डा. तुल्सी राम भन्डारी
सन् २०१९ को डिसेम्वर अन्त्य तिर चीनको हुवेइ प्रान्तको वुहान शहरमा रुघाखोकीको जस्तै लक्षण र चिन्हहरु देखिने अज्ञात रोग देखियो । बिस्तारै यो रोग चीनको अन्य भागमा पनि फैलियो तर यसको निश्चितकारण निदान हुन सकेन र उपचार गर्दा पनि सफलता नमिले पश्चात चीनले विश्व स्वास्थ्य संगठनलाई सूचित गर्यो ।
उक्त रोग चीन लगायत अन्य मुलुकहरूमा पनि फैलिदै गयो । फेब्रुअरी ११, २०२० मा International Committee on Taxonomy of Viruses (ICTV) ले यस रोगको कारण सार्स कोरोना भाइरस–२ (SARS-COV-2) भएको विधिवत घोषणा ग¥यो । यो नयाँ प्रजातिको भाइरस हो जुन मानवजातिमा पहिलो पटक पहिचान भएको हो । मार्च ११, २०२० मा विश्व स्वास्थ्य संगठनले यसलाई Corona Virus Disease -2019 (COVID-19) नामाकरण गर्नुको साथै विश्वव्यापी महामारी (Pandemic of COVID-19) घोषणा गर्यो ।
यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । संक्रमित व्यक्तिले खोक्दा, हाछ्यु गर्दा र मुखबाट निस्कने छिटाहरूको माध्यमबाट संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्दछ । यस भाइरसले व्यक्तिमा सामान्य रुघाखोकी देखि गम्भीर प्रकृतिका श्वासप्रश्वास समस्याहरु गराउन सक्छ तथापि यस भाइरसबाट संक्रमित व्यक्तिहरू मध्ये करिव ८०%मा प्राय लक्षणहरू देखिदैन, १५% मा सामान्य रोघखोकीका लक्षणहरू देखिन्छन भने ५% मा कडा लक्षणहरु देखिने र ३-५% संक्रमित व्यक्तिहरूको मृत्यु भएको देखिन्छ ।
COVID-19 संक्रमणका प्रमुख लक्षणहरूमा– १००.४ डिग्री फरेनहाइट वा सो भन्दा उच्च ज्वरो आउनु, लगातार हाछयु, सुख्खा खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, थकाई लाग्नु, जिउ दुख्नु , मुटुको धड्कन वृद्धि हुनु, झाडापखाला तथा वान्ता हुने आदि लक्षणहरू देखिन्छन । रोगको जटिलता बढ्दै जाँदा कडा दुख्ने, निमोनिया हुने, खकारमा रगत देखिने र तीब्र झाडा पखाला हुने जस्ता लक्षणहरू देखिन्छन र रोगीको मृत्यु हुने सम्भावना पनि हुन्छ ।
कोभिड–१९ संक्रमण अगस्ट १५, २०२० सम्ममा विश्वका २०६ देशहरू र १२ वटा स्वशासित क्षेत्रहरूमा फैलिएको छ । हालसम्म यस रोगबाट विश्वमा २,१३,५८,१०१ मानिसहरू संक्रमित भएका छन् भने ज्यान गुमाउने र निको हुनेहरूको संख्या क्रमश ७,६३,३९० र १४,१५२,०८९ रहेको छ । विश्वको तथ्यांक हेर्दा ९९% संक्रमितहरुमा सामान्य अवस्था पाइएको छ भने एक प्रतिशत संक्रमितहरु जटिल अवस्थाबाट गुज्रिरहेका छन ।
विश्वमा हालसम्म निदान भएका संक्रमितहरु मध्ये ९५% रोगीहरू पूर्ण निको भइ अस्पतालबाट फिर्ता भएका छन भने ५% संक्रमितहरुको मृत्यु भएको छ ।
नेपालमा अगस्ट १४, २०२० सम्म२५,५५१ मानिसहरू संक्रमित भएका छन भने ९९ मृत्यु भएको छ । हालसम्म ६६.८३% (१७,०७७) मानिसहरूले कोरोना संक्रमणबाट विजय प्राप्त गरिसकेका छन । नेपालले हालसम्म ४९४,६१३ मानिसहरूको PCR परीक्षण गरिसकेको छ भने हाल नेपालका विभिन्न क्वारेन्टाईनहरूमा क्रमशः१४,६३८ र ७३७५ मानिसहरू रहेका छन् ।
