स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने भएको छ।
करिब तीन बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।
कृषि, वन तथा वातावरण मन्त्रालयको २०८३ असोज १२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएको हो।
लुम्बिनी क्यान्सर हस्पिटल प्रालिमार्फत निर्माण हुन लागेको अस्पतालमा करिब तीन अर्ब ८२ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। प्रारम्भिक विवरणमा भने आयोजनाको लगानी साढे चार अर्ब रुपैयाँ हाराहारी रहने उल्लेख छ।
अस्पतालका सञ्चालक तथा लगानीकर्ता कमल भण्डारीका अनुसार ईआईए स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढाइनेछ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न गरी इजाजतपत्र प्राप्त गरेको तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
आठ तलाको अस्पताल भवन
अस्पताल १९ हजार ६१६.०४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने प्रस्ताव गरिएको छ। अस्पताल भवनको क्षेत्रफल एक हजार ४५८.८८ वर्गमिटर रहनेछ भने ९०० वर्ग मिटर क्षेत्रफलको बंकर संरचनासमेत निर्माण गरिनेछ।
करिब ३५ मिटर अग्लो भवनमा बेसमेन्ट र भुइँतलासहित आठ तलाको संरचना रहनेछ।
अस्पतालमा प्रयोगशाला, रेडियोलोजी, अल्ट्रासाउन्ड, प्याथोलोजी, शल्यक्रिया, सघन उपचार कक्ष (आईसीयू), बहिरङ्ग सेवा (ओपीडी), २४ घण्टे आकस्मिक सेवा, किमोथेरापी र रेडियोथेरापीलगायत सेवा सञ्चालन गर्ने योजना छ।
बोनम्यारो प्रत्यारोपण तथा क्यान्सरसम्बन्धी अन्य विशिष्टीकृत उपचार सेवा पनि उपलब्ध गराउने प्रस्ताव गरिएको छ।
भवनको बेसमेन्टमा पार्किङ, क्याफे तथा क्यान्टिन, भूमिगत पानी ट्याङ्की, जेनेरेटर कक्ष र वातानुकूलन प्रणाली रहनेछन्। भुइँतलामा आकस्मिक सेवा, रेडियोलोजी, फार्मेसी र २४ शय्या रहने प्रस्ताव छ।
पहिलो तलामा प्रयोगशाला, रक्तसम्बन्धी सेवा, क्यान्सर उपचारको बहिरङ्ग सेवा र ३४ शय्या रहनेछन्।
दोस्रो तलामा शल्यक्रिया कक्ष, शल्यक्रियापछिको उपचार कक्ष, केन्द्रीय उपकरण शुद्धीकरण सेवा र पेट स्क्यान मेसिन रहनेछन्।
चौथो तलामा शल्यचिकित्सा वार्ड, आईसीयू, क्रिटिकल केयर र एचडीयूसहित ५० शय्या प्रस्ताव गरिएको छ।
पाँचौँ तलामा प्रशामक उपचार तथा बाल क्यान्सर उपचार सेवासहित २५ शय्या रहनेछन्।
अन्य तलामा ज्येष्ठ नागरिकका लागि डे केयर सेवा, प्रशासनिक कक्ष, बैठक तथा सम्मेलन कक्ष, योग र ध्यान, उपचार तथा पुनःस्थापना सेवा र खुला छत रहने व्यवस्था गरिएको छ।
अस्पताललाई अपाङ्गतामैत्री र बिरामीमैत्री बनाउने योजना छ। त्यसका लागि सातवटा लिफ्ट, ह्वीलचेयरमैत्री संरचना, अपाङ्गतामैत्री शौचालय र एम्बुलेन्स सेवासमेत प्रस्ताव गरिएको छ।
२८५ जनाले रोजगारी पाउने
अस्पताल सञ्चालनमा आएपछि २२० जना प्राविधिक तथा ६५ जना प्रशासनिक र अन्य अप्राविधिक गरी २८५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
भण्डारीका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका नागरिकलाई गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवामा अस्पताल निर्माण गर्न लागिएको हो।
अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि काठमाडौं, चितवन तथा भारतका विभिन्न सहर जानुपर्ने बिरामीको बाध्यता कम हुने अपेक्षा गरिएको छ।
विशेषगरी नियमित किमोथेरापी, रेडियोथेरापी तथा अन्य उपचारका लागि टाढा जानुपर्ने बिरामी र उनीहरूका परिवारलाई यातायात, बसोबास तथा खानपानमा लाग्ने खर्च घटाउन सहयोग पुग्ने अपेक्षा छ।
रुपन्देहीसँगै कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र दाङका बिरामीले समेत सेवा लिन सक्नेछन्।
भण्डारीकै लगानी समूहले भैरहवामा १५० शय्याको एडभान्स अस्पताल निर्माण गरी सञ्चालनको तयारीसमेत गरिरहेको छ। प्रस्तावित एडभान्स अस्पताल र लुम्बिनी क्यान्सर अस्पतालबीचको दूरी करिब ५०० मिटर रहने जनाइएको छ।
एडभान्स अस्पतालमा क्यान्सर उपचारबाहेक अन्य रोगको उपचार सेवा उपलब्ध गराउने योजना छ।
ईआईए प्रतिवेदन स्वीकृत भएसँगै अस्पताल निर्माणको प्रक्रिया अघि बढ्ने भए पनि निर्माण सुरु हुने निश्चित मिति, सेवा सञ्चालनको विस्तृत समयतालिका सार्वजनिक हुन बाँकी छ।



प्रतिकया दिनुहोस्