सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलमा एचडियु सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/ सिद्धार्थ वाल तथा महिला अस्पताल –आम्दा, बुटवलमा ९ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा औपचारिक रूपमा सुरु गरिएको छ। उक्त सेवा अस्पतालका मेसु डा. बिनोद पराजुलीले उद्घाटन गर्नुभएको हो।

डा.  पराजुलीले अस्पतालमा पिआईसियु र एनआईसियु संचालनमा रहेको भए पनि अस्पतालमा बाल बिरामीहरूको अधिक चापका कारण बेड अभावले गर्दा अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्दा अभिभावकले सकभर यसै अस्पतालमा उपचार गराउन जोड गरेका कारण बिरामीको अस्पतालप्रतिको विश्वासलाई कायम राख्नका लागि एचडियु संचालनमा ल्याएको बताउंदै अब थप बिरामीलाई सेवा प्रदान गर्न सकिने बताउनुभयो ।

विगत २६ वर्षदेखि निरन्तर सेवारत अस्पतालले सस्तो र शुलभ सेवा शुल्क लिने हुँदा आर्थिक अभावका कारण चाहना गरेजति सबै सेवा विस्तार गर्न नसके पनि स्रोतले भ्याएसम्म क्रमशः सेवाको आधुनिकिकरण र विस्तार गर्दै जाने बताउंदै आईसियु इकाई स्थापनाका लागि तयारि भइरहेको र निकट भविष्यमा आईसियु सेवा संचालन हुने समेत जानकारी गराउनुभयो ।

अस्पतालका लागि बिरामीको चाहना र आवश्यकता सर्वोपरी रहेको र सोहि अनुसार बाल रोग विशेषज्ञको उपस्थितिमा २४सै घण्टा आकष्मिक सेवा, बाल मुटुरोग, स्त्री क्यान्सररोग, बाल तथा स्त्री सम्बन्धि सम्पूर्ण शल्यक्रिया, नाक कान घांटी, आँखा, दाँत, नशा तथा हाडजोर्नी लगायतका सेवाहरू प्रदान गरि बालबालिका तथा महिलालाई एकै स्थानबाट सबै सेवा प्रदान गर्ने प्रयास गरिएको र थप सेवाका लागि प्रयास भइरहेको बताउंदै सेवाग्राहीले अस्पतालप्रति दर्शाउनुभएको विश्वास र भरोसालाई सदैव सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अस्पतालका सम्पूर्ण कर्मचारीहरूको सेवाभाव र सहयोगका कारण नै अस्पतालको संचालन र सेवा विस्तार हुन सम्भव भएको जनाउँदै सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, ईकाई प्रमुख, कर्मचारी एवं सेवाग्राहीहरूको उपस्थिति रहेको थियो ।

अस्पतालका मानव संसाधन विभाग प्रमुख देब खनालका अनुसार, यो सेवा हालै तयारी अवस्थामा थियो र बिरामीहरूको उपचार भइरहेको थियो, तर आजबाट यसलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

एचडीयू भनेको हाई डिपेण्डेन्सी युनिट हो।

यो एक प्रकारको चिकित्सा सेवा हो जसमा गम्भीर बिरामीहरूको निगरानी र उपचार विशेष रूपमा गरिन्छ। एचडियु युनिट सामान्य वार्डभन्दा बढी निगरानी र उपचार आवश्यक पर्ने बिरामीहरूको लागि बनाइन्छ।

एचडियुमा बिरामीलाई नर्स र चिकित्सकको टोलीले २४ घण्टा निगरानी राखेर उपचार गर्ने गर्छ, जसले गम्भीर अवस्थाको बिरामीलाई बचाउन र सुधार ल्याउन मद्दत पुर्‍याउँछ।

यसमा साधारण आईसीयू (इंटेन्सिभ केयर युनिट) जस्तै उच्च स्तरको निगरानी र सेवा प्रदान गरिन्छ, तर आईसीयूभन्दा कम गम्भीर अवस्था भएका बिरामीहरूको उपचार गर्न एचडियु उपयुक्त हुन्छ।

सम्बन्धित शिर्षक :