विश्वमा कोरोनाबाट संक्रमित मध्ये करिव ५% मानिसहरूको मृत्यु भएता पनि नेपालमा ०.३८१% मानिसहरूको मात्र मृत्यु भएको छ । नेपालमा सर्वप्रथम माघ ९, २०७६ मा चीनको वुहान शहरमा अध्ययन गरिरहेको र त्यहाँ कोरोना महामारी देखिए पश्चात नेपाल फर्किएका ३२ वर्षीय युवकमा देखिएको थियो । त्यसपछि करिब तीनमहिनासम्म नेपालमा नयाँ संक्रमण देखिएन तथापि छिमेकी देश भारत, चीन र विश्वका धेरै देशहरूमा संक्रमण फैलिए पछि नेपालले मार्च २३, २०२०(चैत्र ११, २०७६) बाट देशव्यापी बन्दाबन्दी Lockdown गरी अन्तरास्ट्रिय तथा रास्ट्रिय उडानहरू बन्द गर्नुको साथै अन्तरास्ट्रिय सीमानाकाहरू पनि पूर्णरुपमा बन्द गर्यो ।
शुरुका दिनहरूमा नेपालमा गरिएको बन्दाबन्दीले अपार जनसमर्थन पायो । कोरोनाको संक्रमण पनि उल्लेख्य रुपमा नियन्त्रणमा रह्यो तर केही समयको बन्दाबन्दी पश्चात भारतले आफ्नो देशमा बन्दाबन्दी खुकुलो पारी लामो दूरीका रेल तथा बस सेवाहरू खोली रोजगारीको लागि भारत गएका नेपालीहरूलाई नेपालको सीमामा ल्याएर छोड्न थाल्योे ।
एकैपटक ठूलो संख्यामा भारतबाट आएका नेपालीहरू नेपाल प्रवेश गर्न खोज्दा राज्यले सीमाक्षेत्र तथा सम्बन्धित स्थानीय निकायहरूमा स्तरीय क्वारेनटिनहरूको व्यवस्था गर्न सकेन र संक्रमितहरू समुदायसम्म पुग्ने सम्भावना बढी रह्यो । पर्याप्त जनचेतनाका कार्यक्रमहरू लक्षित व्यक्तिहरूसम्म पु¥याउन नसक्दा मानिसहरू स्वत स्फुर्त प्रेरित भएर रोगबाट जोगिन खोज्नु भन्दा पनि सरकारको लागि क्वारेनटिनमा बस्नु पर्ने र कोरोना परीक्षण गर्नु पर्ने अर्थमा बुझे जसको परिणाम नेपालका गाउँ तथा शहर सबैतिर संक्रमण फैलियो ।
नेपालमा बन्दाबन्दीको शुरु तीन महिना २०७६ चैत्र देखि २०७७ जेष्ठसम्म कोरोना संक्रमण नियन्त्रणमा रहेको देखिन्छ तर सरकारले २०७७ अषाढको शुरूदेखि बिभिन्न तरिकामा बन्दाबन्दीलाई खुकुलो पार्दै गयो र श्रावणको पहिलो हप्ताबाट बन्दाबन्दीलाई हटाई आन्तरिक आवतजावतलाई खुकुलो ग¥यो जसको परिणाम श्रावणको दोश्रो हप्तादेखि दिनदिनै समुदाय स्तरमै संक्रमण तीव्र रुपमा बढीरहेको छ । पहिलेको तुलनामा लक्षणहरू सहितका संक्रमितको संख्या वृद्धि हुनुको साथै मृत्युदर पनि तीव्ररुपमा बढी रहेको छ ।
हालआएर सरकारले बढी संक्रमण देखिएका ठाउँहरुमा बन्दाबन्दी गर्ने तथा निषेधाज्ञा जारी गर्ने जस्ता कार्यहरू एक पछि अर्को गर्दै आवत जावतलाई कडा गरिरहेको छ. तर शरुवा रोगहरूको संक्रमण नियन्त्रण गर्न यसरी बिसाएर वा पालैपालो गरिने बन्दाबन्दी वा निषेधाज्ञा जेसुकै भएपनि कम प्रभावकारी हुन्छन ।
कोरोनाको महामारी फैलिएको करिव आठ महिना बित्दै छ ।नेपालमा बन्दाबन्दी लागु गरेको पनि ४ महिना बितिसकेको छ ।
संक्रामक रोग नियन्त्रणको लागि यो लामो समय हो । यस अवधिमा नेपाल सरकारले नीतिगत थुप्रै काम गरेको देखिन्छ । सरकारले नीतिगत निर्णयहरूको कार्यान्वयनका लागि निर्देशिका, आन्तरिक निर्देशिका, कार्यविधि, कार्यविवरण, सुरक्षाविधि, सुरक्षा मापदण्ड, न्यूनतम मापदण्ड, जनस्वास्थ्य मापदण्ड, मार्गदर्शन, प्रोटोकल, संचालनआदेश, आन्तरिक मार्गनिर्देशन, एल्गोरिथ्म, सम्पर्क ट्रेसिंग फारम, हातेपुस्तिका, Standard Operating Procedure (SOP) आदि नाममा दर्जनौं कागजातहरू तयार गरेको देखिन्छ तर यिनीहरूको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । हालै सरकारका जिम्मेवार व्यक्तिहरूले दिएको अभिव्यक्तिहरू सुन्दापनि अहिलेकै अनुपातमा संक्रमण बढ्दै गएमा राज्यले खडा गरेका विद्यमान पूर्वाधारले धान्न नसक्ने स्वीकारोक्ति पाइन्छ ।
