अपांगतालक्षित घरदैलो स्वास्थ्य सेवा दिदै बुटवल उपमहानगर

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन सुरू गरेको छ।

मानवअधिकारमैत्री सहरका रूपमा पाँच वर्षे रणनीतिक योजना बनाएर काम गरिरहेको बुटवल उपमहानगरपालिकाले अपाङ्गता लक्षित घरदैलो स्वास्थ्य सेवा भने पहिलो पटक सुरू गरेको हो।शारिरीक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सामान्य स्वास्थ्य समस्या देखिए पनि अस्पतालसम्म लैजान गाह्रो हुने भएपछि परिवारले उनीहरूको स्वास्थ्यप्रति वेवास्ता गर्ने गर्छन्।

यही समस्यालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र प्राथमिक तहको स्वास्थ्य सेवा एवं औषधि उपलब्ध गराउने भन्दै घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरू गरेको हो।

उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी र मनोपरामर्शदाता सहितको टोलीले घरदैलोमै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्न सुरू गरेको हो।उपमहानगरका १९ वटै वडामा रहेका अपाङ्गता भएकाहरूको लगत संकलन गरी उनीहरूको अवस्थाको विश्लेषण गरेर प्राथमिकताका आधारमा घरदैलो अभियान सुरू गरिएको उपप्रमुख आचार्यले बताइन्।

बुटवलमा विभिन्न १० प्रकारका करिब १ हजार ३ सय ६५ जना अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक संकलन भएको छ। अहिले सुरू गरिएको घरदैलो स्वास्थ्य सेवा भने शारिरीक रूपमा अति अशक्त अवस्थाका क र ख वर्गका अपाङ्गता भएकाहरूलाई उपलब्ध गराइने सामाजिक महाशाखा प्रमुख तुलसा अर्यालले जानकारी दिइन्।

उपमहानगर क्षेत्रमा क र ख वर्गका ३ सय २३ जना अपाङ्गता भएका व्यक्ति रहेको तथ्यांक छ। क र ख वर्गका व्यक्तिहरूलाई सेवा उपलब्ध गराएपछि ग र घ वर्गका लागि पनि सेवा उपलब्ध गराइने अर्यालको भनाइ छ।बुटवलले अपाङ्गता भएकाहरूको अवस्था र रुचिको आधारमा विभिन्न सीपमूलक तालिम समेत उपलब्ध गराउँदै आएको उपप्रमुख आचार्यले जानकारी दिइन्।

नगर अपाङ्गता समन्वय समितिका सदस्य सावित्रा घिमिरेका अनुसार लक्षित वर्गका लागि सहायता सामग्री, उपचार, सीपमूलक तालिम, अभिभावकमा सचेतना तथा छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरिएको छ।त्यस्तै, उपमहानगरभित्र रहेका तीन वटा आश्रमलाई अझ व्यवस्थित बनाउने काम पनि सुरू गरिएको छ।

बुटवलको उजेलापुर, तामनगर र देवीनगरमा रहेका तीन वटा आश्रममा एक सय बढी अपाङ्गता भएका व्यक्तिहरूले आश्रय लिएका छन्।सुस्त मनस्थिति बालविद्या मन्दिरका अध्यक्ष लोकनाथ भुसालले बुटवलले अपाङ्गता लक्षित घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेर नमूना काम गरेको बताए।

बिहीबारदेखि सुरू गरिएको यो अभियानको पहिलो दिन बुटवल १२ नयाँगाउँ भैरहवा टोलका दिदीबहिनी ३६ वर्षीया शीला र २७ वर्षीया सीमा मल्ल, बुटवल १६ मधैयाका १५ वर्षीया कमला पोखरेल तथा बुटवल १६ का दाजुबहिनी ३५ वर्षीय हरि र २८ वर्षीया मिना गौतमको स्वास्थ्य अवस्थाको जाँच गरी आवश्यक औषधी उपलब्ध गराएको सामाजिक महाशाखा प्रमुख अर्यालले जानकारी दिइन्।

घरदैलो अभियानमा जनस्वास्थ्य अधिकृत उमा थापा, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बुटवलका मेडिकल अफिसर आशीर्वाद अर्याल र शिक्षक सकुन्तला न्यौपानेले सहजीकरण गरेका छन्।

सम्बन्धित शिर्षक :