लैङ्गिक हिंसा आज पनि नेपाली समाजको गम्भीर सामाजिक समस्या मात्र नभई सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको चुनौती हो। समाज आधुनिकतातर्फ अघि बढिरहेको छ।
शिक्षा र चेतनाको स्तर बढ्दै गएको छ। तर पनि महिला तथा बालबालिकामाथि हुने हिंसा, घरेलु दुर्व्यवहार, यौन शोषण, बालविवाह, दाइजो प्रथा, अनलाइन दुर्व्यवहार र मानसिक यातनाजस्ता समस्या पूर्ण रूपमा अन्त्य हुन सकेका छैनन्।
लैङ्गिक हिंसा भन्नाले कुनै व्यक्तिलाई उसको लिङ्ग वा लैङ्गिक पहिचानका आधारमा गरिने शारीरिक, मानसिक, यौनजन्य तथा आर्थिक दुर्व्यवहारलाई बुझिन्छ। यस्तो हिंसाले व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र अधिकारमा आघात पुर्याउनुका साथै शारीरिक, मानसिक तथा प्रजनन स्वास्थ्यमा गम्भीर असर पार्छ।
नेपालमा पछिल्लो समय महिला तथा बालिकामाथि हुने हिंसाका घटनासँगै सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहार, धम्की, चरित्रहत्या र निजी तस्बिरको दुरुपयोग जस्ता चुनौती पनि बढ्दै गएका छन्।
ग्रामीण क्षेत्रमा सामाजिक डर, आर्थिक निर्भरता, अशिक्षा र परम्परागत सोचका कारण धेरै पीडितले हिंसाविरुद्ध आवाज उठाउन सकिरहेका छैनन्।
कतिपय अवस्थामा हिंसालाई पारिवारिक वा व्यक्तिगत विषय ठानेर लुकाउने प्रवृत्तिले समस्या अझ जटिल बनाएको छ।
नेपाल सरकारले लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कानुनी तथा संस्थागत व्यवस्था गरेको छ। तर कानुन निर्माण मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षको उमेरदेखि नै शारीरिक हिंसा अनुभव गरेका छन् भने ८ प्रतिशतले यौन हिंसा भोगेका छन्।
हिंसा भोगेका महिलामध्ये ५८ प्रतिशतले कसैसँग सहयोग मागेका छैनन् वा आफ्नो अनुभव व्यक्त गरेका छैनन्। यी तथ्याङ्कले नेपाली समाजमा हिंसाका धेरै घटना अझै लुकेर रहेको र पीडितले आवश्यक सहयोग प्राप्त गर्न कठिनाइ भोगिरहेको अवस्था देखाउँछन्।
स्वास्थ्यकर्मीको भूमिका किन महत्त्वपूर्ण छ?
लैङ्गिक हिंसाबाट प्रभावित व्यक्ति शारीरिक चोटपटक, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या, मानसिक तनाव, डर, चिन्ता र निराशाजस्ता समस्या लिएर स्वास्थ्य संस्थामा पुग्न सक्छन्।
यस्तो अवस्थामा स्वास्थ्यकर्मीको जिम्मेवारी उपचारमा मात्र सीमित हुँदैन। उनी हरूले पीडितको अवस्था संवेदनशीलतापूर्वक बुझ्ने, विश्वासको वातावरण निर्माण गर्ने र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने भूमिका निर्वाह गर्नुपर्छ।
स्वास्थ्यकर्मीले हिंसाका सम्भावित संकेत पहिचान गर्न, पीडितको कुरा धैर्यपूर्वक सुन्न, दोषारोपण नगर्न र गोपनीयता कायम राख्न सक्नुपर्छ। आवश्यकताअनुसार चिकित्सकीय परीक्षण तथा उपचार, मनोसामाजिक परामर्श र सुरक्षित सेवाको व्यवस्था गर्नुपर्छ।
त्यसैगरी, पीडितलाई सुरक्षित आश्रय, कानुनी सहायता तथा सम्बन्धित निकायबाट उपलब्ध हुने सेवासम्म पुर्याउन समन्वय गर्नु पनि स्वास्थ्यकर्मीको महत्त्वपूर्ण जिम्मेवारी हो। पीडितलाई आफ्नो इच्छा र निर्णयको सम्मान गर्दै सुरक्षित विकल्पबारे जानकारी दिनुपर्छ।
नेपालमा हिंसाबाट प्रभावित व्यक्तिलाई एकीकृत सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालहरूमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) सञ्चालनमा छन्।
यस्ता केन्द्रलाई थप प्रभावकारी बनाउनु, आवश्यक जनशक्ति र स्रोतसाधन उपलब्ध गराउनु तथा स्वास्थ्यकर्मीलाई नियमित तालिम प्रदान गर्नु आजको आवश्यकता हो।
अबको आवश्यकता
लैङ्गिक हिंसा नियन्त्रणका लागि परिवार, विद्यालय, स्वास्थ्य संस्था, स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक छ। बालबालिकालाई सानैदेखि लैङ्गिक समानता, पारस्परिक सम्मान र स्वस्थ सम्बन्धको शिक्षा दिनुपर्छ।
महिलालाई आर्थिक तथा सामाजिक रूपमा सक्षम बनाउनुका साथै हिंसाविरुद्ध आवाज उठाउन सुरक्षित वातावरण निर्माण गर्नुपर्छ।
स्वास्थ्य संस्थामा हिंसा प्रभावितको पहिचान, गोप्य परामर्श, उपचार र सुरक्षित प्रेषणका लागि स्पष्ट कार्यविधि लागू गर्नुपर्छ। स्वास्थ्यकर्मीलाई हिंसा प्रभावितसँग संवेदनशील व्यवहार गर्ने, गोपनीयता कायम राख्ने र आवश्यक सेवासँग जोड्ने विषयमा नियमित तालिम दिनुपर्छ।
यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन भइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले पनि पीडितको संरक्षण, न्यायको सुनिश्चितता र दण्ड हीनताको अन्त्यलाई प्राथमिकता दिएको छ। अभियानलाई नारामा मात्र सीमित नराखी दैनिक व्यवहार र संस्थागत कार्यप्रणालीमा लागू गर्न आवश्यक छ।
निष्कर्ष
लैङ्गिक हिंसा कुनै व्यक्तिको निजी समस्या मात्र होइन, यो समाजको स्वास्थ्य, समानता र मानव अधिकारसँग जोडिएको विषय हो। हिंसाबाट प्रभावित व्यक्तिलाई दोष दिने होइन, उनीहरूको कुरा सुन्ने, विश्वास गर्ने र सहयोग गर्ने संस्कार विकास गर्न आवश्यक छ।
यस अभियानमा स्वास्थ्यकर्मीको भूमिका उपचारकर्तामा मात्र सीमित हुनु हुँदैन। उनीहरू पीडितका भरोसायोग्य सहयोगी, स्वास्थ्य अधिकारका संरक्षक र सामाजिक परिवर्तनका संवाहक बन्नुपर्छ।
हिंसामुक्त समाज निर्माण सरकारको मात्र जिम्मेवारी होइन, हामी सबैको साझा दायित्व हो। आजैदेखि आफ्नो व्यवहार परिवर्तन गरौँ, हिंसाविरुद्ध आवाज उठाऔँ र प्रत्येक व्यक्तिका लागि सुरक्षित, सम्मानजनक तथा समानतामूलक समाज निर्माणमा योगदान गरौँ।


प्रतिकया दिनुहोस्