लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार तथा जटिल रोग उपचारमा आर्थिक सहयोगलाई निरन्तरता दिने नीति अघि सारेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै स्वास्थ्य सेवा पहुँच, गुणस्तर र उपचार सहुलियत विस्तारलाई बजेटको प्रमुख एजेन्डा बनाइएको बताउनुभयो।
प्रदेश सरकारले क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्ने लगायतका जटिल तथा खर्चिलो उपचारमा आर्थिक सहयोगलाई निरन्तरता दिने जनाएको छ। यसबाट विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ। साथै स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, सेवा विस्तार र आवश्यक पूर्वाधार विकासमार्फत नागरिकलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढाउन प्रदेशका अस्पतालहरूमा आवश्यक जनशक्ति, उपकरण तथा प्रविधिको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको मन्त्री कार्कीले बताउनुभयो। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई आधारभूतदेखि विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य पूर्वाधार विस्तार र व्यवस्थापनमा बजेट केन्द्रित गरिने नीति सरकारले लिएको छ।
स्वास्थ्य क्षेत्रमा कुपोषण न्यूनीकरण र मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई पनि विशेष महत्व दिइएको छ। पछिल्ला वर्षहरूमा बढ्दो मानसिक स्वास्थ्य समस्या र बालबालिका तथा महिलामा देखिएको पोषण अभावलाई मध्यनजर गर्दै रोकथाम, सचेतना र उपचारमूलक कार्यक्रम सञ्चालन गरिने भएको छ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘महालेखा परीक्षकको पाँचौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नुभयो भने प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नुभएको थियो ।

प्रतिकया दिनुहोस्