स्वास्थ्यसमाचार/ विश्व पोलियो दिवसको अवसरमा शनिबार बुटवलमा पोलियो उन्मूलनसम्बन्धी जनचेतनामूलक र्याली निकालिएको छ। रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रिजन ५ को आयोजनामा विभिन्न रोटरी क्लबको सहभागितामा र्याली निकालिएको हो।
बुटवलको रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबाट सुरु भएको र्याली राजमार्ग चौराहा, मिलनचोक, बसपार्क र पुष्पलाल पार्क हुँदै ट्राफिकचोकमा पुगेर सम्पन्न भएको थियो।
र्यालीपछि आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानु पौडेलले पोलियो उन्मूलन अभियानमा रोटरी क्लबले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताइन्। उनले खुला सिमाना पोलियो नियन्त्रणका लागि चुनौती रहेकाले यसको रोकथाममा सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन्।
रुपन्देहीका अगुवा रोटरियन तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले नेपालमा पोलियो भाइरस पुनः प्रवेश गर्न सक्ने सम्भावनालाई समयमै पहिचान गर्न निगरानी प्रणाली बलियो बनाइएको बताए। खुला सिमाना, सीमापार आवतजावत र खोप नलगाएका बालबालिका पोलियोको जोखिमका रूपमा रहेको उनको भनाइ छ।
पोलियोबाट बालबालिकालाई जोगाउन लक्षित समुदायमा जनचेतना विस्तार र खोप कार्यक्रमलाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने आलमले बताए।
र्याली आयोजक संस्थाका बालकृष्ण पाण्डेले पोलियो संक्रमणबाट हुने पक्षघातको पूर्ण उपचार सम्भव नभएकाले रोग लाग्न नदिनु नै प्रभावकारी उपाय भएको बताए। उनले पोलियो उन्मूलनका लागि नियमित खोप र जनचेतना विस्तारमा जोड दिनुपर्ने बताए।
रोटरी इन्टरनेसनलले सन् १९७९ अक्टोबर २४ देखि पोलियो उन्मूलनका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ। सोही दिनलाई प्रत्येक वर्ष विश्व पोलियो दिवसका रूपमा मनाइन्छ।
नेपालमा सन् २०१० यता पक्षघात गराउने पोलियो संक्रमण पुष्टि भएको छैन। विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा नेपाललाई पोलियोमुक्त मुलुकका रूपमा प्रमाणीकरण गरेको थियो।
नेपालले सन् २०२६ अप्रिल २० मा सार्वजनिक गरेको विवरणअनुसार वीरगञ्ज महानगरपालिकामा नयाँ वातावरणीय निगरानी केन्द्र स्थापना गरिएको छ। यससँगै नेपालमा ढलको नमुना परीक्षण गरी पोलियो भाइरसको उपस्थिति निगरानी गर्ने केन्द्रको संख्या १० पुगेको छ।


प्रतिकया दिनुहोस्