दाङको घोराहीमा ३सय शय्याको सञ्जीवनी टिचिङ हस्पिटलको सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/ तीन सय श्ययाको सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनमा आएको छ । करिब चार अर्ब रुपैयाँको लगानीमा घोराही–३ बर्गदुवामा स्थापना भएको अस्पतालले बुधवारदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो ।

अस्पतालको उद्घाटन गर्दै सञ्चालक समितिका अध्यक्ष खुमाप्रसाद अर्यालले अब उपचारका लागि दाङसहित राप्तीबासीलाई जिल्लाबाहिर जानु नपर्ने बताए । उपचारका लागि दाङबाट नेपालगन्ज, बुटवलदेखि भारतको लखनउसम्म बिरामी गएको देखेरै आपूmले घोराहीमा अस्पताल सञ्चालन गरेको बताए । अस्पताल सञ्चालन भए पनि बिरामीले स्वास्थ्य सेवासँगै केही वर्षपछि स्वास्थ क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्तिसमेत उत्पादन हुने र यसले दाङको सेवालाई थप सहज बनाउँदै लैजाने बताए ।

अहिले सेवा शुभारम्भ गरे पनि पूर्णरूपमा अस्पताल निर्माणको काम सक्न अझै पाँच÷छ महिना लाग्ने भन्दै अध्यक्ष अर्यालले भने, ‘नागरिकलाई जतिसक्यो चाँडै सेवा प्रदान गर्ने उद्देश्यले तत्काल सेवा दिन सुरु गरेका छौँ । अस्पताल पूर्णरूपमा निर्माण हुन अझै पाँच÷छ महिना लाग्नेछ ।’

अस्पतालको सेवा सञ्चालन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री राजु खनालले तीन सय श्ययाको अस्पताल सञ्चालन भएसँगै दाङलाई स्वास्थ्य सेवामा सहज भएको बताए । स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै जनतालाई सहज रूपमा स्वास्थ्य सेवा पु¥याउन सरकार र निजी क्षोत्रको सहकार्य हुन आवश्यक रहेको बताए ।

सञ्जीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार २०७८ सालदेखि निर्माण सुरु भएको अस्पतालले २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहितको सेवा दिने गरी सञ्चालन भएको छ ।

विशेष प्रकृतिका बिरामीबाहेक अन्य सबै रोगका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन भएको भन्दै प्रमुख कार्यकारी अधिकृत रोकाले विशेषज्ञसहितको सेवा सञ्चालनका लागि अस्पतालमा ३५ जना विशेषज्ञ डाक्टर, २५ देखि ३० जना एमबिबिएस डाक्टर र एक सय ३० जना एचए, नर्स, अनमी, फार्मेसिस्टल गायलगायतको जनशक्ति व्यवस्था गरिएको बताए । अस्पताल सञ्चालनको करिब दुई महिना चैतसम्म ओपिडी भर्ना शुल्क निःशुल्क गरिनुका साथै अस्पतालले प्रत्येक महिनाको शनिवार स्वास्थ्य शिविर गर्ने बताए ।

अस्पताल सञ्चालनको करिब तीन महिनापछि अस्पतालले कार्डियोलोजी, न्यूरोलोजी, युरोलोजीलगायतका सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको प्रमुख कार्यकारी अधिकृत रोकाले बताएका छन् ।

अस्पताल सञ्चालन भएपछि दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यानका बिरामीलाई सहज हुने भएको छ । अस्पतालमा ओपिडीमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन, शिशु तथा बालरोग, मुटु रोग, ग्यास्ट्रोलोजी, इएनटी, डेन्टल, नेत्र रोग तथा फिजियोथेरापी विशेषज्ञ सेवा उपलब्ध हुनेछन् ।

यसैगरी क्रिटिकल केयुरमा आइसियु, सिसियु, एमआइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु, एचडियु र हेमोडायलासिस सेवा रहेका छन् । यसैगरी रेडियोग्राफीतर्फ डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, इसिजी, इको, सिटी–स्क्यान, एमआरआई, इन्टर्भेन्सनल इन्डोस्कोपी, क्लोनस्कोपी सेवा रहेका छन् ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :