लुम्बिनीमा आयुर्वेद सेवाको छलाङ : उपचारसँगै जीवनशैली सुधार र रोग रोकथाममा तीव्र विस्तार

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा आयुर्वेद स्वास्थ्य सेवा विस्तारसँगै उपचारमा मात्र नभई स्वस्थ जीवनशैली प्रवर्द्धन र रोगको रोकथाममा समेत जोड दिन थालिएको छ।

प्रदेशभर रहेका ६० आयुर्वेद स्वास्थ्य संस्थामार्फत नागरिकलाई उपचार सेवा दिनुका साथै योग तथा ध्यान, स्वस्थकर खानपान भान्सा सुधार र बाल स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेका छन्।

प्रदेशमा एउटा प्रादेशिक आयुर्वेद चिकित्सालय, दुईवटा आयुर्वेद चिकित्सालय, १० वटा आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय तहअन्तर्गत ४७ वटा आयुर्वेद औषधालय छन्।

यी संस्थामार्फत आयुर्वेद उपचारसँगै समुदायस्तरमा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रदेशको आयुर्वेद सेवासम्बन्धी विवरणमा उल्लेख छ।

आयुर्वेद सेवाको मूल अवधारणा रोग लागेपछि उपचार गर्ने मात्र नभई रोग लाग्न नदिन जीवनशैली सुधार गर्ने भएकाले पछिल्लो समय प्रवर्द्धनात्मक कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’

प्रदेशका आयुर्वेद संस्थाबाट सञ्चालन गरिएको ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ कार्यक्रम समुदायस्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने प्रमुख कार्यक्रममध्ये एक हो।

कार्यक्रममार्फत नागरिकलाई स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि, व्यक्तिगत स्वास्थ्यप्रति सचेतना र दैनिक जीवनशैली सुधारका विषयमा जानकारी दिने गरिएको छ।

समुदायमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने भएकाले यो कार्यक्रम आयुर्वेद सेवालाई उपचार कक्षबाट समुदायसम्म पुर्‍याउने प्रयासका रूपमा लिइएको छ।

यस कार्यक्रमअन्तर्गत पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रमा सबैभन्दा धेरै २ हजार ७०५ जना सेवाग्राहीले सेवा लिएका छन्। अन्य जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबाट पनि ठूलो संख्यामा नागरिकले सेवा लिएका छन्।

स्वस्थ जीवनशैली अपनाउने बानी विकास गर्न सके नसर्ने रोगको जोखिम घटाउन सकिने भएकाले आयुर्वेद सेवामार्फत समुदायमा यससम्बन्धी व्यवहार परिवर्तनमा जोड दिइएको छ।

भान्साबाटै स्वस्थ जीवनशैली

आयुर्वेदतर्फ सञ्चालन गरिएको अर्को कार्यक्रम गृहणीका लागि भान्सा सुधार कार्यक्रम हो। घरमा दैनिक प्रयोग हुने खाद्य सामग्री, खानाको गुणस्तर, पकाउने तरिका र स्वस्थकर खानपानबारे गृहणीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

परिवारको खानपान र स्वास्थ्य व्यवहारमा गृहणीको महत्वपूर्ण भूमिका हुने भएकाले भान्सालाई नै स्वास्थ्य प्रवर्द्धनको आधार बनाउने प्रयास गरिएको छ।

यस कार्यक्रमअन्तर्गत प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा सबैभन्दा बढी ४१३ जना सेवाग्राही सहभागी भएका छन्।

आयुर्वेदले खानपानलाई स्वास्थ्यसँग प्रत्यक्ष जोड्ने भएकाले स्थानीयस्तरमा उपलब्ध खाद्य सामग्रीको उचित प्रयोग, सन्तुलित आहार र स्वस्थकर खाना पकाउने तरिकाबारे जानकारी दिनु कार्यक्रमको महत्वपूर्ण पक्ष हो।

मानसिक स्वास्थ्यका लागि योग र ध्यान

शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिँदै प्रदेशका आयुर्वेद संस्थाले योग तथा ध्यान कार्यक्रम सञ्चालन गरेका छन्।

तनाव व्यवस्थापन, मानसिक शान्ति र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न स्थानमा योग तथा ध्यान शिविर सञ्चालन गरिएको छ। पछिल्लो समय तनाव, चिन्ता र अस्वस्थ जीवनशैली बढिरहेको अवस्थामा योग

तथा ध्यानलाई स्वास्थ्य प्रवर्द्धनको माध्यमका रूपमा अघि बढाइएको हो।
यस कार्यक्रमअन्तर्गत कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रमा सबैभन्दा धेरै १ हजार ६०५ जनाले सेवा लिएका छन्। रोल्पामा ७०० जनाले योग तथा ध्यानसम्बन्धी कार्यक्रममा सहभागिता जनाएका छन्।

आयुर्वेद स्वास्थ्य संस्थामार्फत योग तथा ध्यानलाई समुदायस्तरमा विस्तार गर्दा औषधि उपचारसँगै मानसिक स्वास्थ्य प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्वर्णविन्दुप्राशनमा हजारौँ बालबालिका

लुम्बिनी प्रदेशमा आयुर्वेदतर्फ सञ्चालन भइरहेको अर्को ठूलो कार्यक्रम स्वर्णविन्दुप्राशन हो। बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा ठूलो संख्यामा बालबालिकाले सेवा लिएका छन्।

प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङमा ७२ हजार ८२७ जना बालबालिका ले स्वर्णविन्दुप्राशन सेवा लिएका छन्। राष्ट्रिय आयुर्वेद चिकित्सालय, तुलसीपुरमा ३८ हजार २९८ जना र बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रमा १३ हजार ३६१ जना बालबालि काले सेवा प्राप्त गरेका छन्।

बाल स्वास्थ्यसँग जोडिएको यो कार्यक्रम आयुर्वेद सेवामा समुदायको आकर्षण बढाउने कार्यक्रमका रूपमा पनि देखिएको छ।

६० संस्थामार्फत सेवा

लुम्बिनी प्रदेशमा आयुर्वेद सेवाका लागि रहेका ६० संस्थामध्ये सबैभन्दा माथिल्लो तहमा प्रादेशिक आयुर्वेद चिकित्सालय रहेको छ। त्यसबाहेक बुटवल र तुलसीपुरमा दुई आयुर्वेद चिकित्सालय, विभिन्न जिल्लामा १० आयुर्वेद स्वास्थ्य केन्द्र तथा स्थानीय तहअन्तर्गत ४७ आयुर्वेद औषधालय सञ्चालनमा छन्।

संस्थागत संरचना विस्तार भए पनि यी संस्थाको प्रभावकारिता सेवाको पहुँच, जनशक्ति, औषधि उपलब्धता, उपकरण र समुदायसँगको सम्बन्धमा निर्भर हुन्छ। त्यसैले आयुर्वेदका संस्थालाई केवल उपचार केन्द्रका रूपमा नभई स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने समुदायस्तरीय स्वास्थ्य केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिन्छ।

रोग लागेपछि मात्र होइन, रोग लाग्नै नदिने प्रयास

लुम्बिनीमा आयुर्वेद स्वास्थ्य सेवाका कार्यक्रम हेर्दा उपचारभन्दा बाहिर गएर जीवनशैली सुधार, खानपान, योग, ध्यान र बाल स्वास्थ्यमा समेत जोड दिइएको देखिन्छ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’देखि भान्सा सुधार, योग तथा ध्यान र स्वर्णविन्दुप्राशनसम्मका कार्यक्रमले आयुर्वेदलाई उपचारको विकल्प मात्र नभई स्वास्थ्य प्रवर्द्धनको माध्यमका रूपमा स्थापित गर्ने प्रयास गरेका छन्।

प्रदेशका सबै स्थानीय तहमा रहेका नागरिकसम्म यस्ता कार्यक्रमको पहुँच विस्तार गर्न सकेमा आयुर्वेद सेवा समुदायसँग अझ नजिक पुग्न सक्नेछ। त्यसका लागि आयुर्वेद स्वास्थ्य संस्थाको क्षमता वृद्धि, आवश्यक जनशक्ति र औषधिको नियमित उपलब्धता तथा स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ।

आयुर्वेद सेवाको प्रभावकारिता उपचार लिने नागरिकको संख्याले मात्र होइन, नागरिकको स्वास्थ्य व्यवहारमा आएको परिवर्तनले पनि मापन गर्नुपर्ने देखिन्छ। त्यसैले आगामी दिनमा आयुर्वेदका कार्यक्रमलाई ‘उपचार’बाट ‘स्वास्थ्य प्रवर्द्धन र रोग रोकथाम’तर्फ अझ केन्द्रित गर्नु प्रदेशको प्राथमिकता बन्नुपर्ने देखिन्छ।

सम्बन्धित शिर्षक :