बिभिन्न मागसहित लुम्बिनी प्रादेशिक अस्पतालका नर्स आन्दोलनमा

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघको आह्वानमा देशभरका नर्सहरूले समान मागसहित आन्दोलन थालेका छन्। त्यसैअनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरू पनि सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्।

नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिको नेतृत्वमा सुरु गरिएको आन्दोलनअन्तर्गत नर्सहरूले अस्पताल प्राङ्गणमै धर्ना दिएका छन्।

आन्दोलनमा सहभागी नर्सहरूले ‘नर्सिङ पेशाको सम्मान गर’, ‘जोखिम भत्ता लागू गर’, ‘हाम्रो श्रमको मूल्य देऊ’ जस्ता प्लेकार्डसहित अस्पताल प्राङ्गणमा धर्ना दिएका छन्। उनीहरूले तलब वृद्धि, सुरक्षित कार्य वातावरण, पेशागत सम्मान र स्थायी नियुक्तिको माग अघि सारेका छन्।

नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिकी सचिव सीता खनालले माग सम्बोधनका लागि पटक–पटक ज्ञापनपत्र र छलफलको प्रयास गरे पनि सरकार र सम्बन्धित निकायले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिनु परेको वताउनु भयो ।

नेपाल नर्सिङ संघका अनुसार हाल आन्दोलनरत नर्सहरूको प्रमुख मागहरू 

  1. तलब वृद्धि र समान सुविधा — संघीय, प्रादेशिक र स्थानीय तहमा कार्यरत नर्सहरूलाई समान तलब र सुविधा उपलब्ध गराउने।

  2. जोखिम भत्ता — रात्री पालो, महामारी, आकस्मिक सेवा जस्ता उच्च जोखिमपूर्ण कार्यमा संलग्न नर्सहरूलाई जोखिम भत्ता सुनिश्चित गर्ने।

  3. पेशागत सम्मान र मर्यादा — नर्सहरूको पेशागत पहिचान, स्थान, र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्ने।

  4. स्थायीकरण र करार नवीकरण — दीर्घकालीन रूपमा कार्यरत करार नर्सहरूलाई स्थायी गर्ने र करार नवीकरण प्रक्रियालाई पारदर्शी बनाउने।

  5. समान अवसर र पदोन्नति नीति — पदोन्नति, तालिम, र अध्ययन अवसरमा समानता र निष्पक्षता कायम गर्ने।

  6. कानूनी सुरक्षा — कार्यस्थलमा हुने दुर्व्यवहार, दुव्र्यवहार र हिंसाबाट नर्सहरूलाई कानूनी सुरक्षा दिने व्यवस्था गर्ने।

  7. जनशक्ति व्यवस्थापन सुधार — अत्यधिक कार्यभार घटाउने र आवश्यक संख्यामा नर्सको दरबन्दी थप गर्ने।

यी मागहरू समेटिएको १५ बुँदे ज्ञापनपत्र नेपाल नर्सिङ संघले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूलाई बुझाएको छ।

सम्बन्धित शिर्षक :