इन्दुलेखा, खत्री नर्सिङ होम र जोनल फार्मेसीमा गर्भपतन सेवाको अनुमति छैन, थप अनुसन्धान जारी: प्रहरी

स्वास्थ्यसमाचार/ बुटवलमा गर्भपतन सेवा अनुमति नलिएका इन्दुलेखा क्लिनिक, खत्री नर्सिङ होम र जोनल फार्मेसीमा औषधि प्रयोग गरी गरिएको उपचारका क्रममा एक गर्भवती महिलाको मृत्यु भएपछि थप अनुसन्धान सुरु गरिएको छ। पाल्पाको बगनासकाली गाउँपालिका–२ की ३१ वर्षीया गीता पाण्डेको गर्भपतन गराउने क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार इन्दुलेखा क्लिनिक औषधि बिक्रीका लागि दर्ता भएको हुन सक्ने भए पनि गर्भपतन सेवा सञ्चालनको अनुमति नभएको पाइएको छ। यस्तो अवस्थामा कसले, कसरी औषधि प्रयोग गर्‍यो र बिरामीलाई त्यहाँ कसले पठायो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

त्यस्तै, खत्री नर्सिङ होममा पनि गर्भपतन सेवा सञ्चालनको अनुमति नभएको पाइएको छ। यद्यपि त्यहाँ स्त्रीरोग विशेषज्ञ (गाइने) चिकित्सकले चेकजाँच गरेको खुलेको छ। जोनल फार्मेसीमा समेत गाइने चिकित्सक संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

मृतक पाण्डेले चैत २७ गते प्रारम्भिक जाँच गराएकी थिइन् र वैशाख ५ गते फलोअपका लागि खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँबाट अन्यत्र जान सल्लाह पाएपछि उनीहरू जोनल फार्मेसी क्लिनिक हुँदै इन्दुलेखा क्लिनिक पुगेका थिए। सोही क्लिनिकमा औषधि प्रयोग गरेपछि उनको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेको थियो।

अवस्था बिग्रिएपछि उनलाई लुम्बिनी सिटी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि आफन्तले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले जोनल हेल्थ क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसी क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई नियन्त्रणमा लिएको छ।

स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले तिनै संस्थाले अनुमति नलिएको बताउनु भयो । उहाले संस्था दर्ता भएपनि गर्भपतको लागी अनुमति लिनु पर्छ यो हाम्रो रेकडमा आएको छैन चौधरीले भन्नु भयो ।

पीडित परिवारले एक क्लिनिकबाट अर्कोमा रिफर गर्दै जिम्मेवारी नलिई असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको लापरबाहीका कारण ज्यान गएको दाबी गरेका छन्। घटनापछि आक्रोशित आफन्तले खत्री नर्सिङ होम र इन्दुलेखा क्लिनिकमा ताला लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :