स्वास्थ्यसमाचार/ सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट गर्न पाउने व्यवस्था गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री दिपक कुमार साहले मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण सेवा विस्तार गर्ने निर्णय गरेका हुन्।
यससँगै स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाका लागि सूचीकरण प्रक्रिया खुला गरिएको छ।मन्त्रालयका अनुसार स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ अनुसार आवश्यक प्रक्रिया अघि बढाइनेछ।
वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ ले कामदारले विदेश जानुअघि सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था गरेको छ।
हाल श्रम मन्त्रालयको मापदण्डअनुसार १९४ स्वास्थ्य संस्थाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण हुँदै आएको छ। नयाँ निर्णयसँगै सेवा पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिकया दिनुहोस्