स्वास्थ्यसमाचार/ महिलामा देखिने पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले एचपिभी (HPV) खोप अभियान सञ्चालन गरेको छ। उपमहानगरभित्रका ७१ वटा विद्यालय र १८ वटा सहरी स्वास्थ्य केन्द्रमार्फत किशोरीहरूलाई लक्षित गरी खोप सेवा प्रदान गरिएको छ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कल्पना भुसालका अनुसार २०८२ माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत २ हजार २५० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। हालसम्म १ हजार ७३२ जना किशोरीलाई खोप लगाइसकिएको उहाँले जानकारी दिनुभयो।
अभियानका क्रममा अपांगता भएका तथा स्वास्थ्य संस्थासम्म पुग्न असमर्थ किशोरीहरूलाई घरदैलोमै पुगेर खोप सेवा प्रदान गरिएको छ। बुटवल–३ गोलपार्क निवासी १४ वर्षीया अपांगता भएकी मेरिना पुनलाई स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर खोप लगाएको हो। शारीरिक अवस्थाका कारण स्वास्थ्य संस्था पुग्न कठिनाइ भएपछि स्वास्थ्य शाखाले घरमै सेवा उपलब्ध गराएको अधिकृत भुसालले बताउनुभयो।
उहाँका अनुसार विद्यालय आउन नसक्ने, अपांगता भएका तथा नियमित सेवाबाट वञ्चित किशोरीहरूलाई समेट्दै घरदैलो खोप सेवा सञ्चालन गरिएको हो। यसले सबै किशोरीलाई समान रूपमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
घरमै आएर खोप सेवा प्रदान गरिएकोमा मेरिनाकी आमा आशा पुनले उपमहानगरपालिका र स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले अपांगता भएका बालबालिकाका लागि यस्ता मानवीय सेवाले ठूलो राहत मिल्ने बताउनुभयो।
उपमहानगरपालिकाले लक्षित सबै किशोरीलाई खोप सेवा सुनिश्चित गर्दै अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने जनाएको छ।

प्रतिकया दिनुहोस्