स्वास्थ्यसमाचार/चिकित्सा शिक्षा आयोगको बैठकले एमबिबिएस र बिडिएसको सिट संख्या वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको २१ औैं बैठकले आयोगको सिट निर्धारण समितिको सिफारिसअनुसार सिट वृद्धि गर्ने निर्णय गरेको हो।
प्राप्त विवरण अनुसार एमबीबीएसमा सबै कलेजहरुमा गरेर कुल ४९५ सिट थप गर्ने निर्णय भएको छ। योसँगै अब एमबीबीएसको सिट संख्या २ हजार ६ सय ३५ पुगेको छ। यसअघि एमबीबीएसका लागि २ हजार १ सय ४० सिट थियो।
नर्सिङ तर्फ बीएस्सी र बीएनएससहित ५६२ सिट थप भएको छ। बीएस्सी नर्सिङमा ४४० सिट थप गर्ने निर्णय भएको छ। यसअघि बिएस्सी नर्सिङमा १ हजार ९ सय ९० सिट रहेकोमा अब उक्त संख्या बढेर २ हजार ४ सय ३० पुगेको छ।
बिएनएस तर्फ १२२ सिट थप भएको छ। बिएनएसमा यसअघि ९४० सिट थियो भने अब उक्त संख्या बढेर १ हजार ६२ पुगेको छ।यसैगरी, बिपिएचमा ६२ सिट थप भएको छ। बिपिएचमा यसअघि ६५० सिट थियो भने अब उक्त संख्या बढेर ७१२ पुगेको छ।
बिफार्मेसीमा पनि १४० सिट संख्या बढेको छ।यसअघि ६९५ सिट रहेकोमा उक्त संख्या बढेर ८३५ पुगेको छ। यसैगरी आयोगले बीएमएसको सिट संख्या भने घटाउने निर्णय गरेको छ। गत वर्ष एक सय सिट संख्या रहेको उक्त विषयमा ३५ सिट घटाएर अब ६५ सिट मात्र कायम भएको छ।
मापदण्ड पूरा गरेका र पूर्वाधार भएका मेडिकल कलेजले एमबिबिएसतर्फ सिलिङ १३० पुर्याउने निर्णय भएको छ। अहिले मेडिकल कलेजलाई एमबिबिएसतर्फ १०० सिट थियो।साथै बिडिएसतर्फ ५० सिट रहेकोमा सिलिङ ६० पुर्याउने निर्णय भएको स्रोतको भनाइ छ।
प्रतिकया दिनुहोस्