सरकार र सरकारका संयन्त्रहरूमा विगतमा यस्ता ठूल्ठुला महामारी व्यवस्थापनको अनुभव कमहुनु, दक्ष जनशक्तिको सीमितता, प्रयोगशाला तथा सुरक्षा सामग्रीको अभाव, पूर्वाधारहरूको अभाव, सरकारका विभिन्न निकायहरू बीचको कमजोर समन्वय जस्ता कारणहरूले गर्दा क्वारेनटिन सेवा, संक्रमितको निदान, कन्ट्याक ट्रेसिंग, आइसोलेसन तथा उपचार सेवा प्रभावकारी र पर्याप्त हुन सकेनन। शुरुका दिनहरूमा देखिएको लक्षण विहीनहरूको ठूलो अनुपातले पनि सरकार रोग निदानको लागि प्रयोगशालाहरूको बिस्तारमा मात्र केन्द्रित भएको देखिन्छ ।
हालसम्म सरकारले ३२ वटा सरकारी र ६ वटा निजी गरी ३८ वटा प्रयोगशालामा कोरोना संक्रमण परीक्षणको व्यवस्था गरेको छ । हालसम्म कोरोना उपचार अस्पताल भनी व्यवस्था गरिएका अस्पतालहरूको स्तरीयतामा पनि विज्ञहरूले असन्तुष्टि जनाइरहेका छ । यहाँ पर्याप्त अनुपातमा ICU वाड रआवश्यक Ventilator हरुको व्यवस्था गरेको पाइँदैन । त्यसैगरी कोरोनाको निदान र उपचारमा प्रयोग हुने मेसिन तथा अन्य औजारहरू प्रयोग गर्न सक्ने गरी जनशक्तिलाई आवश्यक अभिमुखीकरण तालिम दिइएको छैन ।
सरकारले हालसम्म गरेका संक्रमण रोकथाम तथा नियन्त्रण कार्यहरु वाध्यकारी भन्दा पनि जनचेतना अभिवृद्धि गर्ने खालका देखिन्छन जसको परिणाम सरकारले जारी गरेका नियम, निर्देशन, आदेश, सूचना आदिलाई धेरै मानिसहरूले स्वेच्छिक रूपमा ग्रहण गरेको पाइयो । मानिसहरू समूहमा सार्वजनिक स्थलमा भेला हुने, सामूहिक खानपान गर्ने, होटेल रेस्टुरेन्टहरूमा गएर खानपान गर्ने जस्ता कार्यहरूमा अपेक्षित नियन्त्रण भएन। त्यसैगरी सार्वजनिक यातायातामा पनि तोकिएका जनस्वास्थ्यको मापदण्डहरु पूरा गरेको देखिएन।
व्यक्तिहरूले मास्क प्रयोग गर्ने लगायतका सुरक्षा मापदण्डहरू नियमित रूपमा अपनाएको पाइएन ।स्वास्थ्य तथा अन्य सेवाप्रदायकहरूमा मनोमानी बढ्दै गएको छ।गम्भीर अवस्थाका बिरामीहरुले अस्पतालमा खाली रहेका ICU वार्ड र Ventilator पनि नपाएर अस्पताल चाहार्दा चहार्दै बाटोमै ज्यान गुमाईरहेका छन ।
त्यसैले अव सरकारले बिना विलम्व देशमा स्वास्थ्य आपतकालीन स्थिति (Health Emergency) घोषणा गरी देशभरका निजी अस्पताल, नर्सिंग होम, मेडिकल कलेजहरूलाई कोरोना उपचार स्थानको रुपमा विकास गरी भविष्यमा आउन सक्ने अझ प्रतिकूल परिस्थितिको लागि समयमै तयार रहनु पर्दछ ।
कुनै पनि निजी वा गैरसरकारी क्षेत्रले देशमा संकट आएको समय आफ्नो दायित्वबाट भागेर नाफाको व्यापार मात्र गर्न पाइँदैन । त्यसैगरी हामी आमनागरिकहरू पनि अत्यावश्यक काम नपरी घर बाहिर नजाने र जानै परेमा तोकिएका जनस्वास्थ्यका सुरक्षा मापदण्डहरु पूरा गरेर मात्र निस्कने गर्नुपर्दछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले निर्देश गरेका उपायहरूको अनुशरण गरी रोगबाट आफू सुरक्षितहुने र अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।
त्यसैगरी सरकारले पनि यस संक्रमणलाई चुनौतीको रुपमामात्र नलिई अवसरको रुपमा स्वीकारी स्वास्थ्य प्रणालीलाई व्यापक पुनर्संरचना गर्दै अघि बढ्नु अत्यावश्यक देखिन्छ ।
– सह–प्राध्यापक पोखरा विश्वविद्यालय कार्यरत हुनुहुन्छ ।
प्रतिकया दिनुहोस्