स्वास्थ्यसमाचार/ नेपाल औषधी व्यवसायी संघ रुपन्देहीले सञ्चारकर्मीहरुसँग स्वास्थ्य सञ्चार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा व्यवसायीहरुले खुला सीमाका कारण हुने अवैध औषधीको आयातसँगै दर्ता नभएका औषधी पसल, घुमन्ते र झोलामा औषधी बिक्री गर्ने व्यवसायीहरुका कारण समस्या सिर्जना भएको भएको बताएका छन् ।
साथै एलोपेथिक र आयुर्वेदिक औषधीहरु एउटै पसलबाट बेच्न नपाउने नीतिगत व्यवस्था र औषधिजन्य सामग्रीमा भ्याट लाग्ने तर औषधीमा भ्याट नलाग्ने हुँदा पनि समस्या भइरहेको उनीहरुको भनाइ छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले आम नागरिकको उपचारमा औषधी उत्पादक, डिलर, थोकखुद्रा विक्रेता, चिकित्सक सबैको आआफ्नो भुमिका र महत्व रहेको बताए । स्वास्थ्य कार्यालयले औषधी पसलहरूको नियमित अनुगमनमा सहजिकरण गर्दै आएको बताए । गलत काम गर्ने व्यवसायीहरुलाई कारवाहीका लागि सिफरीस गर्दै आएको बताउँदै उनले जनस्वास्थ्यलाई सुधार गर्नका लागि सहकार्य गर्न तयार रहेको धारणा राखे ।
कार्यक्रममा औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्गबहादुर बस्नेतले औषधि व्यवसायलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए । व्यवसायीहरुले एमआरपी भन्दा बढी मूल्यमा र म्याद नाघेका औषधी बिक्री गर्न नहुने उनले बताए । कार्यक्रममा औषधी व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुरज भट्टराईले पत्रकारहरुले राखेका जिज्ञासाहरूको जवाफ दिँदै उपभोक्ता मैत्री सेवा प्रदान गर्दै आएको बताए ।
औषधी व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक केदार नेपालले कार्यक्रमबारे प्रकाश पार्दै संघले वार्षिक रुपमा गर्दै आएका विभिन्न कार्यक्रमहरूबारे जानकारी गराएका थिए । यस्तै कार्यक्रममा औषधी व्यवसायी संघका पूर्व केन्द्रिय अध्यक्ष तथा रुपन्देहीका विशेष सल्लाहकार बाबुराम भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले आआफ्नो भनाइ राखेका थिए ।
रुपन्देहीमा औषधी व्यवस्था विभागमा दर्ता भएका खुद्रा व्यवसायीहरुको संख्या १ हजार ३४५ रहेको छ । जसमा एलोपेथिक १ हजार ९२, आयुर्वेदिक १०५, होमियोपेथी ३० र भेटेनरी ११८ रहेका छन् भने संघमा सदस्यता लिएका करिब १ हजार १ सय रहेका छन् । गत वैशाख मसान्तसम्म ७८५ वटा नवीकरण भइसकेका छन् ।
यस्तै विभागमा दर्ता भएका थोक औषधी व्यवसायीहरुको संख्या २९८ रहेको छ । जसमा एलोपेथिक २५३, आयुर्वेदिक १८, होमियोपेथी २, युनानी १ र भेटेनरी २४ रहेका छन् भने संघमा सदस्यता लिएका करिब २ सय रहेका छन् । गत वैशाख मसान्तसम्म १६३ नवीकरण भइसकेका छन् ।
संघले गरेको आन्तरिक सर्वेक्षण अनुसार रुपन्देहीमा ५६० वटा औषधी पसल औषधी व्यवस्था विभागमा दर्ता नभएको पाइएको छ । औषधी व्यवसायी संघ रुपन्देहीका महासचिव कृष्ण पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकया दिनुहोस्