गर्भपतनका क्रममा युवतीको मृत्यु:डा. डीबी खत्री र डा.सतिस रुपाखेती प्रहरी नियन्त्रणमा

स्वास्थ्यसमाचार/ बुटवलमा गर्भपतन गराउने क्रममा पाल्पाकी गीता पाण्डेको मृत्यु भएपछि दुई जना डाक्टरसहित पाँच जनालाई प्रहरीले प्रहरी नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उपचारमा संलग्न तीन क्लिनिकका सञ्चालक र दुई चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो।

नियन्त्रणमा लिएका मा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री, इन्दुलेखा स्वास्थ्य संस्था प्रा.लि.का सञ्चालक डा. सतिस रुपाखेती, इन्दुलेखा क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती मगर रहेका छन्।

करिब १२ हप्ताकी गर्भवती पाण्डे वैशाख ५ गते श्रीमानसँग बुटवलको इँटाभट्टीस्थित खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँबाट उनलाई जोनल फार्मेसी हुँदै इन्दुलेखा क्लिनिक पठाइएको थियो। सोही क्रममा गर्भपतन गराउँदा उनको मृत्यु भएको जनाइएको छ।

घटनापछि आक्रोशित आफन्तले खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा तालाबन्दी गरेका छन्। दोषीमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले केही समय पूर्व–पश्चिम राजमार्गअन्तर्गत चौराहा क्षेत्रमा सडक अवरुद्ध समेत गरेका थिए।

मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डेलाई सोमबार तथा डा. डीबी खत्री र डा. सतिस रुपाखेतीलाई मंगलबार पक्राउ गरेको जनाएको छ।

हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :