नेपालको स्वास्थ्य क्षेत्रमा हामीले मातृ मृत्युदर घटायौँ, शिशु मृत्युदरमा उल्लेख्य सुधार ल्यायौँ र धेरै सङ्क्रामक रोगहरूलाई नियन्त्रणको घेराभित्र पुर्यायौँ। तर आज पनि हाम्रो समाजको अँध्यारो कुनामा एउटा यस्तो ‘मौन महामारी’ भुसको आगोझैँ बलिरहेको छ, जसले दैनिक हजारौँ नागरिकको शारीरिक, मानसिक र प्रजनन स्वास्थ्यलाई भित्रभित्रै खोक्रो बनाइरहेको छ, त्यो हो— लैङ्गिक हिंसा।
विडम्बना के छ भने आजसम्म पनि लैङ्गिक हिंसालाई केवल ‘पारिवारिक कलह’, ‘लोग्नेस्वास्नीको झगडा’ वा ‘कानुनी अपराध’ को संकुचित चश्माबाट मात्र हेर्ने गरिएको छ। हरेक वर्ष नोभेम्बर २५ (महिलाविरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस) देखि डिसेम्बर १० (मानव अधिकार दिवस) सम्म विश्वभर र नेपालमा समेत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ।
तर जनस्वास्थ्यको कसीमा राखेर हेर्ने हो भने यो केवल सामाजिक विकृति मात्र होइन, बरु एक भयावह जनस्वास्थ्य आपतकाल हो। जबसम्म राज्यका नीति निर्माता, स्वास्थ्य प्रणाली र स्वयं स्वास्थ्यकर्मीहरूले लैङ्गिक हिंसालाई प्रत्यक्ष ‘स्वास्थ्य समस्या’ का रूपमा स्वीकार गर्दैनन् र लैङ्गिक हिंसा समाप्त नहुन्जेल अभियानलाई दैनिक रूपमा निरन्तरता दिँदैनन्, तबसम्म ‘स्वस्थ नेपाल’ को नारा कागजमै सीमित रहनेछ।
स्वास्थ्य संस्थाका शैय्यामा लुकेका पीडाहरू
एक स्वास्थ्य शिक्षा अधिकृतको हैसियतले समुदायस्तरका आधारभूत स्वास्थ्य सेवा केन्द्रदेखि प्राथमिक स्वास्थ्य केन्द्र र ठूला अस्पतालसम्मको अवस्थालाई नियाल्दा एउटा तीतो यथार्थ सामुन्ने आउँछ। दैनिक रूपमा स्वास्थ्य संस्थाको बहिरङ्ग (OPD), आकस्मिक कक्ष (Emergency) र अन्तरङ्ग विभागमा आउने कैयौँ बिरामीहरूको रोगको जड कुनै भाइरस वा ब्याक्टेरिया नभएर घरभित्र, कार्यस्थल वा समाजमा भोग्नुपरेको हिंसा हुने गर्दछ।
तर विडम्बना; टाउको दुखेको, पेट पोलेको, निद्रा नलागेको वा शरीरमा नीलडाम लिएर अस्पताल आउने पीडितलाई हामी प्रायः ‘पेनकिलर’ र ‘एन्टासिड’ भिडाएर घर पठाइरहेका छौँ। न त हामीले कहिल्यै सोध्ने हिम्मत गर्यौँ कि “तपाईँको यो चोट र पीडाको पछाडि कसैको क्रूर हात त छैन?” न त सेवाग्राहीले नै “मेरो यो हालतको जिम्मेवार फलानो व्यक्तिले ममाथि गरेको हिंसा हो” भनेर निर्धक्क भन्न सकेका छन्।
लैङ्गिक हिंसाले मानव स्वास्थ्यमा पार्ने बहुआयामिक असरहरू अत्यन्तै भयावह छन्:
शारीरिक रुग्णता र अपाङ्गता: कुटपिट, धारिलो हतियारको प्रहार र एसिड आक्रमणजस्ता जघन्य हिंसाले व्यक्तिलाई जीवनभर अपाङ्ग बनाइरहेको छ। टाउकोमा लाग्ने गम्भीर चोट, आन्तरिक रक्तस्राव र हड्डी भाँचिने समस्याले अकालमा हुने मृत्युलाई बढाइरहेको छ।
यौन तथा प्रजनन स्वास्थ्यमाथि निर्मम प्रहार: वैवाहिक बलात्कार, यौन शोषण, गर्भनिरोधक साधन प्रयोगमा लगाइने बन्देज वा जबरजस्ती गराइने गर्भपतनले महिला तथा किशोरीहरूको प्रजनन अधिकार हनन गरिरहेको छ।
यसका कारण अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन, पाठेघर खस्ने समस्या, फिस्टुला तथा एचआईभी र यौनरोगको सङ्क्रमणको अवस्था जटिल बन्दै गएको छ। गर्भावस्थामा हुने हिंसाले आमा र गर्भस्थ शिशु दुवैको ज्यान जोखिममा पारिरहेको छ, जुन सुरक्षित मातृत्व कार्यक्रमका लागि ठूलो चुनौती हो।
मानसिक स्वास्थ्यको सङ्कट: शारीरिक चोट त समयसँगै निको होला, तर हिंसाले मस्तिष्कमा पारेको ‘ट्रमा’ जीवनभर बल्झिरहन्छ। निरन्तरको मानसिक यातना, चरित्रहत्या र डरका कारण पीडितहरूमा गम्भीर डिप्रेसन, एन्जाइटी, पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD) र निद्रासम्बन्धी समस्या देखिएका छन्। आज समाजमा बढ्दो आत्महत्याको ग्राफलाई सूक्ष्म रूपमा केलाउने हो भने त्यसको पछाडि लैङ्गिक हिंसा र घरेलु दुर्व्यवहार मुख्य कारकका रूपमा उभिएको स्पष्ट देखिन्छ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रदेखि अस्पतालसम्म : स्वास्थ्य प्रणालीको भूमिका र कमजोरी
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ। गाउँ-गाउँमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू नागरिकको घरदैलोका पहिलो सम्पर्क विन्दु हुन्। तर के हाम्रा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू लैङ्गिक हिंसा प्रभावितलाई पहिचान गर्न र प्राथमिक मनोसामाजिक सहयोग दिन सक्षम छन्? यो आजको गम्भीर प्रश्न हो।
धेरैजसो ग्रामीण स्वास्थ्य संस्थामा गोपनीयता कायम राख्न सकिने परामर्श कक्षको अभाव छ। स्वास्थ्यकर्मीहरूमा हिंसा प्रभावितसँग कसरी संवाद गर्ने भन्ने प्राविधिक सीप र संवेदनशीलताको कमी देखिन्छ। जब कुनै पीडित महिला हिम्मत जुटाएर आधारभूत स्वास्थ्य सेवा केन्द्र पुग्छिन्, त्यहाँ उनलाई समानुभूति र सुरक्षित वातावरण दिनुको साटो उल्टै “घरको कुरा घरमै मिलाउनुपर्छ” भन्ने परम्परागत अर्ती दिएर फर्काइन्छ। यो स्वास्थ्य प्रणालीको गम्भीर कमजोरी हो।
यद्यपि, नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला, प्रादेशिक तथा सङ्घीय अस्पतालहरूमा स्थापना गरेको ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ (OCMC) एक सराहनीय र प्रभावकारी कदम हो। यस केन्द्रमार्फत हिंसा प्रभावितलाई एउटै छानामुनि निःशुल्क स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, चिकित्साजन्य कानुनी परीक्षण, सुरक्षा र सुरक्षित आवासगृहमा प्रेषण (Referral) गर्ने व्यवस्था मिलाइएको छ।
तर आधारभूत स्वास्थ्य सेवा केन्द्र र OCMC बीचको प्रेषण प्रणाली अझै पनि कमजोर छ। गाउँको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पुगेको पीडितलाई सहज र सुरक्षित तरिकाले अस्पतालको OCMC सम्म पुर्याउने संयन्त्रलाई बलियो नबनाएसम्म यी केन्द्रहरूको पहुँच सीमित वर्गमा मात्र खुम्चिरहनेछ।
अबको बाटो : स्वास्थ्य शिक्षा र व्यवहार परिवर्तनको अभियान
औषधि र शल्यक्रियाले हिंसाबाट लागेको घाउ मात्र निको पार्न सक्छ, हिंसा गर्ने मानसिकतालाई निको पार्न सक्दैन। हिंसाको जरो उखेल्नका लागि समुदायको चेतनास्तरमा परिवर्तन ल्याउनु अपरिहार्य छ, र त्यसको प्रभावकारी माध्यम भनेको स्वास्थ्य शिक्षा तथा सञ्चारमार्फत सामाजिक तथा व्यवहार परिवर्तन नै हो।
एक स्वास्थ्य शिक्षाकर्मीको दृष्टिकोणबाट अब स्वास्थ्य प्रणाली र सरोकारवालाहरूले देहायका कदम तत्काल चाल्नुपर्छ:
प्रत्येक स्वास्थ्य संस्थामा ‘स्क्रिनिङ’ अनिवार्य गरियोस्: अस्पताल र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आउने शङ्कास्पद चोटपटक, बारम्बार दोहोरिने मानसिक तनाव र प्रजनन स्वास्थ्य समस्या भएका बिरामीहरूमा लैङ्गिक हिंसाको सम्भावनाबारे गोप्य रूपमा जाँच गर्ने प्रोटोकल लागू गरिनुपर्छ।
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि: आधारभूत स्वास्थ्य सेवा केन्द्रका अहेव, अनमीदेखि अस्पतालका विशेषज्ञ चिकित्सकसम्मलाई हिंसा प्रभावितको मनोविज्ञान बुझ्ने, गोपनीयता कायम राख्ने र कानुनी प्रमाण सुरक्षित राख्ने विषयमा दक्ष बनाइनुपर्छ।
समुदायमा स्वास्थ्य शिक्षाको विस्तार: आमा समूह, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHV) र स्थानीय युवा क्लबहरूलाई परिचालन गरी लैङ्गिक हिंसा एक दण्डनीय अपराध र गम्भीर स्वास्थ्य समस्या हो भन्ने सन्देश घर-घरमा पुर्याउनुपर्छ। साथै, निःशुल्क हेल्पलाइन नम्बर ११४५ (राष्ट्रिय महिला आयोग), १११५ (हेलो हेल्थ हटलाइन), १०० (नेपाल प्रहरी) तथा नजिकको OCMC बारे व्यापक प्रचारप्रसार गरिनुपर्छ।
विद्यालय स्वास्थ्य कार्यक्रमको सुदृढीकरण: किशोरकिशोरीहरूलाई विद्यालय तहबाटै प्रजनन स्वास्थ्य अधिकार, शारीरिक स्वायत्तता, लैङ्गिक समानता र स्वस्थ सम्बन्धबारे वैज्ञानिक शिक्षा दिनुपर्छ, ताकि भोलिको पुस्ताले हिंसा सहने र गर्ने दुवै प्रवृत्तिलाई अस्वीकार गरोस्। यसका लागि ‘हेल्थ प्रमोटिङ स्कुल’ को अवधारणालाई प्रभावकारी रूपमा अवलम्बन गरिनुपर्छ।
पुरुष तथा निर्णयकर्ताको संलग्नता: हिंसा न्यूनीकरणको बहस कोठाभित्र वा ठूला गोष्ठीमा मात्र सीमित राखेर पुग्दैन। परिवारका पुरुष सदस्य, सासू-ससुरा र समाजका अगुवाहरूलाई समेत संलग्न गराई लैङ्गिक हिंसालाई गम्भीर सामाजिक समस्याका रूपमा स्वीकार गर्न र व्यवहार बदल्न सक्षम बनाउनुपर्छ।
निष्कर्ष
लैङ्गिक हिंसा कुनै व्यक्तिगत वा पारिवारिक मामिला होइन; यो सिङ्गो समाज र राज्यको स्वास्थ्यमाथि लागेको गम्भीर रोग हो। जबसम्म समाजको आधा हिस्सा ओगटेका महिला, बालबालिका र लैङ्गिक अल्पसङ्ख्यकहरू घर, परिवार, कार्यस्थल वा समाजभित्रै असुरक्षित रहन्छन्, तबसम्म अस्पतालका ठूला भवन र आधुनिक उपकरणले मात्र ‘स्वस्थ नागरिक’ निर्माण गर्न सक्दैनन्।
तसर्थ, अब आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीदेखि अस्पतालका चिकित्सक र नीति निर्माण तहमा बस्ने हरेकले मौनता तोड्नुपर्छ। लैङ्गिक हिंसाविरुद्ध ‘शून्य सहनशीलता’ को नीतिलाई व्यवहारमा उतार्दै प्रत्येक स्वास्थ्य संस्थालाई पीडितको सुरक्षित आश्रयस्थल र न्यायको पहिलो ढोका बनाउनु आजको आवश्यकता हो। यही कदम पूरा भए मात्र लैङ्गिक हिंसाविरुद्धका अभियानहरूले सार्थकता पाउनेछन्।
वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत, स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेश


प्रतिकया दिनुहोस्