स्वास्थ्यसमाचार/ मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो ।
२०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
मंगलबार, प्रदेश सरकारका मन्त्रीहरू, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख, जनप्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएसँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।
घोषणाका क्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाउनु भएपछि उक्त घोषणा पत्र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।
मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्ष अघि देखि सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको छ ।
प्रतिकया दिनुहोस्