तिलोत्तमाका ५ जना स्वास्थ्य स्वयंसेविकाको सम्मान सहित बिदाई

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले लामो समयदेखि समुदायस्तरमा स्वास्थ्य सेवा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएका स्वास्थ्य स्वयंसेविकाहरूलाई अनिवार्य अवकाश दिँदै औपचारिक रूपमा बिदाइ गरेको छ। कार्यक्रम नगरपालिका प्रमुख तथा कार्यक्रमका अध्यक्ष राकृष्ण खाँणको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा उपप्रमुख जागेश्वरी देवी चौधरीको आतिथ्यता रहेको थियो। स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै स्वयंसेविकाहरूको योगदानलाई स्वास्थ्य सेवाको आधारस्तम्भका रूपमा स्मरण गर्नुभयो।

नगरपालिकाबाट अवकाश प्राप्त ५ जना स्वास्थ्य स्वयंसेविकालाई जनही ५० हजार रुपैयाँ र जिल्ला स्वास्थ्य कार्यालयबाट २० हजार रुपैयाँ गरी कुल ७० हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मानपूर्वक बिदाइ गरिएको हो।

नगर प्रमुख राकृष्ण खाँणले स्वयंसेविकाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनमा उनीहरूको सेवा–सुविधा विस्तारमा नगर सरकार प्रतिबद्ध रहने बताउनुभयो। उपप्रमुख चौधरीले स्वयंसेविकाहरूको भूमिका समुदाय र स्वास्थ्य संस्थाबीचको महत्वपूर्ण सेतु भएको धारणा राख्नुभयो।

कार्यक्रममा सामाजिक विकास शाखा संयोजक रवी सेन्चुरी, स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामप्रसाद ढकाल, सेमराबजार स्वास्थ्य चौकी प्रमुख कमल पाण्डे लगायतको उपस्थिति रहेको थियो।

तिलोत्तमा नगरपालिकामा हाल १७६ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। वर्षौंदेखि समुदायमा सेवा पुर्‍याउँदै आएका स्वयंसेविकाहरूको बिदाइ कार्यक्रम भावनात्मक वातावरणमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।कार्यक्रमको सञ्चालन लक्ष्मी आर्चाय घिमिरेले गर्नुभएको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :