर्न र फोहर व्यवस्थापनलाई सुरक्षित, प्रभावकारी तथा वातावरणमैत्री बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका तत्कालीन वरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंहले ढिलै भए पनि मेसिन सञ्चालनमा आउनु मानव स्वास्थ्य र स्वास्थ्यजन्य फोहर व्यवस्थापनका दृष्टिले सकारात्मक कदम भएको बताउनुभयो।

अब उपमहानगरपालिकाले सबै स्वास्थ्य संस्थासँग समन्वय गरी फोहरको वर्गीकरण, संकलन र एकीकृत व्यवस्थापनलाई नियमित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। साथै मेसिनबाट निस्कने खरानी तथा धुलोको पुनःप्रयोग (रिसाइक्लिङ) गरी अन्य सामग्री उत्पादन गर्न सकिने सम्भावनाबारे अध्ययन र योजना बनाउनुपर्ने सुझाव पनि दिइएको छ।

यसले बुटवलमा स्वास्थ्यजन्य फोहरबाट हुने मानव स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख पान्डेले बताउनु भयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :