काठमान्डौ/ महिलाहरूमा हुने क्यान्सरमध्ये खतरनाक मानिन्छ डिम्बाशयको क्यान्सर। प्रायः रोगहरूको लक्षण सुरुमै देखिने भए पनि डिम्बाशयको क्यान्सर थाहै नपाई फैलने हुँदा यसलाई अत्यन्त खतरनाक मानिएको हो।
यो क्यान्सरबारे चिकित्सकले पनि सुरुमै थाहा पाउन सक्दैनन्। ‘अरू क्यान्सरजस्तो सुरुमै थाहा पाउन सकिन्न,’ पाटन अस्पतालका अन्कोमेडिकल चिकित्सक डा. अरुण शाहीले भने। यो क्यान्सरको लक्षण पेटको अन्य रोगको लक्षणसँग मिल्दोजुल्दो भएकाले बिरामीले सुरुमा अनुमान पनि गर्न सक्दैनन्।
यस्तो अवस्थामा धेरैजसो डिम्बाशयको क्यान्सर तेस्रो या चौथो चरणमा मात्र पत्ता लाग्छ, जतिबेला रोग छिप्पिएर उपचारको प्रभावकारी हुन नसक्ने अवस्था बनिसकेको हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये डिम्बाशयको क्यान्सर सात प्रतिशत छ। प्रतिवर्ष नेपालमा एक हजारदेखि एक हजार दुई सय जनाको डिम्बाशयमा क्यान्सर देखिन्छ। ग्लोबोक्यानको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष २० देखि २५ हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन् । धेरैजसो बिरामी ढिला गरी उपचारमा पुग्छन्।
ढिलो उपचारमा पुग्दा समस्या
नेपालमा ६० देखि ७० प्रतिशत अन्डाशयको क्यान्सर तेस्रो वा चौथो चरणमा मात्र पहिचान हुने गरेको तथ्यांक छ। प्रसूति गृह अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीका अनुसार पेटको भिडियो एक्सरे गर्ने क्रममै डिम्बाशय क्यान्सर पत्ता लाग्छ। यीमध्येमा धेरैजसो ढिला गरी उपचारमा पुगेका हुन्छन्। ‘यो क्यान्सरमा लक्षण सजिलै थाहा नहुँदा बिरामीहरू ढिला गरी उपचारमा पुग्छन्,’ उनले भने, ‘पाठेघरको मुखको क्यान्सरमा रगत बग्ने कारण सुरुमै थाहा हुन्छ। यो क्यान्सरमा पेट ठुलो भएको हुन्छ तर क्यान्सर हो भनेर वास्तै हुँदैन,’ उनले भने। पेट फुलेको अवस्थामा बेवास्ता गरेपछि ढिला मात्र थाहा हुने निर्देशक अधिकारी बताउँछन्।
पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. शाहीका अनुसार पहिलो चरणमा २० प्रतिशत, तेस्रो र चौथो चरणमा ६० प्रतिशत र चौथो चरणमा १० प्रतिशत मात्र थाहा हुने गर्छ। उपचारमा आएका तेस्रो चरणभित्रका ९० प्रतिशत उपचारपछि निको हुन्छन् भने चौथो चरणका रोगी राम्रो हेरचाह पाएको अवस्थामा थप केही वर्ष मात्र बाँच्छन्।
नेपालमा ढिला उपचारमा आएकै कारण यो क्यान्सर लाग्नेमध्ये ६० प्रतिशतले केही वर्षभित्रै ज्यान गुमाउँछन्। बिरामी उपचारमा ढिला आउनुका पछाडि जनचेतनाको कमी, आर्थिक अभाव, नियमित जाँचको पहुँच कम, लक्षणलाई बेवास्ता, भौगोलिक विकटतालगायत कारण रहेको पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. शाही बताउँछन्।
तल्लो पेटमा दुखाइ
चिकित्सकहरूका अनुसार पाठेघर तथा पेटको तल्लो भाग दुख्नु डिम्बाशयको क्यान्सरको लक्षण हो। पेटको तल्लो भागमा दुखिरहन्छ भने तुरुन्तै अस्पताल गएर जाँच गराइहाल्नुपर्ने सुझाव चिकित्सकहरूले दिने गरेका छन्। यस्तो दुखाइलाई महिलाहरू पाचन प्रणालीको समस्या या महिनावारी गडबडीको दुखाइ मानेर भ्रममा पर्न सक्छन्। यस्तो दुखाइ नियमित छ भने स्वास्थ्य परीक्षण गरिहाल्नुपर्छ।
दिसापिसाबमा अनियमितता
दिसापिसाबको व्यवहारमा परिवर्तन हुन पनि डिम्बाशयको क्यान्सरको संकेत हुन सक्छ। अनियमित दिसा लाग्ने कहिले पखाला, कहिले कब्जियत तथा अनियमित दिसा हुनु डिम्बाशयको क्यान्सरको सुरुको लक्षण हो तर मानिसहरूमा यस्तो समस्या ग्यास्टिक या पेटको रोगका कारणले हुन्छ भन्ने बुझाइ छ।
यो कारणले गर्दा पनि डिम्बाशयको क्यान्सरको निदानमा ढिलाइ हुने गरेको छ। घरीघरी पिसाब लाग्नु या पिसाब थैलीमा हुने दबाब पनि डिम्बाशयको क्यान्सरको लक्षण हुन सक्छ। ट्युमरको दबाब परे यस्तो हुन सक्छ। बिस्तारै नजिकैका अन्य अंगमा पनि दबाब पर्न सक्छ। यस्तो बेलामा तुरुन्तै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ।
पाचन प्रक्रियामा समस्या
डिम्बाशयको क्यान्सरको सुरुको लक्षणमा पाचन प्रणालीमा समस्या देखिनु हो। पेट जतिबेला पनि अघाएजस्तो अनुभव हुनु, केही कारण पेट भरिएजस्तो भइरहनु, भोक कम लाग्नु यो क्यान्सरका लक्षण हुन्। डिम्बाशयको क्यान्सरको कारण बनेको ट्युमरले ठाउँमा ओगटे वा दबाब परे पनि यस्तो हुन सक्छ।
एक्कासि तौलमा कमी
तौल बढ्नु या घट्नु पनि यो क्यान्सरको लक्षण हुन सक्छ। जस्तो कि तौल बढेको छ भने ट्युमरको कारणले हुन सक्छ। तौल हवात्तै घटेको छ भने क्यान्सर फैलिएर हुुन सक्छ।
निरन्तर थकान महसुस
हरेक समय तपाईंलाई थकाइ लागिरहन्छ? यो पनि डिम्बाशयको क्यान्सरको संकेत हुन सक्छ। शरीरमा लुकेर बसेको डिम्बाशयको क्यान्सरका कारण पनि थकाइ लागिरहेको हुन सक्छ । जुन थकाइ आराम गरे पनि कम नहुन सक्छ।
कस्ता महिला जोखिममा?
डिम्बाशयको क्यान्सर जुनसुकै उमेरका महिलामा हुन्छ तर यसको बढी जोखिम ५० वर्षमाथि उमेर भएका महिलामा हुन्छ। खास गरी महिनावारी बन्द भएपछि डिम्बाशयको जोखिम हुन्छ। यो क्यान्सर वंशाणुगत कारणले पनि हुन्छ। कतिपय महिलाको व्यक्तिगत कारणले पनि हुन्छ। जस्तो कि कसैको सामान्य समय (उमेर) भन्दा पहिल्यै या ढिला गरी महिनावारी बन्द भए र कहिल्यै गर्भवती नभएकी महिलामा पनि डिम्बाशयको क्यान्सरको जोखिम बढी हुन्छ।
समयमै थाहा पाए निको हुन्छ
डिम्बाशयको क्यान्सर थाहा पाउन कुनै पनि विश्वासिलो परीक्षण सबैको पहुँचमा छैन। डिम्बाशय पेटको तल्लो भागमा हुन्छ। यसको पहिचान नियमित परीक्षणबाट मात्र सम्भव छ। यसका लागि सम्भावित लक्षण तीन साताभन्दा बढी छ भने मेडिकल परीक्षणका लागि गइहाल्नुपर्छ। पेटको तल्लो भागको परीक्षण गर्न सकिन्छ।
यसका लागि भिडियो एक्सरे, सोनीग्राफी, रगतमा क्यान्सरको परीक्षण, सिटिसक्यान या एमआरआई, बायोप्सी परीक्षणलगायत छन्। यी लक्षण लगातार दुई साताभन्दा बढी देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरू सुझाउँछन्।नागरिक दैनीकमा पबित्रा सुनारले लेख्नु भएको छ ।

प्रतिकया दिनुहोस्