प्रसूति भइरहेको बर्थिङ सेन्टरमा खुँडा बोकेर वितण्डा मच्चाउने युवा पक्राउ

स्वास्थ्यसमाचार/ गत सोमबार राति ११ बजे आठबिसकोट नगरपालिका–१४ स्थित घेत्मा स्वास्थ्य चौकीमा एक महिलाको प्रसूति गराउने कामका लागि स्वास्थ्यकर्मीको टोली तल्लिन थियो । राति नै मदिराले लठ्ठ भएका एक युवा स्वास्थ्य चौकी भित्र होहल्ला गर्दै छिरे ।

हातमा खुँडा (हतियार) थियो, मुखमा तारान्तार अश्लिल र अपशब्द मात्र । हतियार बोकेका उनले स्वास्थ्य चौकीको प्रवेशद्वार फोडेर भित्र पसे । उनले आकस्मिक अवस्थामा प्रयोग गर्न स्वास्थ्य चौकी परिसरमा राखेको गाडीमा तोडफोड गरे, परिसरमा रहेको टेन्ट, कुर्सी लगायतमा हतियार प्रहार गरेर क्षति गरे ।

घटना बारेमा जानकारी दिनुहुँदै स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक देवबहादुर चन्दले भन्नुभयो, ‘रातिको बेला वितण्डा मच्चाएका उनलाई रोक्न खोज्दा स्वास्थ्यकर्मीमाथि नै हातपात गरे, उनले अश्लिल शब्द बोले, गाली बर्षाए ।’ जबरजस्ती प्रसुति कक्षमा प्रवेश गर्न खोज्दा रोक्ने प्रयास गरेका स्वास्थ्य चौकीका महिला कर्मचारीमाथि हातपात गरेका थिए ।

गेट फोडेर हतियार उचाल्दै भित्र पसेको, सरसामानमा क्षति गरेको सबै भिडियोमै देख्न सकिने चन्दले जनाउनुभयो । धारिलो हतियार बोकेका युवा मदिरामा लठ्ठिएर आउँदा अस्पतालको वातावरण नै खल्बलिन पुगेको छ । जनस्वास्थ्य निरीक्षक चन्दले स्वास्थ्यकर्मीसँगै बिरामीहरूले त्रासमा बस्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

स्वास्थ्य चौकीजस्तो संवेदनशील क्षेत्रमा मदिरा सेवन गरेर हतियारसहित वितण्डा मच्चाउने ती युवा अहिले प्रहरीको फन्दामा परेका छन् । उक्त घटनामा संलग्न सोही वडाको ज्यामिरकोट निवासी २४ वर्षीय तिलक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घटनाबारे जानकारी भएपछि मङ्गलबार मल्ललाई पक्राउ गरिएको छ । मल्ललाई घरबाटै नियन्त्रणमा लिइएको हो ।

उनीविरुद्ध ‘आपराधिक उपद्रव’ शीर्षक अन्तर्गत मुद्दा दर्ता गरिएको छ । प्रहरी निरीक्षक पुनले घटना अनुसन्धानका लागि पहिलो पटक पाँच दिनको म्याद थप भएको जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक :